समाज

२९औं नेल्टा सम्मेलन सम्पन्न

इकागज |
फागुन १८, २०८१ आइतबार १०:४५ बजे

 ललितपुर- नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेलटा को २९औं अन्तराष्ट्रिय सम्मेलन समापन भएको छ ।

हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा आयोजित तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग, शिक्षक सशक्तीकरण, लेखन तथा पठन सीप सुधार, र शिक्षणमा मानवीय सम्बन्धको सन्तुलन जस्ता विषयमा वृहत छलफल भएको नेल्टा अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीले बताउनुभयो । उहाँले सम्मेलनमा प्रविधी र मानिसबीचको अन्र्तक्रियालाई अंग्रेजी भाषा शिक्षणका निम्ति कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे विशेष छलफल भएको बताउनुभयो ।


उहाँकाअनुसार नेपाल र बाहिरबाट आउनुभएका विज्ञहरूले अनुसन्धानमा आधारित नयाँ कुराहरू प्रस्तुत गरेकाले त्यसलाई शिक्षा नितिमा सुधार हुने किसमिले शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिनेछ । यो सम्मेलनबाट शिक्षक र सहभागी सबै सन्तुष्ट भएकाले आगामी नेल्टा सम्मेलनलाई थप प्रभावकारी एवम् सान्दर्भिक बनाउने प्रा.डा. लक्ष्मण ज्ञवालीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

दिनको पहिलो मुख्य वक्ता नीनाज इचापोरियाले “एआईको युगमा अंग्रेजी भाषाको भविष्य” विषयमा प्रस्तुती दिनुभयो । उहाँले हरेक सिकाइका लक्ष्य निर्धारण गरेर एआईको विवेकशील प्रयोग आवश्यक रहेको बताउनुभयो । एआईको प्रयोग गर्दा पूर्वाग्रह, गलत डेटा, र समावेशीकरणका चुनौतीहरूलाई मध्यनजर गर्नुपर्ने उल्लेख गर्नुभयो ।

दोस्रो मुख्य वक्ता प्रा. डा. तिर्थराज खनियाँले “के एआई अंग्रेजी शिक्षकको विकल्प हुन सक्छ रु” भन्ने विषयमा प्रविधिको विवेकशील प्रयोग आवश्यक रहेको बताउँदै, शिक्षणमा मानवीय दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रविधिको अत्याधिक प्रयोगले विद्यार्थीहरूलाई त्यसमाथि मात्रै निर्भर बनाउने खतरा रहेको बताउनुभयो ।

यूएसका रोजर एफ कोहेन, नेपालबाट चन्द्र कान्त भूसाल, भारतका प्राध्यापकद्वय जुम्बरलाल पटिल तथा टी. कुमारी खरबामोनले अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउन फरक फरक विचारहरु प्रस्तुत गर्नुभयो ।

त्यस्तै अन्य विशेष सत्रहरूमा कनिता रिद्वाना, लशाना नान्दकुमारन, अंखजाया बातसूरी, सह प्राध्यापक मार्कोभा एलेनाले विद्यार्थीहरूको लेखनशैली तथा पठन सीप सुधार्न विभिन्न रणनीति अपनाउनुपर्ने बताउनुभयो । एआईले कक्षाकोठामा सहज बनाएपनि शिक्षकहरूको भूमिका अझै महत्त्वपूर्ण रहने उहाँहरुको धारणा छ ।

यीबाहेक नेल्टा प्रादेशिक गोष्ठीमा सातवटै प्रदेशका मूख्य प्रतिनिधी र शिक्षकहरुले अंग्रजी भाषा शिक्षमा नवीनतम प्रयास, लेखन सीप रूपान्तरण, सामाजिक न्यायका लागि उत्तरदायी शिक्षण पद्धति, शिक्षक सशक्तीकरणलगायतका विषयमा छलफल गर्नुभयो । त्यही दौरान अन्य २३ वटा समकालीन सत्रहरूमा नेपाली तथा विदेशी प्रतिनिधिहरूले अंग्रेजी भाषा शिक्षणका विविध पक्षहरूबारे गहन छलफल गरे ।

२९औँ नेल्टा सम्मेलनमा २२ देशका करिब ८०० जना सहभागीले २०० भन्दा बढी खोजअनुसन्धानमूलक प्रस्तुतिहरु दिएका थिए । नेल्टाले आयोजना गरेको यस विशाल सम्मेलनले शिक्षकहरूलाई नवीन शिक्षण विधि तथा प्रविधिमा जानकार हुन मद्दत गर्ने विश्वास गरिएको छ ।


Author

थप समाचार
x