समाज

प्रविधिमा महिला उपस्थिति बढाउन जोड दिँदै एडब्लुएस वुमन सम्मेलन सम्पन्न

इकागज |
फागुन २६, २०८१ सोमबार १८:२८ बजे

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल, २०२५ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौँ मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिइयो । 

त्यसअवसरमा बोल्ने अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यवसायिक अवसर र समावेशीकरणका विषयमा वृहत छलफल भएको थियो । सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो ।  


सम्मेलनमा एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलाकण्ठाले क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकताका विषयमा चर्चा गरिन् । उनले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइन् । 

नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरु विषयक सत्रमा रुमी सिंहले आफ्नो अनुभव राख्दै यस क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । साथै रुचि पाण्डेले प्रविधिको क्षेत्रमा करिअर निर्माण र स्टार्र्टअपमा सफलताका लागि पीआर र व्यक्तिगत ब्राण्डिङको महत्व र आवश्यकताबारे चर्चा गरिन् । 
सम्मेलनमा क्लाउड युगमा विविधता, समानता र समावेशिता प्रवर्द्धन शीर्षकको समूहगत छलफलका क्रममा प्रविधिको क्षेत्रमा महिलाका लागि अवसरका विषयमा गहन छलफल भएको थियो । 

साथै क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजना समेत गरिएको थियो । बुस्ट प्रडक्टिभिटी एण्ड ह्याप्पीनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरियो । साथै एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरियो । साथै स्केलिङ युअर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा  एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइयो । 
त्यसअवसरमा वक्ताहरु देश दीपक धोबी, आरके दाहाल, देवी भट्टराई, गंगा सुब्बा, सदिक्षा दाहाल, मुना भट्टराई र निखिल केसीले क्लाउड समाधान, प्रविधि शिक्षा र करिअरको विकासबारे चर्चा गरे । विशेष गरी निखिल केसीको एडब्लुएस क्लाउड कप्तान कसरी बन्ने ? विषयक सत्र प्रभावशाली रह्यो ।   

एडब्लुएस क्लाउड प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तित्वलाई मौना निलकन्ठाले सम्मानस्वरूप मायाको चिनो प्रदान गरिन् । साथै उक्त अवसरमा विभिन्न सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेल समेत आयोजना गरिएको थियो । सहभागीहरूले एकापसमा विचार आदानप्रदानका साथै भविष्यमा हुनसक्ने सम्भावित सहकार्यबारे छलफल गरे ।  

सम्मेलनका आयोजक तथा एडब्लुएस वुमन इन टेक नेपालका वर्षा भण्डारीले सम्मेलन प्रविधि शिक्षा र अवसरमा मात्रै केन्द्रित नभइ समावेशी प्रविधि समुदाय निर्माण गर्न महत्वपूर्ण अवसर भएको बताइन् । “प्रविधिमा महिला सहभागिता बढाइ डिजिटल परिवर्तन सबैका लागि समान योगदान पु¥याउन आवश्यक छ”, उनले भनिन् । नेपालमा क्लाउड प्रविधि क्षेत्रमा महिलाको उपस्थितिलाई थप प्रभावकारी र सशक्त बनाउन यसप्रकारका कार्यक्रमहरूले ठोस प्रभाव पार्ने विश्वास गरिएको छ । 

सम्मेलन सम्पन्न गर्नका लागि एडेक्स इन्टरनेसनल, काठमाडौँ मोडल कलेज, एमआईटी, एनएएस–आईटी, आइडिया स्टुडियो नेपाल, एडब्लु युजर ग्रुप नेपाल–मध्यपश्चिम क्षेत्र, एडब्लुएस क्लाउड क्लब नेपाल, डेभअप्स काठमाडौँ र विनेपालको महत्वपूर्ण सहयोग गरेका थिए ।


Author

थप समाचार
x