समाज

जसलाई न साउनले छुन्छ, न मेहेन्दीले

सृजना खड्का |
साउन ४, २०७८ सोमबार १३:८ बजे

काठमाडौँ– साउन महिना लागेसँगै मेहन्दी लगाएका हात र हरिया रङका पहिरनमा चिटिक्क परेर सामाजिक सञ्जाल रंगाउने युवतीको संख्या ह्वात्तै बढेको छ । नभन्दै साउन महिना भन्ने बित्तिकै धेरैको दिमागमा हरियो, पहेँलो रङ आउँछ । मेहेन्दी, चुरा र पोतेमा सजिनुलाई युवतीले फेसन स्टेटमेन्ट बनाएका छन् ।  

अझ धर्मभिरु महिला त शिवजीको महिना भन्दै साउन महिनाभर व्रत पनि बस्छन् । तर, विराटनगरकी प्रिन्सिका खतिवडा यी सबै कुराबाट टाढा छिन् । उनलाई साउनले फिटिक्कै छोएको छैन । न उनले मेहेन्दी लगाएकी छिन् न हरियो–पहेँलो चुरा । तर, आफूले नलगाए पनि लाउनेलाई पनि उनको केही भन्नु छैन । कसैले इच्छाले लगाउँछ भने उनी नलगाऊ भन्दिनन् । तर, आफूलाई भने यस्ता परम्परामा खासै रुचि नभएको बताउँछिन् ।


‘साउन आउने बित्तिकै धेरै साथीहरू मेहेन्दी, हरियो चुरामा सजिन्छन्, मलाई यो सबै गर्न मन पर्दैन,’ उनी भन्छिन्, ‘मेहेन्दी चाहिँ म कहिलेकाहीँ लगाउछु । तर, साउनमै लगाउनु पर्छ भन्ने लाग्दैन ।’ प्रिन्सिकालाई व्रत पनि बस्न मन लाग्दैन । ‘किन हो किन मलाई यस्तो केही कुराले छुँदैन,’ उनी भन्छिन् । 

लमजुङकी अमु घले त भगवानमा विश्वास नै नभएकाले साउनको पछि नलाग्ने बताउँछिन् । उनले साउन मात्र हैन कुनै पनि महिनलाई विशेष मानेर भक्तिभाव देखाउने गरेकी छैनन् ।  ‘मलाई भगवानमा विश्वास नलाग्ने भएकाले म यो केही कुरा मान्दिन,’ उनी भन्छिन् ।  साउन होस् वा हरु कुनै महिना बसिने व्रतलाई उनी आफ्नै तरिकाले अथ्र्याउँछिन् । ‘धेरै माछामासु र खाने कुरा खाँदा पाचन प्रणालीमा समस्या आउँछ भनेर खाली पेट बस्नु आफ्नो ठाउँमा छ,’ उनी भन्छिन्, ‘त्यसले पेटलाई सफा पनि गर्छ । तर, धर्मको नाममा आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर कोही पनि व्रत बस्नु हुँदैन ।’ 

अमुको प्रेसर ‘लो’ छ त्यसैले उनी पनि व्रतबाट परै बस्ने गरेकी छिन् ।  प्रेसर ठीकै हुन्थ्यो भने पनि अमु सायदै व्रत बस्थिन् । ‘एक छाक छोड्यो भने प्रेसर लो भएर ढल्छु त्यसैले म कहिल्यै व्र्रत बस्दिन,’ उनी भन्छिन्, ‘भगवान खुशी हुन्छन्, श्रीमान्को आयु बढ्छ भनेर व्रत बस्नु वाहियात हो ।’

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदै । तस्बिर : रासस

झपा, दमककी एलिसा निरौला पहिले पहिलेको साउनमा हरियो चुरा मेहेन्दी छुटाउँदिनथिन् । घरबाट पर्दैनभन्दा पनि उनी व्रत बस्थिन् । उनका बुबालाई मेहेन्दी चुरा लगाएको मन पर्दैनथ्यो । तैपनि, उनी टेर्दिनथिन् । आँखा छलेर लगाउँथिन् । मेकअप गरेको, मेहेन्दी र चुरा लगाएकै बहानामा बुबाको कुटाइ पनि खान्थिन् ।

‘बुबाले जहिल्यै पुँजिवादले तिमीहरूलाई नोकर बनाइसक्यो भन्नुहुन्थ्यो,’ उनी भन्छिन् , ‘उहाँले के भनेको म बुझ्दििनथेँ ।  केही वर्ष यतादेखि भने उनलाई पनि साउनले छुन छाडेको छ । पुँजिवाद भनेको के हो भन्ने बुझेपछि उनलाई साउन लाग्न छाडेको हो । ‘म व्रतका कथाहरू र साउनका आर्टिकलहरू पढ्न थालेँ,’ उनी भन्छिन्, ‘त्यसमा यो भनेको धर्मको नाममा हुने व्यापार हो भन्ने बुझ्न थालेपछि मैले यस्ता कुरा मान्न छाडेँ ।’ 

काठमाडौँ, कालिमाटी बस्ने रोजी ढकाललाई भने मेहेन्दीले केमिकल रियाक्सन गर्ने भएकाले लगाउन मन लाग्दैन । ‘अहिले त साउनमा मेहेन्दी लगाएको हात टिकटक र फेसबुकमा पोस्ट गरेन भने समाज भित्रै परिँदैन जस्तो भएको छ ,’ उनी भन्छिन्, ‘मलाई यो लगाउनैपर्छ भन्ने चाहिँ लाग्दैन । हामीलाई हाम्रो संस्कारले भन्दा पनि अहिले बजार र सामाजिक सञ्जालले चलाइरहेको छ ।’ बजारले परम्परालाई फेसन बनाइदिएको जस्तो लाग्छ उनलाई । ‘जे कुरापनि फेसनसँग जोडेर बजारले हामीलाई आफूअनुसार चलाइहेको छ,’ उनी भन्छिन् । 

केहीलाई साउनलाई नछोए पनि धेरै भने यसको पछि हुरुक्क छन् । गत वर्षसम्म फेसबुकमा पोखिने यो महिना यो साल भने टिकटकतिर झन् धेरै लोकप्रिय भएको छ । साउने परिधानमा टिकटिक नबनाउने विरलै भेटिन्छिन् ।  


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x