सहरमा साइत हेरेर शल्यक्रिया : थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला
काठमाडौँ – सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए । शीर्षक थियो, ‘दिनमा जन्मिएको बच्चा भाग्यमानी हुन्छ कि रातमा ?’
रोनिशा गर्भवती थिइन् । शीर्षकले तानेपछि उनले भिडियो खोलिन् । ज्योतिषी प्रेम शर्मा भिडियोमा भन्न थाले, ‘शुक्ल पक्षको रातमा र कृष्ण पक्षको दिनमा जन्मिएका बच्चा भाग्यमानी हुन्छन् ।’ शुक्ल पक्षको दिनमा जन्मिएका बच्चामा भने पढाइमा समस्या आउने, अपजस सहनुपर्ने, अंशबण्डामा समस्या आउने उनको फलादेश थियो ।
‘शुक्ल पक्षको रातमा जन्मिएका बच्चा अत्यधिक भाग्यमानी हुन्छ, धन सम्पत्ति सोचेभन्दा धेरै हुन्छ, लोकको प्रिय पात्र हुन्छ’ उनी भन्दै थिए । रोनिशा ज्योतिष शर्माको कुरामा चाख लिँदै गइन् । फलादेशका क्रममा कृष्ण पक्षको दिउँसो जन्मिएको बच्चा सरकारी जागिरे हुने र राजनीतिक क्षेत्रमा सम्भावना बोकेको हुने दाबी गरेपछि भने रोनिशा ज्योतिष प्रेम शर्माको कुरामा लठ्ठ भइन् ।
भिडियोको बाँकी भाग हेरेपछि उनको दिमागमा अरु केही रहेन । रह्यो त खालि, कृष्ण पक्षमा बच्चा पाउने कुरा । रोनिशाले आफ्नो बच्चा त्यही छेको पारेर पाउने मनमनै प्रण गरिन् । यतिबेला उनी डेलभरीको नजिक थिइन् । डाक्टरले भनेको समय आउन लागेको थियो । चिकित्सकले रोनिशालाई प्राकृतिक रुपमै बच्चा जन्माउन सल्लाह दिएका थिए ।
रोनिशा डाक्टरको सल्लाहमा सहमत पनि थिइन् । तर, भिडियो हेरेपछि उनको ‘मुड’ परिवर्तन भइसकेको थियो । उनले आफ्नो बच्चा कृष्ण पक्षको दिउँसो जन्माउने निर्णय गरिसकेकी थिइन् । अन्ततः उनले आफूले फलोअप गरिरहेको सरकारी अस्पतालमा अपरेसनको माग राखिन् । अस्पतालले प्राकृतिक रूपमै बच्चा पाउन सक्ने सम्भावना भएकाले अपरेसन नगर्न सुझायो । अस्पतालले आफ्नो प्रस्तावमा असहमति रोनिशा निजी अस्पतालतिर लागिन् ।
निजी अस्पतालले भने उनको चाहनामा कुनै नाइँनास्ति गरेन । उनले भनेकै समयमा अपरेसन गरिदियो र बच्चा रोनिशाले भने झैं कृष्ण पक्षको दिउँसो नै धर्तीमा आयो । तर, डेलिभरी समयभन्दा पहिलै अपरेसन गरेर निकालेको हुनाले बच्चालाई आईसीयूमा भर्ना गर्नुपर्यो । लामो समयसम्म उनले आफ्नो बच्चा हेर्न पाइनन् । अपरेसनको घाउ पाकेर उनी आफैले पनि निकै कष्ट बेहोर्नुपर्यो । मुस्किलले आमा छोरा सकुशल घर फर्किए ।
०००
१० वर्षको लामो प्रतीक्षापछि प्रशंसा गर्भवती भएको पाँच महिना भयो । यसबीच उनका श्रीमान्ले बच्चाका लागि कुनै भाकल गर्न छाडेनन् । मठ, मन्दिर, दान दक्षिणा केही बाँकी राखेनन् । ज्योतिष देखाउने, चिना हेराउने पनि गरे । तर, काठमाडौँको एक निःसन्तान केन्द्र गएर उपचार गरेपछि बल्ल बच्चा बस्यो । तर, यो दम्पतीलाई अस्पतालको उपचारले नभई ज्योतिषको भविष्यवाणीले बच्चा भएको विश्वास छ । ‘केही वर्ष पहिला एउटा ज्योतिषीले बिहे गरेको १० वर्षमा बच्चा हुन्छ भन्नुभएको थियो,’ प्रशंसाले भनिन् ।
गर्भवती भएपछि बच्चाको भविष्यबारे चासो देखाउँदै उनीहरू तीनै ज्योतिषी खोज्दै गए । ज्योतिषीले उनीहरूलाई बच्चा दोष लिएर जन्मिने बताएका छन् । दोष काट्नका लागि बच्चा जन्मिने साइत दिएका छन् । तर, साइत डेलिभरी डेटभन्दा अगाडिकै छ ।
कार्तिकमा प्रशंसाको डेलिभरी डेट छ । तर, कालो कार्तिकमा बच्चा जन्माउनु हुँदैन भनेपछि प्रशंसा र उनका श्रीमान्ले असोजमै शल्यक्रिया गरेर जन्माउने सोच बनाएका छन् । ‘कार्तिक कालो महिना हो भन्नुभएको छ,’ प्रशंसाले भनिन्, ‘त्यस्ता बच्चा कमजोर हुन्छ रे ! आरोप प्रत्यारोप खप्नुपर्ने खालका हुन्छन् रे ! यस्तो थाहा पाउँदा पाउँदै कसरी कार्तिकमा बच्चा जन्माउनु ?’
०००
जिनु आफैँ स्वास्थ्यकर्मी हुन् । उनी गर्भवती भएको चार महिना भयो । गर्भवती भएको थाहा भएदेखि नै उनी प्राकृतिक रुपमा बच्चा नजन्माउने भनेर पूर्व तयारी गरेर बसिरहेकी छिन् । ‘प्रेग्नेन्ट हुनेबित्तिकै मैले अपरेसन गरेरै बच्चा पाउँछु भनेर सोचिसकेको थिएँ,’ जिनुले भनिन् । उनले शल्यक्रिया रोज्नुको पछाडि एउटै कारण छ, प्रसव वेदनाबाट मुक्ति पाउनु ।
‘अस्पतालमा अरुको देखेर पनि मलाई कुनै कुनै पनि हालतमा लेबरपेन सहनु छैन,’ उनले भनिन्, ‘नेचुरलभन्दा अपरेसनबाटै पाउन सजिलो हुने जस्तो लागेर अपरेसन गरेरै जन्माउने विचार गरेको हुँ ।’
‘अस्पतालमा अधिकांश साइत हेरेर बच्चा जन्माउन आउँछन्’
विवाह, व्रतबन्ध अथवा कुनै महत्वपूर्ण कार्यको थालनी गर्दा शुभ वा असुभ साइत हेरिन्छ । सोहीअनुसार तिथि, मिति चयन गरिन्छ । तर, बच्चा जन्माउने जस्तो प्राकृतिक कुरामा पनि धेरै महिला र उनका परिवारका सदस्य ज्योतिषीले दिएको साइतअनुसार तिथिमिति बोकेर अस्पताल धाउँछन् ।
नर्भिक इन्टरनेसनल हस्पिटलकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कुमकुम झा कहाँ यसरी साइतको तिथि–मिति बोकेर धेरैजना आउँछन् । यसरी आउनेमा गाउँका भन्दा सहरका दम्पती र अशिक्षितभन्दा शिक्षित बढी आउने उनको अनुभव छ ।
साइत हेरेर बच्चा पाउने विषयमा ज्योतिषी प्रेम शर्माको आफ्नै तर्क छ । उनका अनुसार डाक्टरले दिएको डेलिभरी डेटमा विषाक्त योगको ग्रह छ भने त्यसबाट आएको किरणले बच्चालाई नकारात्मक असर गर्छ । ‘त्यो समय काट्नको लागि राम्रो समय हेरेर शल्यक्रिया गर्ने सल्लाह दिन्छौँ,’ उनी भन्छन्, ‘ग्रहण लाग्दा नेगेटिभ एनर्जी आउँछ । त्यस्तै औँशीको समयमा पनि चन्द्रमाको नेगेटिभ एनर्जी आउँछ । त्यही नेगेटिभ एनर्जी काट्नको लागि शल्यक्रिया गर्ने हो ।’
जन्म, मृत्यु भन्ने कुरा पहिला नै निश्चित हुने भएकाले साइत हेरेर बच्चा पाउँदा त्यसले पूर्ण रुपले भने प्रभाव नपर्ने उनी बताउँछन् । ‘नराम्रो योग परेको व्यक्तिको राम्रो साइत हेरेर बच्चा पाउँदा केही असर गर्छ तर पूरै प्रभाव पार्छ भन्न मिल्दैन,’ उनी भन्छन् ।
जनस्वास्थ्यविद् अरुणा उप्रेती भने साइत हेरेर बच्चा जन्माउने कुरा वाहियात र बेतुकको भएको बताउँछिन् । ज्योतिषी शर्मालाई डा. उप्रेतीको प्रश्न छ, ‘ज्योतिषको कुन ग्रन्थमा साइत हेरेर शल्यक्रिया गरेको बच्चा विद्वान हुन्छ भनेर लेखेको छ ? शल्यक्रिया गरेर जन्मिएको बच्चा विद्वान र भाग्यमानी हुने भए सबै ज्योतिषीका सन्तान प्रख्यात् र विद्वान हुनुपर्ने होइन र ?’
शुभ साइत हेरर जन्मिएका बच्चा पनि बदमास र अपराधी भएर निस्किएको आफूले देखेको हुनाले यस्ता कुराको पछि नलाग्न उनको सल्लाह छ । प्राकृतिक डेलिभरी र शल्यक्रिया गरी डेलिभरी गर्नुमा आकाश–पाताल फरक पर्ने बताउँछिन्, डा. झा । ‘सर्जरी भनेको सर्जरी नै हो,’ उनी भन्छिन्, ‘यसलाई हामी आफैँ शत–प्रतिशत सुरक्षित मान्न सक्दैनौँ । सबै सर्जरी सफल हुन्छ भन्ने पनि हुँदैन ।’
उनका अनुसार, एकपटक सर्जरी गरेर बच्चा निकालिसकेपछि अर्कोपटक बच्चा पाउन गाह्रो हुन्छ । लेबरपेनका लागि औषधि दिन मिल्दैन । त्यस्तै, अरु कुनै रोगको सर्जरी गर्नुपर्यो भने पहिलाको सर्जरीले अप्ठ्यारोमा पार्न सक्छ ।
निजी अस्पतालले कब्जा गरेको महिलाको गर्भ
डा. झा कहाँ प्रसव पीडा खेप्न नपरोस् भनेर अपरेसनको माग गर्दै धेरै महिला आउँछन् । तीमध्ये अधिकांश प्राकृतिक रुपमा नै बच्चा जन्माउन योग्य हुन्छन् । ‘लेबरपेन सहन नपरो्स् भनेर नर्मल डेलिभरी हुने केस पनि अपरेसनका लागि आउँछन्,’ उनी भन्छिन्, ‘नर्मल डेलिभरी गर्दा ग्यारेन्टी चाहियो भन्छन् । हामीले त्यो ग्यारेन्टी दिन सक्दैनौँ । बिरामीले जोखिम लिन नखोजेपछि, कोशिस गर्न नचाहेपछि हामी अपरसेन गरिदिन्छौँ ।’
डा. झाका यी कुरासँग पनि डा. उप्रेती सहमत छैनन् । ‘धेरै डाक्टरहरूले बिरामीले अपरेसन गरिदिनुस् भनेपछि हामी गरिदिन्छौँ भन्छन्,’ उनी भन्छिन्, ‘डाक्टरलाई बिरामीले मलाई क्यान्सर भएको छ, औषधि लेखिदिनुस् भन्यो भने जाँच्दै नजाँची लेखिदिने हो र ?’
बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्नेमा बिरामीको पकेट हेरेर उपचार गर्ने अस्पताल र त्यहाँका डाक्टरप्रति डा. उप्रेतीको विमति छ । ‘यहाँ बिरामी त मुर्ख छन् नै बिरामीसँगै डाक्टर पनि मुर्ख छन्,’ उनी भन्छिन्, ‘यो प्राकृतिक पीडालाई अप्राकृतिक बनाएर पैसा कमाउने बाटो मात्रै हो ।’
मेडिकल एन्थ्रोपोलोजिस्ट डा. सचिन घिमिरे निजी गर्भवती महिलाको नर्मल डेलिभरी गर्ने कि शल्यक्रिया गर्ने त्यसको निर्धारण उसले पार्किङमा पार्क गरको गाडीको ब्रान्ड हेरेर निर्धारण हुने बताउँछन् । ‘शल्यक्रिया गरेबापत् अतिरिक्त पैसा उठाउन पाइन्छ,’ उनी भन्छन्, ‘शरीरमा हुँदै नभएको जोखिम देखाएर बिरामीको विश्वाससँग खेल्ने काम हो शल्यक्रिया ।’
मेडिकल क्यापिटालिजमले महिलाको गर्भसमेत कब्जा गरेको उनी बताउँछन् । ‘मेडिकल टेक्नोलोजी मानिसको जीवन बचाउन गरिन्छ,’ उनी भन्छ्न, ‘तर, यहाँ त पैसा कमाउन प्रयोग हुँदै आइरहेको छ ।’
कस्तो अवस्थामा गरिन्छ शल्यक्रिया ?
प्रसूति विशेषज्ञका अनुसार, प्राकृतिक र अप्राकृतिक रुपमा जन्मिने बच्चामा निकै भिन्नता हुने गर्दछ । प्राकृतिक रुपमा जन्मिएको बच्चामा रोगसगँ लड्ने क्षमता हुन्छ, जुन अपरेसनबाट निकालिएका बच्चामा हुँदैन । सामान्य डेलिभरी हुँदा केही दिनमै हिँड्डुल खानपिन गर्न सकिन्छ । तर, शल्यक्रिया गर्दा त्यस्तो हुँदैन । समयभन्दा अगाडि नै अपरेसन गर्दा बच्चा परिपक्व नभएका कारण आईसीयूमा राखेरसमेत उपचार गर्नुपर्ने हुन सक्छ । त्यस्तै ढिला शल्यक्रिया गर्दा बच्चाको ज्यान पनि जान सक्छ ।
सामान्यतया बच्चाको तौल कम हुँदा, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम हुँदा, बच्चाले पेटभित्रै दिसा गरेमा, गर्भवतीलाई उच्च वा कम रक्तचाप भएमा पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ । महिलाहरूको उचाइ र तौल थोरै भएमा, पाठेघरको मुख सानो भएमा, पहिला गर्भपतन गरेको वा बच्चा खेर गएको अवस्थामा पनि खतरा देखिने भएकाले शल्यक्रिया गरिन्छ । यो आमा र बच्चाको जीवन जोगाउन आवश्यकताअनुसार मात्रै गर्ने गरिन्छ ।
तथ्यांकले के भन्छ ?
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा टेकुको तथ्यांकअनुसार निजी अस्पतालमा आर्थिक वर्ष २०७४/७५ मा ७९ हजार २१९ डेलिभरी भएकामध्ये ३१ हजार ४ सय ९७ जनाले अपरेसन गरेर बच्चा जन्माएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा ७९ हजार ७१० मध्ये ३४ हजार ७ सय ७६७ जनाले अपरेसन गरेर बच्चा जन्माएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ९४ हजार ८५१ डेलिभरीमध्ये ४२ हजार ८३७ अपरेसन गरेर डेलिभरी गरिएको छ ।
सरकारी अस्पतालमा भने यो दरमा केही कमी छ । आर्थिक वर्ष २०७४/७५ मा २ लाख ६९ हजार ४ सय ४१ डेलिभरीमध्ये ३३ हजार २ सय ४९ जनाले अपरेसन गरेर बच्चा जन्माएका छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ लाख २६ हजार २ सय ५५ मध्ये ४१ हजार ६सय५० जनाले अपरेसन गरेर बच्चा जन्माएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ लाख २४ हजार ३३३ डेलिभरीभध्ये ४३ हजार २६६ अपरेसन डेलिभरी गरिएको छ । तथ्यांकले निजीमा ४५ देखि ५० प्रतिशतसम्म अपरेसन भएको देखाउँछ भने सरकारीमा १० देखि १२ प्रतिशत मात्र रहेको छ । काठमाडौँ उपत्यकाका केही अस्प्तालको तथ्यांक हेर्ने हो भने शल्यक्रियाबाट बच्चा जन्माउने दर ९० देखि ९९ प्रतिशसम्म रहेको पाइन्छ ।
महाशाखाका तथ्यांक अधिकृत पुष्कर बिजुक्क्षे सुविधा सम्पन्न अस्पतालमा प्रायःजसो अपरेसनका केसहरू धेरै हुने बताउँछन् । ‘सरकारी अस्पतालको तुलनामा प्रायः निजी अस्पतालमा सामान्य प्रसूतिभन्दा शल्यक्रियाबाट सुत्केरी गराउने प्रचलन बढ्दो भएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्, ‘तिमध्ये धेरै दम्पतीहरूले राम्रो बार र गते हेरर शल्यक्रिया गराउने गरेको पाइएको छ ।’
आर्थिक वर्ष २०७७/७८ को तथ्यांकमा पनि यो दरमा कमी नआउनेमा उनी विश्वस्त देखिए । ‘यो आर्थिक वर्षको पनि तथ्यांक हामी केलाइरहेका छौँ’ उनी भन्छन्, ‘यसमा पनि कमी आउने छाँटकाँट देखिएको छैन । बरु अघिल्ला वर्षहरूमा भन्दा बढ्छ जस्तो देखिन्छ ।’
प्रसूति हिंसाबाट पीडित सहरीया महिला
डा.लक्ष्मी तामाङ
मिडवाइफ्री सोसाइटी अफ नेपाल, अध्यक्ष
अप्राकृतिक जन्म किन धेरै भयो भनेर प्रश्न गर्दा डाक्टर महिलालाई दोष दिन्छन्, महिलाले डाक्टरलाई । यसमा ‘ब्लेम गेम’ अर्थात् आरोप–प्रत्यारोप मात्रै भइरहेको छ । नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार धेरैजसो शिक्षित, सुखी, सम्पन्न र सहरिया महिलाहरूले शल्यक्रिया नै रोज्छन् ।
स्वास्थ्यकर्मी स्वयम्ले प्राकृतिकभन्दा शल्यक्रियाबाट बच्चा जन्माउन चाहेको पाइन्छ । दैनिक ज्याला मजदुर गरेर गुजारा चलाउनुपर्नेले अपरेसन नहोस् भन्ने चाहन्छन् । पहिलो पटक बच्चा पाउने महिलाहरूलाई बढीमा १२ घण्टा व्यथा लाग्छ ।
दोस्रो पटक बढीमा ६ देखि आठ घण्टा लाग्छ । कसैले सुत्केरी व्यथा खप्न नपरोस् भनेर पनि यस्तो गर्छन् । यसमा डाक्टरलाई दोष दिन मिल्दैन । त्यो अस्पतालले चिरफार मात्रै गर्छ भन्ने जान्दाजान्दै किन त्यहाँ जानु ? लाखौँ रुपैंयाँ किन खन्याउनु ? विश्व स्वास्थ्य संघठनले ८५ प्रतिशत महिलाले प्राकृतिक रुपमै बच्चा जन्माउन सक्छन्, १५ प्रतिशतलाई मात्र शल्यक्रिया चाहिन सक्छ भनेको छ ।
सय जनामा १५ जनाभन्दा बढी महिलालाई सुत्केरी गर्दा शल्यक्रिया गराउनु भनेको उनीहरूको शरीरमाथि व्यापार गर्नु हो । निजी अस्पतालका डाक्टरले कहिल्यै प्राकृतिक डेलिभरी गराउन प्रेरित गर्दैनन् । त्यहाँ बिरामीलाई गर्ने काउन्सिलिङ शून्य छ । यसले आफू र आफ्नो बच्चालाई दीर्घकालीन रुपमा असर गर्छ भनेर महिलाहरूले बुझ्नुपर्छ ।
प्राकृतिक रुपमा जन्मिने बच्चा र शल्यक्रियाबाट जन्मिने बच्चाको स्वास्थ्य फरक हुन्छ । शल्यक्रिया गरेर निकालिएकोमा दम, मधुमेह, मोटोपन, एलर्जी जस्ता कुराले सताउँछ । शल्यक्रिया गरेको बच्चासँग आमाको प्राकृतिक रुपले जन्माएको बच्चाभन्दा कम सामीप्य हुन्छ ।
शल्यक्रिया गरेकी आमालाई पहिला आफ्नो शरीर प्यारो हुन्छ । बच्चा दोस्रो प्राथमिकतामा पर्छ । आफ्नो पीडाले गर्दा उनीहरूले बच्चालाई दूध पनि चुसाउँदैनन् । जसको कारण नक्कली दूधको उद्योग त्यहीँबाट फस्टाउँछ । यस्ता बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ ।
त्यस्तै, जोखाना र चिना हेराएर आमाको पेट चिरेर शल्यक्रिया गर्नु मुर्खताको पराकाष्ठा हो । महिलावादीहरू महिला अधिकारका अन्य विषयमा कुरा उठाउँछन् । तर, महिलाको आफ्नो पाठेघर उसको नियन्त्रण बाहिर हुँदै गएको जस्तो गम्भीर विषयमा कोही चुइँक्क बोल्दैनन् । शिक्षित, सहरी र सम्पन्न वर्गका गर्भवती आफैँ प्रसूति हिंसाबाट पीडित छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया