छोरीमैया बेपत्ताका १० वर्ष
१ वर्षे छोरीमा १० वर्षदेखि हराइरहेकी आमा खोजिरहेकी सुधा
आमा बन्दा आमाकै याद आउनेरैछ । काठमाडौँ, जैसीदेवलकी सुधा महर्जनलाई पनि आमा बनेको क्षण आमाकै याद आयो । ढेड वर्षअघि आमा बन्दा उनले सबैभन्दा पहिला आमालाई नै सम्झिइन् । तर, सम्झनामा आइरहने आमा यथार्थमा भने १० वर्षदेखि बेपत्ता छिन् ।
छोरीमैया महर्जन, सुधाकी आमा हुन् जो १० वर्षदेखि बेपत्ता छिन् । एक दिन घरबाट सकुशल निस्किएकी छोरीमैया आजसम्म घर फर्किएकी छैनन् । यो १० वर्षमा सुधाले नयाँ जीवन सुरु गरिन् । नयाँ मान्छेलाई जन्म दिइन् । उनको जीवनमा धेरै कुरा परिवर्तन भए । परिवर्तन भएनन् त केवल पटक–पटक घोचिरहने आमाका याद । त्यही यादले सुधा र उनको परिवार अहिले पनि कहिले सडकमा भौतारिन्छ त कहिले कुना पसेर भक्कानिन्छ ।
२०६८ सालको फागुन १६ गते सुधाको जीवनको सबैभन्दा अप्रिय दिन हो । जुनदिन उनकी आमा घरबाट त निस्किइन् तर, फर्किइनन् । सारसौंदो निस्किएकी आमा किन फर्किइनन् ? आमा कहाँ छिन् ?, कस्तो अवस्थामा छिन् ? उनीहरूलाई अत्तोपत्तो छैन । ५१ वर्षीया छोरीमैयाँ तन्ना, चकटी, पर्दा जस्ता घरेलु प्रयोजनका कपडा सिलाउने काम गर्थिन् । त्यस दिन बिहान ८ बजे आमा घरबाट निस्किएको सुधालाई याद छ । घरबाट निस्किएको केही समयपछि नै सुधालाई आमाको फोन आएको थियो । फोनमा छोरीमैयाले भनेकी थिइन्— म निक्कीकोमा जान लागेको, उनी घरमा छिन् कि छैनन्, एकपटक फोन गरिदेऊ न ।
यो नै सुधाको आमासँगको अन्तिम संवाद थियो ।
बिहान ८ बजे हिँडेकी छोरीमैयाको बेलुका ८ बजे एउटा एसएसएस आयो । सुधाको मोबाइलमा आएको एसएमएसमा लेखिएको थियो— म मनकामनामा छु, पर्सि आउँछु ।
छोरीमैया मोबाइलबाट एसएमएस गर्न पनि जान्दिनथिन् । फोन गर्न र आएको फोन उठाउन मात्रै आउँथ्यो । त्यसमाथि केही दिनअघि मात्रै उनको किटकिटे मोबाइलको डिस्प्ले बिग्रिएको थियो । आमाको मोबाइलबाट एसएमएस आउँदा सुधा आत्तिइन् । फोन फर्काउन खोज्दा मोबाइल अफ थियो । केहीबेरमा आउँछु भनेको मान्छे मनकामना पुग्ने कुरा सम्भव नै थिएन । सुधाले निक्कीलाई नै फोन गरिन् । जवाफ आयो— एक दुई दिनमा आइहाल्नु हुन्छ चिन्ता नगर । तर, सुधालाई निक्कीको कुरामा विश्वास लागेन । उनीहरूले आमा खोजी पाउँ भन्दै प्रहरीमा उजुरी दिए ।
निक्कीले भनेका त्यस्ता दुई दिन धेरै आए–गए । तर, छोरीमैया फेला परिनन् । प्रहरीको शंकाको घेरामा परिन् उनै निक्की भनिने सुरक्षा सिंह । निक्की छोरीमैयाले तयार गरेका कपडा बिक्री गरिदिने साझेदार थिइन् । नजिककी साथी पनि थिइन् । उनीहरूबीच आर्थिक लेनदेन पनि चल्थ्यो । सुधाका अनुसार निक्की ढुकुटी खेलाउँथिन् । सुधाका बुवा शिवकृष्ण नेपाल राष्ट्र बैंकको शाखा अधिकृत थिए । जागिरबाट अवकाश हुँदा पाएको र कपडा व्यवसायबाट कमाएको ५० लाख रुपैयाँ छोरीमैयाँले निक्कीलाई ब्याजमा दिएकी थिइन् । तर, लामो समय भइसक्दा पनि निक्कीले चलाएको पैसा फिर्ता आएको थिएन । छोरीमैया यही पैसा उठाउन भनेर बारम्बार निक्कीकोमा जान्थिन् । त्यो दिन पनि यसैगरी गएकी थिइन् ।
अरु दिन फर्किने छोरीमैया त्यो दिन भने फर्किनन् । निक्कीकोमा गएकी मान्छे त्यहीँबाट नफर्केपछि अरुतिर शंका गर्ने ठाउँ पनि थिएन । छोरीमैयाको परिवारले निक्कीमाथि नै किटानी जाहेरी दियो । प्रहरीले थप प्रमाण जुटायो र निक्कीलाई अदालतसम्म पुर्यायो । तर, अदालतको फैसला छोरीमैयाको पक्षमा गएन । निक्की एक लाख रुपैयाँ धरौटीमा छुटिन् । छोरीमैयाको परिवार छाँगाबाट खसे जस्तो भयो । उनीहरूको नजरमा आमा हराउनमा सिधासिधा निक्कीको हात थियो । प्रहरीले पनि यही निष्कर्षका साथ मुद्दा दर्ता गरेको थियो । तर, अदालतको निर्णयमा छोरीमैयाको परिवार सन्तुष्ट हुन सकेन । सुधा भन्छिन् ‘मेरी आमाको केसमा ‘पावर प्ले’ भयो, चलखेल भयो ।’
तर, अदालतले निक्कीलाई धरौटीमा छाड्ने निर्णय गर्नुअघि नै सुधा र उनका दुई दिदी सुशीला र शुभद्राले निक्कीलाई आमा फर्काइदिन लाख बिन्ति गरेका थिए । धेरैपटक भनेका थिए, ‘ ५० लाख चाहिँदैन । हामीलाई हाम्री आमा फर्काइदिनुस् ।’ तर, उनीहरूले आफ्नी आमाको न लास भेटे, न सास ।
‘गल्ती नभएको भए अदालतले सामान्य तारेखमा छोड्नुपथ्र्यो,’ १० वर्षदेखि आमाको न्यायका लागि लडिरहेकी सुधा भन्छिन्, ‘प्रहरीले नै दोषी बनाएर अदालतसम्म किन पुर्यायो ? एक लाख रुपैयाँ धरौटी किन लियो ?
आमा हराएपछिको तीन वर्ष छोरीमैयाँका छोरीहरूको दिन न्याय पाउने आशमा बित्यो । त्यसपछिको सातवर्ष उनीहरू आमा फर्किने आशमा बिताइरहेका छन् ।
न्यायका लागि उनीहरू नभौतारिएको कुनै ठाउँ छैन । अदालतदेखि प्रहरी हुँदै महिला आयोग, मानव अधिकार आयोग, गृह मन्त्रालय कुनै ठाउँ छैन जहाँ उनीहरूले न्यायका लागि गुहार नमागेका हुन् । भएन, सडकबाट पनि उनीहरूले यो अभियान जारी राखे । सडकमा दबाब दिए । प्लेकार्ड बोके । धर्ना दिए । रिले अनसन बसे । त्यसताका यो घटनालाई लिएर पत्रपत्रिकामा थुप्रै लेख लेखिए । सम्पादकीय छापिए । अनुसन्धानका लागि छानबिन समितिसमेत गठन भयो । तर, हात लाग्यो शून्य । पावरले हाम्रो केस दबियो, छोपियो,’ सुधा भन्छिन्, ‘बयान दिँदा बोलेका कुरा फेरिए । डकुमेन्ट र डिटेलहरू गायब पारिए ।’
‘दिदीको तीन वर्षे छोरालाई बोकेर हामी जुलुस जान्थ्यौँ,’ सुधा सम्झिन्छिन्, ‘अहिले ऊ सबैकुरा बुझ्ने भइसक्यो । यसैवर्ष एसईई दियो । तर, हामीले चित्त दुखाउँछौँ भनेर ‘हजुरआमा खोई ?’ भनेर सोध्ने आँट गरेको छैन ।’
छोरीमैयाँ हराएपछि उनको परिवारको निन्द्रा धेरै महिनासम्म गायब भयो । जीवनसाथी गुमाउनुपर्दाको पीडाले सुधाका बुवा डिप्रेसनमै गए । एक्लै बस्ने, कोहीसँग नबोल्ने गर्न थाले ।
अहिले बुवासँग सुधा र उनका दिदीहरू आमाबारे कुरा गर्दैनन् । ६३ वर्षीय बुवालाई विगत सम्झाउनु, झन् दुःखी बनाउनु जस्तो लाग्छ उनीहरूलाई । ‘आमाको कुरा गरेर बुवालाई दुखाउन मन लाग्दैन,’ सुधा भन्छिन्, ‘ बुबालाई पनि सायद यही लाग्दो हो, उहाँ पनि हामीसँग कहिलै आमाको कुरा गर्नुहुन्न ।’
बुवालाई आमाको यादले झस्काउन मन नलागे पनि आमाको यादले भने दिनहुँ झस्काउँछ सुधालाई । मोबाइलमा नयाँ नम्बरबाट फोन आउँदा उनी अहिले पनि झस्किन्छिन् । शुभ समाचारको आशमा पहिलो घन्टी पूरा नबज्दै फोन उठाउँछिन् । ‘नचिनेको नम्बरबाट फोन आयो भने आमाले नै कतैबाट फोन गर्नुभयो कि भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘कतै न कतैबाट केही न केही खबर आउँछ भन्ने आश लागिरहन्छ । कहिलेकाहीँ त आमा नै फर्केर आउनुहुन्छ कि भन्ने पनि लाग्छ ?’
तर, जब आमामाथि लेखिएका लेख र बनेका भिडियोका प्रतिक्रिया हेर्छिन्, सुधा झसंग हुन्छिन् । छोरीमैयाँ सम्बन्धी लेखिएका समाचार र बनेका भिडियोमा धेरैको कमेन्ट हुन्छ– यत्रो वर्षसम्म नफर्किएको मान्छे अब फर्किन्नन् होला !
यस्ता कमेन्टले सुधा र उनको परिवारको मन छियाछिया हुन्छ । मन कसैगरी मान्न तयार छैन, हुँदैन । सुधालाई आफू मर्दाखेरि आमाको केस रहस्यमय भएरै मर्न नपरोस् भन्ने छ । ‘मर्ने बेलासम्म पनि आमाको केस रहस्यमय भयो भने हामी बाँच्नुको के अर्थ ?’ उनी भन्छिन्, ‘आफू मर्दाखेरि यो रहस्य बोकेर मर्न नपरोस् । आमाबारे केही न केही थाहा होस् ।’ तर, यो कसरी होला ? उनीहरू आफैंलाई थाहा छैन ।
आमा खोज्न प्रहरी कहाँ जाँदा जवाफ आउँछ — अदालत गइसकेको मुद्दा हामीले हेर्न मिल्दैन ।तर, सुधा प्रश्न गर्छिन्, ‘हामी मात्रै आमालाई खोज्दै कहाँ जानु ?’
अहिले पनि प्रहरीले चाह्यो भने आफूहरूले न्याय पाउन सक्ने उनलाई विश्वास छ । तर, प्रहरीले आफूहरूको मर्म बुझ्न नचाहेको गुनासो पनि छ ।
‘आमाको जे जस्तो होस् खबर पाए चित्त बुझाउने बाटो हुन्थ्यो,’ सुधा भन्छिन्, ‘तर, १० वर्षदेखि हामी जहाँको तहीँ छौं । न आमा भएको खबर छ न नभएको । यसले हामीलाई झन् दुःखी बनाएको छ ।’
अहिले पनि सुधाको परिवार प्रहरीकोमा जानु परे तयार छ । ‘केस रि–ओपन भएर कुनै इमान्दार प्रहरीले अनुसन्धान गर्छु भन्यो भने हामीसँग भएको सबै डिटेल दिन तयार छौँ,’ उनी भन्छिन्, ‘तर, निष्कर्ष तर्कविहीन हुनुभएन । निष्कर्षबाट निस्किने तर्कको अर्थ हुनुपर्यो ।’
आमा बेपत्ता हुँदा सुधा २२ वर्षकी थिइन् । करिअर बनाउने उमेर थियो, उनको । उनलाई त्यसताका कसैले वकिल बन्न भने, कसैले प्रहरी । उनले दुवै विषय पढिनन् । तर, बीचका वर्षमा उनलाई यी दुवै विषयका ‘चोट्टी’ कुरा कण्ठस्थ छन् । कानुन र प्रहरीसम्बन्धी धेरै कुरा उनले पढेर होइन्, परेर थाहा पाएकी हुन् । तर, दुवै पेसाप्रति उनको वितृष्णा छ । ‘त्यो ठाउँमा बस्नु भनेको अरुलाई रुवाउनु रहेछ,’ सुधाले भनिन्, ‘त्यसैले यो पेसा मैले कहिल्यै अँगालिन् ।’
अहिले सुधा र उनका दिदीहरू आमाकै टेलर्स सम्हालिरहेका छन् । आमाका ग्राहकलाई उनीहरूले आफ्ना ग्राहक बनाएका छन् । ‘आमाका धेरै ग्राहकहरू तिम्रो आमाले बनाइदिएको सामान अझै हाम्रो घरमा छ भन्छन्,’ सुधा भन्छिन्, ‘उहाँहरूको त्यही वचनले हामीले आमाको सिपलाई निरन्तरता दिएका छौँ ।’ तर, लुगा बनाइरहँदा सियाले छुस्स घोचे झैं ग्राहकले पनि घोच्छन् ।
टेलर्समा आउँदा ग्राहक सुधालाई सोधिरहन्छन्— आमाको केही पत्तो लाग्यो ? राम्रै भावले सोधेको भए पनि ग्राहकको यो प्रश्नले प्रत्येक पटक सुधा र उनका दिदीहरूलाई घोच्छ । कुनै दिन केही अप्रिय सुन्न नपरोस् भन्ने छ छोरीमैयाँका ग्राहकलाई पनि ।
आजभोलि सुधा आफ्नी छोरीमा आमा देख्न थालेकी छिन् । छोरीका हरेक चञ्चलतामा आमाको झल्को देख्छिन् । ‘मलाई छोरीको रुपमा आमा आए जस्तो लागेको छ,’ सुधा भन्छिन्, ‘ देख्नेलाई त लाग्दो हो, यो श्रीमान् छ । छोरी छे । खुशी छे । आमाविना पनि जिन्दगीमा अगाडि बढेकी छे । तर, समय बित्दैमा याद कहाँ मेटिँदोरैछ । हिजोभन्दा आज आमाको यादले झनै सताउँछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया