समाज

टेन्डर गरेको एक वर्षपछि बल्ल आइपुग्‍यो ई-पासपोर्ट छाप्‍ने मेसिन

'भन्सार शुल्क ७० लाख लाग्‍ने'

अतिन आचार्य |
साउन १४, २०७८ बिहीबार १३:३७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- राहदानी विभागले करिब एक वर्षअघि ई-पासपोर्ट छाप्‍न टेण्डर गरेको पहिलो चरण अन्तर्गतको एउटा मेसिन नेपाल ल्याइएको छ । विभिन्‍न मुलुकबाट मेसिनको सामान आइसकेकाले वीरगञ्‍ज भन्सार कार्यालयमा रहेको मेसिन एक सातासम्ममा काठमाडौँ आइपुग्‍ने विभागले जनाएको छ ।  

तीन वटा मेसिन आउनुपर्ने भए पनि अहिले एउटामात्र आइपुगेको विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए । उनका अनुसार भन्सार शूल्क तिर्ने प्रक्रिया अघि बढेकाले एक सातासम्ममा काठमाडौँ आइपुग्छ ।


दोस्रो मेसिन पनि छिटै भित्र्याउने तयारी विभागको छ । मेसिन विभिन्‍न तीन  मुलुकबाट ल्याइएको हो । चीन, फ्रान्स र जर्मनबाट मेसिनका लागि चाहिने पार्टस्‌हरू ल्याइएको छ । मेसिनका सम्पूर्ण भाग काठमाडौँमा ल्याइ निर्माण गरिने पाण्डेले बताए ।

पाण्डेले भन्सार शूल्‍क ७० लाख रुपैयाँ लाग्‍ने जानकारी दिए । सरकारको मेसिन भएकाले शूल्‍क मिनाहा गर्न विभागले अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको उनको भनाइ छ । शूल्‍क मिनाहा नभएमा राहदानी विभागले सम्पूर्ण रकम खर्चेर ल्याउने छ । 

'साउनभित्रमा मेसिनको सम्पूर्ण काम सकेर सम्भवतः भदौको अन्तिम सातादेखि ई-पासपोर्ट वितरण गरिन्छ,' पाण्डेले भने, 'बुकलेटको पनि फाइनल भइसकेको छ । सबै काम सकिएको हुनाले अब चाँडै बनाएर वितरण गरिन्छ ।'

गत वर्षको कात्तिक महिनामा 'आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी' फ्रान्सेली कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो । करिब साढे २ अर्ब रुपैयाँ बराबर लागतमा निर्माण गर्न लागिएको हो ।

ई-पासपोर्ट दुई थरी

प्रवक्ता पाण्डेले ई-पासपोर्ट दुई प्रकारको हुने बताए । उनका अनुसार एक खाले अहिलेको जस्तै ३४ पृष्ठकै हुने छ भने अर्को ६६ पृष्ठको हुनेछ । कम यात्रा गर्नेले अहिलेको जस्तै पातलो र बढी ट्राभल गर्नेले बढी पृष्ठको पासपोर्ट लिन सक्नेछन् । ३४ पेजको पासपोर्टको अहिले कायम राजश्‍व लाग्‍नेछ भने ६६ पृष्ठको पासपोर्टको लागि  झण्डै दोब्‍बर मूल्य तोक्ने तयारी विभागको छ ।

अहिले एमआरपी हुनेले तत्काल ई-पासपोर्ट बनाउनु पर्दैन । पृष्ठ र म्याद सकिएकाले अर्को लिँदा हुन्छ । वार्षीक साढे ६ लाख पासपोर्ट जारी हुने हुनाले त्यही आधारमा तीन वर्षका लागि २० लाख सेवाग्राहीलाई पुग्‍नेगरी पासपोर्ट बनाउन टेण्डर गरिएको हो ।

के हो ई-पासपोर्ट ?

संसारका एक सय बढी मुलुकले यो पासपोर्ट प्रयोगमा ल्याइसकेका छन् । नेपालले हातले लेखेको पासपोर्टलाई नेपालले ११ वर्षअघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो ।

त्यतीबेलै सरकार ई-पासपोर्टमा जान सक्ने भए पनि चरणबद्ध रूपमा अघि बढेर राज्यलाई दोहोरो मारमा पार्ने काम भयो । एमआरपीको लाइभ इनरोलमेन्ट (प्रत्यक्ष उपस्थित भएर विवरण दिने) नै राम्रो प्रयोगमा आउन सकेको छैन ।

यसका लागि अनिवार्य लाइभ इनरोलमेन्ट आवश्यक पर्छ । यो एमआरपी भन्दा एक तह माथी अर्थात यसमा चिप्स हुन्छ । चिप्समा नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ । आँखा,फिंगर प्रिन्टको विवरण समावेश गरिएको हुन्छ ।

एमआरपीमा सम्पूर्ण विवरण भए पनि बारकोडमा थियो । यसमा  चिप्ससहित हुन्छ । अनलाइनबाट आवेदन दिए पनि भर्चुअल वा प्रत्‍यक्ष विवरण यसमा राख्‍न पर्ने हुन्छ । त्यसको प्रभावकारीताको आधारमा यो कति सुरक्षित छ स्पष्ट हुने  एक अधिकारीले बताए । 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x