समाज

उत्तरी गोरखा

तल नदी माथि भिर, जिन्दगीमा पेटकै छ पिर ! (भिडियोसहित)

सन्तोष अधिकारी |
साउन १४, २०७८ बिहीबार १४:२१ बजे

 काठमाडौँ - सिमली छायाँमा बसी भरिया लामो सास फेरेको 
उमेर भइसक्यो असी झन् ठूलो दुःखले घेरेको ।।

जीवन शर्माको यही गीत जस्तै बनेको छ, उत्तरी गोरखाका बासिन्दाको जीवन । बर्खा लागेपछि कति बेला बूढी गण्डकी उर्लिएर बाटो बगाउला र जनजीवन नै ठप्प पार्ला भन्ने पिर हुन्छ, यो ठाउँका बासिन्दालाई । यस्तो बेलामा त्यहाँका बासिन्दा फेरि उही पुरानो पेसामा फर्कनुपर्ने बाध्यता छ । त्यो पेसा हो भरिया । गएको असार ३ गते बुढी गण्डकीले धार्चे गाउँपालिकास्थित यारुबगर खण्डमा बाटोे नै बगाइदियो । करिब डेढ महिनापछि स्थानीयले यारुबगर खण्डमा बाटो काट्नका लागि लिस्नो (भर्‍याङ) बनाएका छन् । हेर्दै डरलाग्ने उक्त भर्‍याङ चढेर स्थानीयले खाद्यन्न बोकिरहेका छन् । 


‘बाटोको त के कुरा गर्ने जता हेर्याे उतै पहिरो । जोगिएरै हिँड्नुपर्छ,’ त्यस क्षेत्रका खच्चड व्यवसायी, गोठालो (स्थानीयले खच्चड ड्राइभर पनि भन्छन्) को काम गर्दै आइरहेका लीलाबहादुर थापा मगरले इकागजसँग भने, ‘जसरी पनि बाँच्नु त पर्याे । बाँच्नका लागि खानै पर्याे भनेर हामीले गाउँलेसँग मिलेर भर्‍याङ बनायौँ । अहिले आर्खेत, सोती, माछाखोलाबाट सामान ल्याएर भर्‍याङको फेदमा झार्ने अनि त्यहाँबाट अलिमाथिसम्म चाहिँ भर्‍याङ चढेर सामान लैजाने गर्न थालेका छौँ ।’ 

सामान बोकेर भर्‍याङ उक्लँदा मुटु नै चिसो हुने बताए । ‘खच्चडले भर्‍याङको फेदमा झारेको सामान केही हामी खच्चडवालाले नै बोक्छौँ । केही स्थानीयलाई पैसा दिएर बोक्न लगाउने गरेका छौँ,’ उनले भने, ‘बढेमाको भारी बोकेर भर्‍याङ चढ्ला त त्यहीँ गइन्छ (मरिन्छ) कि जस्तो लाग्छ कहिलेकाहीँ त । छेवैमा बूढीगण्डकी उर्लिराको हुन्छ । अलिकति चिप्लियो भने त सकियो नि जिन्दगी ।’ प्रायः लयात्मक जवाफ दिने गाउँघरमा अझ लोकसंस्कृतिको खानी गण्डक प्रदेशमा उनी भनिरहेछन्– तल नदी माथि भिर, जिन्दगीमा पापी पेटकै छ पिर ! 

यारुबगरमा खच्चडले बोकेर पुर्याएको सामान स्थानीयले बोकेर ठाडो भर्‍याङ भन्ने ठाउँसम्म पुर्‍याउनुपर्ने हुन्छ । असार ३ गतेको बाढीले बाटो बगाएपछि तल्लो क्षेत्रमा भएका खच्चड तल र माथि भएका खच्चडमाथि नै थुनिएका छन् । ठाडो भर्‍याङबाट भने पुन खच्चडमार्फत सिर्दिबासको जगत, फिलिमलगायत, बिही, ल्हो, प्रोक, सामागाउँ, साम्दो, छेकम्पार, छुलेनिलेलगायत गाउँमा खाद्यन्न ढुवानी गरिन्छ ।   

उत्तरी गोरखामा अहिले पनि खाद्यन्न ढुवानीको एक मात्र माध्यम भनेको खच्चड नै हो । जिल्लाको आरुघाट, आर्खेत, सोती बजार क्षेत्रबाट खच्चडले गाउँगाउँमा खाद्यन्न ढुवानी गर्ने भएपनि अहिले भने खच्चडसमेत हिँड्न मिल्ने बाटो छैन । अलि सक्नेले भने हेलिकप्टरबाट पनि काठमाडौँबाट खाद्यान्न लैजाने गरेको स्थानीय  बताउँछन् । 
त्यसक्षेत्रमा होलसेल व्यापार गर्दै आएका परिचित अधिकारी भन्छन्, ‘मान्छेले जस्तो दुख पनि झेल्नु पर्ने रहेछ । मान्छेको पेट भर्नै पर्ने । केही उपाए नलागेपछि भर्‍याङ बनाएर पनि सामानमाथि लैजान थालिएको छ ।’ तिब्बतसँग सीमा जोडिएको गाउँपालिका चुमनुब्रीको त्यस क्षेत्रमा यसवर्षको वर्षाले धेरै जनधनको क्षति भएको छ । बस्ती नै विस्तापित भएका छन् । 

एक महिनासम्म खाद्यन्न ढुवानी नहुँदा गाउँमा चामल, नुन, तेल सबै सकिएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । ‘एक महिनासम्म माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको सम्पर्क नै भएन । फोन पनि चलेको छैन,’ इकागजसँगको कुराकानीमा उनले भनिन्, ‘अलि पहिले हेलिकप्टरले चामल बोकेको थियो । त्यसरी बोकर ल्याएको चामल किनेर खान पनि सबैले सक्ने अवस्था भएन । तीन दिन भयो खच्चड व्यवसायी समितिले भर्‍याङ बनायो । सामान बोकेरै भए पनि माथि ल्याउन थालेको छ ।’ 

यसरी सामान लैजाँदा आरुघाटलगायत तल्लो क्षेत्रको बजारमा १६ सय  रुपैयाँ पर्ने सोना मनसुली चामल प्रतिबोरा माथि पुर्‍याउँदा चार हजार रुपैयाँ खर्च गर्नुपरेको उनले सुनाइन् । ‘बाटो सहजै बन्ने देखिँदैन । ग्याबिन भरेर बनाउने कुरा पनि भएको छ । अहिले बुढीगण्डकीमा पानी केही कम भएको छ नि त,’ उनले भनिन्, ‘ढुवानी महंगो भयो । गाउँलेलाई गाह्रो भयो । सोना मन्सुली चामल नै चार हजार पर्ने भयो । गाउँलेलाई कसरी खुवाउने ? तिब्बतको नाकाबाट ल्याउन हुन्थ्यो । कोरोनाले गर्दा नाका बन्दको बन्द छ ।’  

भिडियो 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x