समाज

गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

इकागज |
साउन १७, २०७८ आइतबार ९:४२ बजे

मुग्लिन : गुरुङ तमू जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू गुरुङ मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।

पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू ९गुरुङ०को  मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेकोे परिषद्का अध्यक्ष रेशम गुरुङले बताए । 


कोष स्थापनाका लागि मुख्य दाताका रूपमा तमू गुरुङहरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान गर्न र सोको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले रु तीन लाख आर्थिक सहयोग गरेको छ ।

उक्त रकम शनिबार साँझ जुम भर्चुअलमार्फत एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशमले जानकारी दिए । उनका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरी प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँमा आवश्यकतानुसार तमू गुरुङ मातृभाषा कक्षा सञ्चालन गर्नेछ ।

यसैबीच अक्षयकोष सञ्चालनका लागि परिषद् र ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । हस्ताक्षरपत्रमा परिषद्का अध्यक्ष रेशम र ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिश गुरुङले हस्ताक्षर गरेका छन् । पछिल्लो समय गुरुङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कृति वेषभुषा लोप हुँदै गएपछि विभिन्न गुरुङ सङ्घसंस्थाले  संरक्षणका लागि जोड दिएका छन् । रासस
 


Author

थप समाचार
x