समाज

मोरङमा १४औं पटक थपियो निषेधाज्ञा

इकागज |
साउन २५, २०७८ सोमबार १२:४९ बजे

विराटनगर - जिल्लाको उत्तरी क्षेत्रका स्थानीय पालिकाहरूमा कोभिड १९ को संक्रमण दर फैलिंदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले १४औं पटक निषेधाज्ञा थपेको छ । 

विराटनगर महानगरपालिकासहित भारतसँग सीमा जोडिएका पालिकाहरूमा संक्रमण न्युन हुँदै गएपनि पहाडी भुगोलका उत्तरी क्षेत्रका पालिकाहरूमा संक्रमण बढेका कारण सोमबारदेखि एक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको हो । 


प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोभिड १९ दोस्रो लहर सुरु भएको भन्दै गत बैशाख १८ गतेदेखि लागू हुने गरी पहिलो निषेधाज्ञा आदेश जारी गरेका थिए । त्यसपछि हरेक साता थपिँदै आएको निषेधाज्ञाको अवधि १४ औं पटक सोमबारदेखि लागू हुने गरी थपिएको छ ।

संक्रमण बढेकै कारण हाल महेन्द्र राजमार्गसँग जोडिएका उर्लाबारी, बेलबारी, केराबारी र पथरी शनिश्चरे नगरपालिका लगायतका केही नगरपालिकाले नगरस्तरीय सीसीएमसीको बैठक बसेर आफैंले लकडाउन गरिरहेका छन् ।

जिल्लाभित्र संक्रमण दर समग्रमा केहि कम भएपनि कोभिडकै कारण अस्पताल भर्ना हुनेहरूको संख्या उल्लेख्य रहेको र मृत्यु दर पनि सुधार नभएको भन्दै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तरगतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालयका अनुसार मोरङमा हालसम्म १४ हजार ४३९ महिला र १९ हजार ६९५ पुरुष गरी ३४ हजार १३४ जना संक्रमित भएका छन् । जसमध्ये १२० जना महिला र ३१७ जनाको पुरुषको मृत्यु भएको छ ।


Author

थप समाचार
x