समाज

अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढ्यो, विराटनगर प्रवेश गर्ने मुख्य नाका रानी खोलियो

बाबुराम भण्डारी |
साउन २७, २०७८ बुधबार १८:५ बजे

विराटनगर -अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढेपछि नाका रानी खोलिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मुल नाकाबाटै मानिसहरूको आवत जावत गर्ने व्यवस्था मिलाउनका लागि नाका खोलिएको बताए । रानी नाका प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुल नाका हो । उक्त नाका बन्द हुँदा सीमावर्ती भारतीय बजार जोगवनी जाने र त्यहाँबाट नेपाल प्रवेश गर्न नजिकका आधा दर्जन अवैध नाकाको प्रयोग हुँदै आएको थियो । 

कोभिड-१९ को महामारीमा पनि मानिसहरूलाई अवैध नाकाको प्रयोग गरेर आउजाउ गर्ने क्रम रोक्न प्रहरीलाई सकस पर्दै आएको थियो । त्यही कारण पनि मुल नाका रानीबाटै पैदल यात्री आउजाउ गर्ने गरी नाका खोलिएको प्रजिअ निरौलाले बताउँछन् ।


‘हामीले अहिले अरु बाटो चाहिँ बन्द गर्ने, सकेसम्म यहि (रानी) बाट आउने जाने गरी व्यवस्था गर्ने भन्ने तयारी गरेका छौं’ उनले भने, ‘अहिले अन्तबाटै गइरहेका छन्, अन्तबाट जान रोकिने छ ।’ निरौलाले रानी नाकामै सरकारले हेल्पडेस्क समेत सञ्‍चालन गरेको र शंकास्पद मानिसहरूको परीक्षण पनि हुने जानकारी दिए ।

‘रानी नाकाबाट आउजाउ गर्दा शंकास्पद व्यक्ति देखिए भने तत्कालै आइसोलेसनमा पठाउन सकिन्छ, अभिलेख राख्न पनि सकिन्छ, त्यहि भएर हामीले रानीभन्दा अन्तबाट आउन नदिने र अन्तबाट नियन्त्रण गर्ने भनेर लागेका छौं ।’

नाकाबाट सवारी साधन लिएर आवात–जावत गर्न भने पाइने छैन । आउने र जानेहरूका लागि अलग– अलग लाइनको व्यवस्था गरिने जनाएको छ ।प्रदेश १ को कुल सक्रिय संक्रमित मध्ये ३६ प्रतिशत कोभिड–१९ संक्रमित रहेको प्रदेश राजधानी विराटनगरमा भारतसँगको खुल्ला नाकाबाट मानिसहरू अनियन्त्रित रुपमा नेपाल प्रवेश  गर्दै आएका थिए । 

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गर्ने निषेधाज्ञा आदेशमा ‘अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध गर्ने’ भनिए पनि सीमा क्षेत्रमा खटिएको सशस्त्र र नेपाल प्रहरी भारतबाट प्रवेश गर्नेहरूको लर्कोसामू निरीह बन्दै आएका थिए । सरकारी रेकर्डमा जोगवनी भन्सार नाकाबाट मालबस्तु बाहेक मानिसहरूको खुल्ला आवागमन अहिले पनि बन्द नै रहेको छ । मुल नाका बन्द भएपनि मोरङमा मात्रै ६३ दशमलव २ किलोमिटर लामो खुल्ला दशगजाबाट नेपाल प्रवेश रोक्नसक्ने अवस्था नभएपछि नाका खोलिएको हो ।

विराटनगर महानगरपालिका–१६ स्थित दरैयाबस्तीको अवैध बाटोबाट नेपाल प्रवेश गर्नेहरूको लर्को देखिन्थ्यो । त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मानिसहरूको लर्कोका सामू निरीह बन्दै आएका थिए । दरैयाबस्तीमा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतले जोगवनीबाट नेपाल प्रवेश गर्न रोक्नै नसकिने अवस्था रहेको बताए । उनले रोक्न खोज्दा दशगजा पारी भारतीय भूभागबाट पटक–पटक ढुंगामुडा हुने गरेको जानकारी दिए ।

मुल नाका बन्द भएयता सीमावर्ती चोरबाटोको प्रयोग गरी नेपाल–भारत आउजाउ गर्ने क्रम नरोकिंदा कोभिड १९ को महामारी नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले गरेका प्रयास असफल  हु“दै आएका छन् । अवैध नाकाबाट आउजाउ गर्नेले मास्क समेत नलाइदिने समस्याले स्वास्थ्य सुरक्षा मापदण्डको समेत उल्लंघन भइरहेको थियो ।

विराटनगर १६ दरैयावस्तिस्थित दशगजा क्षेत्रबाट नेपालतर्फ प्रवेश गर्दै गरेका व्यक्तिहरू ।

जोगवनीमा रेलबाट आएका हजारौं मानिसहरू अवैध नाकाबाटै विराटनगर हु“दै प्रदेश १ का विभिन्न जिल्लामा पुग्ने गरेका छन् । विराटनगरको रानी नाका बन्द भएका कारण विराटनगर–१६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैयाबस्ती र वडा नम्बर १७ को इस्लामपुर र मटेरवा नाकाबाट नेपाल–भारत ओहोर–दोहोर गर्नेको भिड अहिले पनि उस्तै रहेको छ ।

कोभिड–१९ महामारीको पर्वाह नगरी सीमावर्ती जोगवनी बजारमा किनमेलका लागि जाने नेपालीहरूको पनि उतिक्कै लर्को लाग्ने गरेको छ । जसले गर्दा कोभिड–१९ को अझ खतरनाक भनिएको ‘डेल्टा’ भेरियन्टको संक्रमणको थप जोखिम बढेको हो । पहिलो लहरको कोभिड महामारीको बेला रानी नाकाबाट नेपाली नागरिक बाहेक अन्यलाई प्रवेश गर्न नदिने निर्णय गरिएको थियो ।

०७७ चैतयता फैलिएको दोस्रो लहरपछि जिल्ला प्रशासन कार्यालय मोरङले ०७८ बैशाख १७ गते जारी गरेको निषेधाज्ञा आदेशमा भारतस“ग जोडिएका सिमा नाकाहरूबाट आवागमन पूर्ण रुपमा बन्द गर्ने उल्लेख थियो । प्रदेश १ को राजधानी विराटनगरमा हालसम्म १२ हजार ४९८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । जसमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ६५६ जना रहेको महानगरपालिकाले जनाएको छ । महानगरभित्रै १६२ जनाको मृत्यु भएको छ । 

त्यसैगरी प्रदेश १ मा ७४९७ सक्रिय संक्रमित छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म ८९ हजार ९८८ जनामा कोभिड १९ पुष्टि भएको छ । प्रदेश १ मा बुधबार थप १४ जनासहित १७ सय ६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

हाम्रो पनि राय त्यै हो : मन्त्री कार्की

मुल नाका खोल्ने अधिकार संघको भएका कारण प्रदेश सरकारलाई त्यसबारे अहिलेसम्म जानकारी नआएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए । तर सीमा क्षेत्रबाट अवैध रुपमा मानिसहरूको आवागमन हुने गरेका कारण मुल नाका नै खोल्नुपर्ने राय प्रदेश सरकारको पनि भएको जानकारी दिए ।

मन्त्री कार्कीले भने– ‘चल्दा मुल नाका नै चल्नुपर्ने हो, नाका खोल्ने र लाउने संघको अधिकार क्षेत्रभित्रको कुरा हो ।’  उनले मानिसहरूले स्वास्थ्यसम्बन्धि न्यूनतम् मापदण्ड पनि पालना नगरेका कारण संक्रमणको जोखिम बढेको बताए । संक्रमणको जोखिमबाट बच्‍ने अबको उपयुक्त विकल्प खोप नै भएको भन्दै संघीय सरकारले प्राप्त भएका खोपलाई छिटो गरी सवै प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने बताए ।


Author

थप समाचार
x