समाज

भारतीय बाटो प्रयोग गर्नुपर्ने छाङरुबासीको बाध्यता हट्यो

इकागज |
असोज २०, २०७७ मंगलबार ११:५५ बजे

नेपाली सेनाले घाँटीबगर-छाङरुको गोरेटो बाटो । तस्बिर सौजन्य : नेपाली सेना

दार्चुला : दार्चुला व्यास गाउँपालिका-१ छाङरुबासीलाई नेपाली भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगर-छाङरु गोरेटो/घोरेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारि किनारैकिनार भएर आवतजावत गर्न सुविधा भएको हो ।

उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालनमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सदरमुकामदेखि घाँटीबगर हुँदै छाङरु जाने बाटो तीन वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने  त्यहाँका बासिन्दालाई बाध्यता थियो । उक्त बाध्यता अन्त्य गर्न गत जेठ  २६ गते बाटो निर्माण  शुरु  गरेको सेनाले चार महिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयवासीलाई यात्रा गराउन सफल भएको हो ।


प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी रु एक करोड ८ लाख ३६ हजारको लागतमा दुई मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटाका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३  गैरसैनिक नागरिक अहोरात्र खटिएका थिए । हस्तान्तरण कार्यक्रममा  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताए । उनले त्यस क्षेत्रको  विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पुर्‍याउने प्रदेश सरकार र  स्थानीय तह सबैप्रति धन्यावाद ज्ञापन गरे । उक्त बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । सो अवसरमा बीमावापतको रु १० लाखको चेक र  योगदानको उच्च मूल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उनकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो । 

बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १८४ घरधुरीका एक हजार २५० जनालाई हिँड्न र पशु चौपाया ल्याउन पुर्‍याउन सहज भएको जनाइएको छ । उक्त मार्गको तम्पाकु खण्डमा  सजिलोसँग आवतजावत गर्न केही कठिनाइ रहेकाले त्यसमा पनि सेनाबाट काम होस् भनी स्थानीयवासीले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला-तिङ्कर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । अति विकट भौगोलिक अवस्थाका कारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ ।


Author

थप समाचार
x