कैलालीमा थारु समुदायले मनाए गुरही पर्व
कैलाली - धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व धनगढीमा थारु समुदायले भव्यताका साथ मनाएका छन् । सखी सञ्जाल कैलालीको आयोजनामा शुक्रबार धनगढीको गुरही चौकमा सामूहिक रूपमा गुरही पर्व मनाइएको हो ।
थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रूपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण संवर्द्धनसहित हकअधिकार तथा पहिचानका रूपमा मनाइएको थारु अगुवा एवम् थारु कल्याणकारी संघका केन्द्रीय सदस्य प्रभात चौधरीले बताए ।
थारु समुदायको चाडको सुरुवातको रुपमा गुरही पर्वलाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् । अगुवा चौधरीले थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास लिने बताए ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिएको अगुवा चौधरीले बताए ।
यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको पत्रकार उन्नति चौधरीले बताइन् ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको बताउदै पत्रकार चौधरीले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया