समाज

वीरगञ्ज ५० रूपैयाँमै खाना खुवाउँदै ‘भरपेट भोजनालय’

इकागज |
साउन ३०, २०७८ शनिबार १८:४६ बजे

फाइल फोटो

वीरगञ्ज - आर्थिक रूपमा विपन्न परिवारलाई खाना खुवाउने उद्देश्यका साथ वीरगञ्जमा ‘भरपेट भोजनालय’ सञ्चालनमा आएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा सानो पाइला नामक गैरसरकारी संस्थाले ५० रूपैयाँमा भरपेट भोजनालय सञ्चालनमा ल्याएको हो ।

सानोपाइलाका अध्यक्ष सुदीप लामाको अध्यक्षतामा भएको कार्यक्रमको संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले भोजनालयको उदघाटन गरेका छन् । सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले वीरगञ्जमा पहिलो पटक केही नयाँ सोचका साथ आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई लक्षित गरी ५० रूपैयाँमा भरपेट खाना खुवाइने उद्देश्यले यसलाई अभियानकै  रूपमा सुरुवात गरेको बताए ।


उनले वीरगञ्जमा रिक्सा, ठेला चलाउने वा आर्थिक अवस्था न्यून भएका सबैलाई सस्तो मूल्यमा सहज तरिकाले स्वस्थकर भोजन उपलब्ध गराउने उद्देश्य रहेको पनि बताए । ‘रिक्सा, ठेला चालक तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई लक्षित गरी सञ्चालन गरिएकाले उनीहरूलाई सहज र सुलभ तवरले खाना व्यवस्थापन गर्न सकियोस् भनेर बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने हाम्रो तयारी छ,’ उनले भने ।

झाकाअनुसार कोरोना माहामारीको पहिलो र दोश्रो लहरका बेला लगाइएको लकडाउनमा सानो पाइलाले गरिब, विपन्न र अस्पतालका बिरामी र कुरुवाहरूलाई निः शुल्क  खाना खुवाउने अभियान सञ्चालन गरेको थियो । कोरोनाको पहिलो र दोश्रो लहरको लकडाउनमा प्रदेश २ र कर्णाली प्रदेशमा गरी १ लाख ५० हजार जनालाई निः शुल्क खाना खुवाएको सानो पाइलाले जनाएको छ ।


Author

थप समाचार
x