समाज

आगो लगाएर पत्नीको हत्या गर्ने यादवलाई आजीवन काराबास सजाय

इकागज |
साउन ३०, २०७८ शनिबार १९:२५ बजे

जनकपुरधाम – पत्नीलाई आगो लगाएर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले एक युवकलाई आजीवन काराबासको सजाय सुनाएको छ । अदालतले औरही गाउँपालिका–५ बस्ने २६ वर्षीय विनोद यादवलाई आफ्नै पत्नीलाई आगो लगाएर हत्या गरेको ठहर गर्दै आजीवन काराबासको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सो फैसला गरेको हो । 

१० माघ ०७६ मा चारित्रिक आरोपमा विनोदले आफ्नी २१ वर्षीया पत्नी अनिता यादवलाई आगो लगाई हत्या गरेको अदालतले ठहर गरेको थियो । आगो लगाएपश्चात विनोदले अनितालाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल भर्ना गरेकोमा त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित मोडेल अस्पताल भर्ना गरेका थिए । उपचारकै क्रममा घटनाको दुई दिनपछि अनिताको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।


मृतक अनिताका बुवा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा सोही दिन विनोदविरुद्ध हत्याको किटानी जाहेरी दिएका थिए । सो जाहेरीको आधारमा पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत ८ फागुनदेखि पुर्पक्षका लागि थुनामा थिए । उक्त घटनमा विनोदले अनिताको हत्या गरेको ठहर गर्दै अदालतले अन्तिम सुनुवाइ गर्दै उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । 


Author

थप समाचार
x