कृसलाको हत्यामा संलग्न दुई युवक सार्वजनिक, बदला लिन हत्या गरेको बयान
विराटनगर - उदयपुरको त्रियुगा नगरपालिका–६ की १६ वर्षीया कृसला चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
शव फेला गरेको १२ दिनपछि प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपयुरका प्रमुख प्रहरी उपरीक्षक सुवाशचन्द्र बोहराका अनुसार कृसलाको हत्यामा संलग्न रहेका सप्तरीको सुरुङगा नगरपालिका–१ बस्ने २७ का उचितलाल सदा र २३ का विशे सदालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बताए । उनले घटनाको अनुसन्धानका क्रममा एक सयभन्दा धेरै जनासँग सोधपुछ गरेको जानकारी दिए । नियन्त्रणमा लिएका मध्ये उचितलाल र विशे सदाले आफ्नो बयानका क्रममा हत्या स्वीकार गरेका हुन् ।
हत्यामा संलग्न रहेका मध्ये २७ वर्षीय उचितलालले आफ्नो घरबार बिगारिदिएकोले कृसलाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । कृसला र आफ्नी श्रीमतिको साथी भएको र कृसलासँग चिनजान भएका कारण श्रीमतिसँगको सम्बन्ध बिग्रिएको भन्दै बदला लिन हत्या गरेको बयान दिएका हुन् । कृसलासँग श्रीमान नजिक भएको भन्दै श्रीमतिले उचितलाललाई छाडेकी थिइन् ।
त्यसैको रिसले कृसलाको साउन १३ गते राती करीव ९ बजेतिर जंगलमा लगेर हत्या गरेको हुन् । सामाजिक संजालमार्फत भएको सम्वाद लगायतका सुराकबाट उनीहरुलाई शंकाको घेरामा राखिएर नियन्त्रणमा लिई अनुसन्धान गर्दा घटनाको पुष्टि भएको प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले बताए । प्रहरीले अनुसन्धानका क्रममा ७ जनालाई हिरासतमै लिएर अनुसन्धान गरेको थियो ।
कृसलाको बलात्कारपछि हत्या भएको आशंका गरिए पनि शव परीक्षण प्रतिवेदनमा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । उचितलालले छिमेकी विशेलाई साथी लिएर आएको र एकजनाले कृसलालाई समातेर अर्कोले मुक्का प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ । साउन १३ गते घरबाट हिंडेकी कृसलाको शव त्रियुगा नगरपालिका–६ मोहनपुर नजिकै राजदेवी सामुदायिक वनभित्र सड्न थालेको अवस्थामा साउन १९ गते घाँस दाउरा गर्नेहरुले भेटेका थिए ।
उनका बुवा प्रेमकुमार चौधरीले शव भेटिएको भोलिपल्टमात्रै आफ्नी छोरीको शव भएको पहिचान गरी सनाखत गरेका थिए । हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीय मानव अधिकारवादी संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, वाल संगठन लगायतले सदरमुकाम गाईघाटमा प्रदर्शन गरेका थिए । उक्त घटनाको छानबिनमा प्रहरी गम्भीर नभएको भन्दै प्रदेश र संघीय सदनका सांसदहरुले पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया