समाज

दार्चुला घटना छानबिन गर्न बनेको समितिको म्याद फेरि थपियो

इकागज |
भदौ २, २०७८ बुधबार २०:२४ बजे

काठमाडौँ  -  दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थपिएको छ । १५ साउनमा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारती एसएसबीले तार काटिदिएपछि नदीमा बेपत्ता भएका धामीको खोजीकार्य गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले १७ साउनमा १० दिनको म्याद रखेर पाँच सदस्यीय समिति गठन गरेको थियो । पहिलो पटक १० दिन र दोस्रो पटक २६ साउनमा सात दिन म्याद थप हुँदा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले बुधबार तेस्रो पटक म्याद समितिको थपेका छन् । 

समितिले घटना छानबिनका लागि समय अपुग भएको भन्दै म्याद थप्न आग्रह गरेपछि बिहीबारबाट लागू हुने गरी म्याद थपिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।  समितिले धामी नदी तर्दातर्दै भारतीय एसएसबीले तुइन काटिदिँदा उनी महाकाली नदीमा बेपत्ता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यद्यपि प्रतिवेदनमा लेख्ने विषय गृहमन्त्री खाँणसँग परामर्शपछि मात्र टुंगिने समितिका एक सदस्यले जानकारी दिए । 


मन्त्री खाँणले धामी प्रकरणमा सहसचिव जनार्दन गौतम नेतृत्वको समितिको प्रतिवेदन नै सरकारको अन्तिम निष्कर्ष हुने बताइसकेका छन् । समितिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।


Author

थप समाचार
x