समाज

बैतडीमा पहिरोले दुई घर बगायो, १० घर उच्च जोखिममा

इकागज |
भदौ ४, २०७८ शुक्रबार १८:२३ बजे

फाइल फोटो

बैतडी : लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । 

पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ । 


यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कँुवर र भुपेन्द्र कुँवरको घर पहिराको जोखिममा रहेका हुन् । साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिराको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए । 

पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ । 

विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिए । रासस 
 


Author

थप समाचार
x