समाज

लगाउने जनै र खाने क्वाटीको व्यापार घट्यो

इकागज |
भदौ ५, २०७८ शनिबार १४:४४ बजे

काठमाडौँ : जनै र जनै पूर्णिमाको रातमा खाइने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन । 

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’


यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दीए । उनले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउननै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ । 

 


Author

थप समाचार
x