समाज

बिहेपछि महिलामा हुने ‘एडजस्मेन्ट डिसअर्डर’

डिभोर्सदेखि ज्यानै जानेसम्मका घटना

बासु आचार्य |
भदौ ५, २०७८ शनिबार १५:३८ बजे

घटना १ 

मैले बेकार बिहे गरेँ भन्दै एक महिला केही समयअघि काउन्सिलिङको लागि आइन् । बिहे गरेकोमा उनलाई निकै पछुतो थियो । समाजको अगाडि धुमधामले बिहे गरेकी उनलाई त्यही बिहे ‘टोक्नु न बोक्नु’ भएको थियो । उनी न बिहे तोड्ने अवस्थामा थिइन्, न अंगाल्ने नै । उनका अनुसार उनको माइती र घरको वातावरण बिलकुलै विपरीत थियो । परिवारका सदस्यको व्यवहार पनि फरक । 


बिहे गरेर गएको दिनदेखि नै उनलाई एडजस्ट हुन गाह्रो परिरहेको थियो । बिहेअघि स्वतन्त्र भएर काम गरिरहेकी उनलाई कडिकडाउ गर्ने खालको घर परेको रहेछ । उनी ‘मलाई त्यस घरमा उकुसमुकुस हुन्छ’ भन्थिन् । मागी बिहे भएकाले घर परिवारको बारेमा पनि उनले खासै बुझेकी रहिनछिन् । बिहे गरेको एक वर्षसम्म जसोतसो बसेकी उनी मानसिक रुपले निकै विक्षिप्त अवस्थामा आइपुगेकी थिइन् । 

घटना २

केही दिनअघि एक जोडी दम्पती काउन्सिलिङको लागि आए । उनीहरू दुवैले मनोचिकित्सकको सल्लाहअनुसार औषधि खाइरहेका रहेछन् । १४ वर्षे वैवाहिक जीवन बिताएका उनीहरूका तीन छोराछोरी छन् । निन्द्रा नलाग्‍ने, मनमा कुरा खेल्ने र श्रीमान् श्रीमतीबीच दिनहुँजसो झै-झगडा हुने उनीहरूका प्रमुख समस्या थिए ।
कुरा बुझ्दै जाँदा श्रीमतीलाई ‘एड्जस्टमेन्ट डिसअर्डर’ भएको रहेछ । 

पाँच दाजुभाइ र उनीहरूका श्रीमती एकैठाउँमा बस्‍ने रहेछन् । परिवारमा कोही सदस्य काम गरेको गर्यै , कोही भने मोबाइलमा मस्त भएपछि उनी असन्तुष्ट रहिछन् । परिवारसँग छुट्टिएर बस्ने उनको चाहना थियो । श्रीमान् परिवार छाडेर बाहिर बस्‍न मानिरहेका थिएनन् । यत्तिकैमा दुवैमा विभिन्न शारीरिक र मानसिक समस्या देखिएछ । हुम्ला, सिमिकोटबाट आएका उनीहरू अहिले उपचारको लागि भौतारिरहेका छन् । 

के हो ‘एड्जस्टमेन्ट डिसअर्डर’ ? 

एड्जस्टमेन्ट डिसअर्डर अर्थात् समायोजन विकार भनेको समाहित हुन वा घुलमिल हुन नसक्ने समस्या हो । कुनै कुरा आफूले सोचेजस्तो नहुँदा यस्ता समस्या देखिन्छ । यो समस्या पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ । 

यो समस्या महिलालाई बढी हुनुका विभिन्न कारण छन् । नेपालजस्तो देशमा अधिकांश महिला बिहेपछि अरुको घरमा जानुपर्ने हुन्छ । एउटा वातावरणमा २५–३० वर्ष हुर्किएका उनीहरूलाई अरुको घरमा जाँदा एडजस्ट हुन गाह्रो हुन्छ । जसकारण कतिपय दम्पती सम्बन्ध विच्छेदको निर्णयसम्म पुग्छन् । हाम्रो समाजमा सम्बन्ध विच्छेदको कारणमध्ये एक एडजस्टमेन्ट डिसअर्डर पनि हो ।

मानिसहरूले आत्महत्या गर्ने पहिलो कारण डिप्रेसन मानिन्छ । त्यसपछिको दोस्रो कारण भनेको एडजस्टमेन्ट डिसअर्डर हो । आत्मनिर्भर हुन् वा परनिर्भर सबै खालका महिलालाई यो समस्या छ । एड्जस्टमेन्ट डिसअर्डर बिहे गरेर गएको घरमा यातना दिएर मात्र हुने होइन । परिवारका सदस्यले गर्ने व्यवहार, त्यहाँको वातावरण, हुर्काइ, सिकाइ र व्यक्तित्वले पनि फरक पर्छ । 

बिहेपछि आइपर्ने जिम्मेवारी, करिअरमा आइपर्ने बाधा र अड्चनले पनि धेरै महिलालाई यो समस्या देखिन्छ । बुहार्तन खेप्नुपर्ने ठाउँमा, कुलतमा फसेको श्रीमान् पर्दा, पैसाको तुजुक लगाउने परिवारमा महिलाहरूलाई एड्जस्ट हुन गाह्रो हुन्छ । यस्तो बेला उनीहरू न माइत नै जान सक्छन् न बिहे गरेको घरमा नै उनीहरू माइती जसरी बस्‍न सक्छन् ।
 
बिहेपछि मात्रै नभएर कतिपय महिलामा बच्चा जन्माइसकेपछि पनि एड्जस्टमेन्ट डिसअर्डर  हुन्छ । उनीहरू विगतको स्वतन्त्र जीवन, साथीभाइ आदि सम्झिन थाल्छन् । सहयोगी श्रीमान् परेन भने त झन् उनीहरूलाई धेरै नै गाह्रो हुन्छ । बिहेप्रति नै उनीहरूको नकारात्मक धारणा बन्छ । प्रेम विवाहभन्दा मागी विवाहमा यो खालको समस्या धेरै हुन्छ । 

सामान्य होइन ‘एड्जस्टमेन्ट डिसअर्डर’ 

घरमा श्रीमतीले मलाई एड्जस्ट हुन गाह्रो भइरहेको छ भन्दा धेरैको यत्तिकै टार्ने बानी हुन्छ । सुरु सुरुमा यस्तै हो भनेर धेरैले भन्छन् । कसैले गाह्रो भएको छ भन्छ भने उसले साँच्चै गाह्रो भएर भनेको हो । बिहेपछि अलि-अलि एडजस्टमेन्टको समस्या हुनु सामान्य हो । समय र परिस्थितिअनुसार कतिपय त्यही वातावरणमा घुलमिल हुन थाल्छन् । तर, सबैजना घुलमिल हुन सक्दैनन् । सामान्य रुपमा लिइने यो समस्याको परिणाम निकै खतरनाक हुन्छ ।
 
यो एकदमै बहस गर्नुपर्ने विषय हो । यस्तो समस्यामा परेका व्यक्तिहरूले आत्महत्याको बाटोसमेत रोज्‍ने गरेको पाइन्छ । उनीहरूमध्ये धेरैजनामा छटपटी हुने, रुन मन लाग्‍ने, चिटचिडाहट हुने, धेरै सोच्‍ने, अल्छी लाग्‍ने, निन्द्रा नलाग्‍ने हुन्छ । कतिजना आफ्नो निर्णयको पश्चातापले पनि पिरिन्छन् । जिन्दगी नै बर्बाद भयो भन्ने ठान्छन् । आफैंले आफैलाई हानी गर्छन् ।
 
त्यस्ता समस्या भएकालाई कसले सहयोग गर्ने ? कसले बुझिदिने ? हाम्रा केही हजुरआमा, आमा, काकीहरू माइत बसे । त्यसको कारणमध्ये एक एडजस्टमेन्ट डिसअर्डर पनि हो । यो साह्रै संवेदनशील समस्या हो । तर, सामान्य रुपमा लिएर धेरैले बिहे गरेर आएको सुरु सुरुमा हामीलाई पनि यस्तै भएको थियो भनेर टारिदिन्छन् ।

यस्तो अवस्था आउन नदिनको लागि परिवारले उसको कुरा सुनिदिनुपर्छ । उसलाई ‘जज’ गर्नुहुँदैन । यसो गर, त्यसो गर भनेर सिकाउनु हुँदैन । परिवारको भूमिका भनेको एड्जस्ट हुन सजिलो बनाइदिने हो । ऊ माइतीमा कस्तो खालको वातावरणमा हुर्किएको छ विचार गर्ने हो । रमाइलो माहोल बनाइदिने हो । घुम‍ने लैजाने हो । कुनै पनि हालतमा एड्जस्ट भएर बस्ने अवस्था छैन भने छुट्टै बस्‍ने वातावरण मिलाइदिनुपर्छ । 
 


Author

बासु आचार्य

आचार्य मनोविश्लेषक हुन् ।


थप समाचार
x