समाज

गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्च गरे आफ्‍नो पारिश्रमिक

इकागज |
भदौ ५, २०७८ शनिबार १७:३ बजे

पोखरा- गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे । 

कार्यक्रममा मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए ।  उनले भने, “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसके पश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुखमा म सँगै छु । गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । ” 


मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोहि अनुरुपको काम भइरहेको बताए । उनले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनु सबैको जीत भएको दाबी गरे । 

सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता जनाएका छन् । पोखरा २१ र ३३ नम्बर वडा दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले क्षेत्रको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताए । उनले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना कामकारबाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको प्रति जोड गरे । 

उनले नेपाली कांग्रेसको महाधिवेशन जुनसुकै समयमा पनि हुने भएकाले पूर्वतयारी अप्नाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।  क्षमताअनुसारको जिम्मेबारी दिने गरी यसपालीको महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । संघीय सरकारमा अवसर पनि राम्रा भएकाले त्यहि अनुरुपको प्रचारप्रसारमा दौडिन मन्त्री थापाले अनुरोध गरेका छन् ।  गण्डकी प्रदेश केपी शर्मा ओलीको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेस सहितको गठबन्धन सरकार सफल भएको तर्क उनको छ । 

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गरे । मन्त्री थापाको विषयमा आफुले धेरै गुनगान सुनिरहेको र यसलाई यथावन राख्ने गरी कामबाट गति लिनुपर्ने आवश्यकता रहेको प्रति उनको जोड थियो । आगामी निर्वाचनमा कांगे्रसको जीत सुनिश्चित हुने गरी काममै ध्यान दिनुपर्ने विषयलाई उनले उल्लेख गरेका छन् । 

नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे । उनले भने, ‘सरकार परिवर्तन भएको धेरै समय भएको छैन । तर कांग्रेस नेतृत्वको सरकारबाट देखिने गरी नै उल्लेखनीय काम भएका छन् । यसको मूल्यांकन हुनुपर्ने आवश्यकता छ ।’ पोखरा ३३ मा सरकार परिवर्तन भएपश्चात राम्रा परियोजनाहरुले गति लिइरहेको भनाइ उनको थियो । 


Author

थप समाचार
x