अस्पतालको भित्तामा मोटु–पत्लु र हात्ती (फोटो फिचर)
काठमाडौँ - साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालको ‘पेडियाट्रिक वार्ड’ यतिबेला झिलिमिली छ । भित्ताहरू मोटु पत्लुदेखि विभिन्न जनावरका चित्रले सजिएका छन् । ती भित्तालाई सजाएका हुन्, सिन्धुलीका अनिल खड्का र पर्वतका प्रज्ज्वल सुवेदीले ।
यो कक्षमा विभिन्न कारणले जलनमा परेका बालबालिकाहरूलाई उपचारका लागि राखिन्छ । ‘जलनको पीडा भोगेर अस्पताल आउने बालबालिकालाई थोरै मल्हम लगाउन सकियोस्, हामीले उनीहरू बस्ने ठाउँ सजाएका हौँ,’ अनिलले भने, ‘हामीले बालबालिकाको मनोभावना बुझेर पेन्टिङको माध्यमबाटै आशाका कथा कोरेका छौँ ।’
उसै पनि कार्टुन क्यारेक्टर मन पराउँछन् बालबालिका । तिनै बालबालिकाको मनोभावना बुझेर अनिल र प्रज्ज्वलले केही खाका तयार गरे । र, तिनै खाकालाई भित्तामा उतारे । उनीहरूले सजाएको भित्तालाई अस्पतालमा धेरैले मन पराएका छन् ।
अस्पतालमा उपचारसँगै त्यहाँको वातावरणको पनि उत्तिकै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ उनीहरू । ‘अस्पतालमा उपचारसँगै पीडा भुल्ने वातावरण पनि हुनुपर्छ,’ अनिलले भने, ‘उपचारका लागि आउने तिनै बालबालिकाको पीडा भुलाउन हामीले एक हप्ता लगाएर भित्ता सजाएका छौँ ।’
उनीहरू दुवैले ललितकला क्याम्पसमा सँगै चित्रकला पढेका हुन् । अनिल सानैदेखि चित्रकलामा रुचि राख्थे भने । प्रज्ज्वल भाग लिएको चित्रकलाबाट केही न केही उपहार लिएर मात्रै घर फर्किन्थे ।
कोभिडको समयमा अस्पताल गएर काम गर्नु चुनौतीपूर्ण थियो । तर, उनीहरूले आत्मसन्तुष्टिका लागि नै सही यो चुनौती स्वीकारे । स्वयंसेवकका रुपमा अस्पतालका भित्ता सजाए ।
कोठाभित्र गुम्सिएरभन्दा फिल्डमा काम गर्न मन लाग्छ अनिललाई । ‘भित्ताहरू मलाई ओपन क्यानभास लाग्छ,’ उनले भने, ‘कला बहुउपयोगी र समाजका लागि पनि काम लाग्ने हुनुपर्छ भन्ने लाग्छ ।’
यसबाहेक उनीहरू बाँच्नका लागि पनि चित्र कोर्छन् । त्यसको लागि उनीहरूले रोज्ने ठाउँ भनेको होटल र रेस्टुरेन्ट हो । ‘सन्तुष्टिका लागि यस्तै अस्पतालका भित्ता रंगाउँछौँ,’ प्रज्ज्वले भने, ‘बाँच्नका भने रेस्टुरेन्ट र क्याफेका भित्ता सजाउँछौँ ।’
चित्र बनाउँदा मेहनत र समय निकै दिनुपर्छ । चित्रै बनाएर आर्थिक रुपले टिक्न गाह्रो छ दुबैलाई । ‘चित्र बनाएर पैसा कमाइएला भन्ने त लाग्दैन,’ उनले सुनाए, ‘तर, यो काम गर्दा आउने मजा अरु कुनै काममा आउँदैन । तर, फ्रिमै गरिदिए हुन्थ्यो भन्ने मानसिकताले भने हतोत्साहित बनाउँछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया