समाज

श्रीमतिलाई एसिड प्रहार गर्ने सञ्‍जीवलाई १० वर्ष कैद सजाय

इकागज |
भदौ १०, २०७८ बिहीबार १८:२७ बजे

जनकपुरधाम- आफ्नै श्रीमतिमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजायसहित जरिवाना र क्षतिपुर्तिको फैसला सुनाएको छ ।बिहीबार जिल्ला अदालत धनुषाको बेन्च नम्बर ३ बाट न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड प्रहार गर्ने सञ्‍जीव साहलाई कैद सजायसहित ६ लाख ५० हजार जरिवाना र ६ लाख ५० हजार रुपैँया पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको हो ।

जनकपुरधाम - ७ जानकीस्थित ससुरालीमा बस्दै आएका साहले कात्तिक ७ गते दिपावलीका दिन आफ्नो श्रीमति आरती साहमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए । सो घटनामा सञ्‍जीवकी छोरी रिया साहसमेत घाइते भएकी थिइन ।


जिल्ला अदालत धनुषाले यसअघि साहलाई दोषी ठहर गरेको थियो भने सजाय आज सुनाएको हो । घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको थियो । घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

दुवै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा पोलेको थियो ।


Author

थप समाचार
x