समाज

मुख्यमन्त्री राउतको फोटो अंकित होर्डिंग बोर्ड जानकी मन्दिरबाट हटाइयो

सुभाष कर्ण |
भदौ १२, २०७८ शनिबार २०:१३ बजे

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो अंकित होडिङ बोर्ड जानकी मन्दिरबाट हटाइएको छ । राउतको फोटो राख्दै विभिन्न अभियानको नारासहित प्रचार–प्रसारका लागि मन्दिरमा झुण्ड्याई राखिएको होडिङ बोर्ड स्थानीय युवाले हटाएका हुन् ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी बचाउ बेटी पढाउ’ अभियानको नाराससहित मुख्यमन्त्री राउतको फोटो रहेको होडिङ बोर्ड युवाहरूले च्यातेर हटाएका छन् । ‘भ्रष्टाचारीहरूको होडिङ बोर्ड टाँगेर मन्दिर फोहर गर्न पाइँदैन,’ भन्दै स्थानीय युवाले उक्त होडिङ बोर्ड च्यातेर हटाएका हुन् ।  स्थानीय युवा सरोज मिश्रको अगुवाइमा शनिबार मुख्यमन्त्री राउतको फोटोसहितको होडिङ बोर्डसंगै सौर्य सिमेन्टलगायतका व्यापारिक प्रयोजनका होडिङ बोर्डसमेत च्यातेर हटाएका छन् ।


स्वच्छता अभियान र बेटी बचाउ बेटी पढाउको नाममा नाममा मुख्यमन्त्री लालबाबु राउतले करोडौं रुपैया भ्रष्टाचार गरेको र जानकी मन्दिरमा पोस्टर लगाएर मन्दिरलाई कुरुप बनाउन खोजेको ती बोर्डहरु हटाइएको अभियन्ता मिश्रले बताए । ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका नाममा मुख्यमन्त्री राउतले आफूनिकट व्यक्ति र पार्टी कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको तथा अनियमितताको अखाडा बनाएकोले यस्ता भ्रष्टाचारसँग आबद्ध अभियानको पोष्टर मन्दिरमा लगाउनु अनुचित रहेकोले आफूहरूले होर्डिङ बोर्ड च्यातेर फालेको मिश्रले बताए । 

जानकी मन्दिरलगायत कुनै पनि धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकिय महत्त्व बोकेका सम्पदापरिसरमा व्यवसायिक वा गैरव्यवसायिक प्रचार–प्रसार होडिङ बोर्ड लगाउन नपाउनेसमेत मिश्रले जानकारी गराए । ‘कुनै पनि प्रकारका धार्मिक र सांस्कृतिक महत्त्व बोकेका सम्पदा क्षेत्रभित्र वा पर्खालमा धार्मिक प्रचारबाहेक अन्य कुनै पनि किसिमको व्यानर, पर्चा, होडिङ बोर्ड लगाउन पाइने छैन,’ उनले भने, ‘झन् भ्रष्टाचारी क्रियाकलापलाई प्रश्रय दिने प्रकारका प्रचार सामग्री कहिंकतै पनि टाँस्न नहुने हाम्रो भनाइ हो । यदि यस्तो गरेको पाइए हामी युवा त्यस कदमको विरोधमा उत्रने छौं ।’ 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x