समाज

कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि बन्द हुने

इकागज |
भदौ १३, २०७८ आइतबार १६:४४ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । 

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोभिड १९ महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । 


यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौँ ।” मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ । 

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौँ।” 

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताए ।  

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । 

कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ । पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ । 

कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे ।

सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ । रासस 


Author

थप समाचार
x