आफन्तकाे आश
‘मृत्यु भए बिर्सिन्थ्यो होला, तर बेपत्ता भनेपछि मनमा आलै बस्ने रहेछ’
काजकिरिया गर्न कम्तिमा मर्यो भनेर भनिदिए पनि हुन्थ्यो नि !
पोखरा - सिउँदोमा सिन्दूर । हातमा चुरा, निधारमा सानो रातो टिका । कपडा चाहिँ खरानी रङको । आइतबार जिल्ला प्रहरी कार्यालय, कास्कीको भवनमा यही पहिरनमा पसिन् तनहुँ शुक्लागण्डकीकी आरती शर्मा । शरीरमा रंगिन चुरा र टिका लगाएपनि मन भने बेरङ छन् । उनको मनमा भने डम्म कालो बादल छाएको छ । २० वर्षदेखि ती बादलले आँखाबाट हजारौं पटक वर्षात् गराएका पनि पूरै निख्रिएको भने छैन ।
उनका श्रीमान् टंकप्रसाद शर्मा २०५८ माघदेखि बेपत्ता छन् । न त उनको सास नै भेटिएको छ, न त लास नै । आफ्नै घरमै बसिरहेका शर्मालाई माओवादी शसस्त्र द्वन्द्वकालमा नेपाली सेनाका केही व्यक्ति आएर सोधपुछका लागि भन्दै लगेका थिए । सोधपुछका लागि लगिएका टंकलाई अझै फर्काइएको छैन । आरती भन्छिन्, ‘सुतिरहेका बेला आएर कपडा पनि लगाउन नदिई क्याप्टेन उत्तम थापाहरु आएर लगे, सोधपुछ गरेर पठाउँछु भन्थे, २० वर्षसम्म पनि नसकिएको होला र ?’
श्रीमानलाई सेनाले लगेपछि श्रीमान फर्किने आशमा दिनहुँ बाटो हेर्न थालिन् । बाटोमा नगन्य व्यक्ति सवार भए, तर टंकप्रसाद फर्किएनन् । आरतीले आशा भने मारिनन् । आशा अझै मरेको पनि छैन । तर छिमेक, प्रशासनको जवाफले भने उनको मनमा आशाको डोरी पातलिँदो छ । ‘सबैले भन्छन् अब फर्किन्न, रातो नलगा भनेर । आशा घट्दो छ, तर पूरै मरेको चाहिँ छैन,’ उनले भनिन् ।
श्रीमान् वर्षदिनसम्म पनि नफर्किएपछि आरती माइतीघर गइन् । कर्मघरमा एक छोरीबाहेक उनको कोही थिएनन् । सासु–ससुरा पहिल्यै बितेका । शुक्लागण्डकी ४ गाछेपानीमा माइती घर बसेर एउटा सानो किराना पसल थापेर जीवन धानिन् । छोरी हुर्काइन् ।
बुबालाई सेनाले सोधपुछका लागि भनेर लैजाँदा छोरी ७ महिनाकी थिइन् । छोरीले त्यो घटना भेउ पाउने कुरै भएन । छोरी स्कुले नहुँदासम्म बुबालाई खोजिनन् । तर स्कुलमा साथीहरु, शिक्षक शिक्षिकाले जब बुबाका बारेमा सोध्थे, कुरा गर्थे, छोरी घर गएर आरतीसँग बुबाको बारेमा सोध्थिन् । आरतीले बुबा भारत गएको र पैसा कमाएर फर्कने रुन्चे जवाफ दिन्थिन् । ‘छोरीलाई वर्षौंसम्म ढाँटे । आँसु लुकाएर उसलाई बुबा भारत हुनुहन्छ भन्थें, अहिले बुझ्ने भइ, मलाई साथ दिने ऊ मात्र छे,’ आरती भक्कानो छाड्छिन् ।
बेपत्ता भएको २० वर्षसम्म उनले श्रीमानको खोजी गरिरहेकी छन् । बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगदेखि जिल्ला प्रशासन, प्रहरी, राजनीतिज्ञ सबैको ढोका ढकढक्याएकी छन् । तर कसैकतैबाट भने श्रीमानको अवस्था बारे जानकारी पाउन सकिनन् । ‘नगएको ठाउँ छैन, नरोएको दिन छैन, सास त यतिका वर्षसम्म पाउन सकिनँ, कम्तिमा लास त देउ, अझै कति आँसु बगाउँ ?’ उनको प्रश्न छ ।
श्रीमान बेपत्ता भएकाले उनको नाममा परिचयपत्र दिइएको छ । तर परिचयपत्रले श्रीमानको झल्को मेट्दैन । ‘परिचयपत्र दिएका छन्, झल्को मेटिन्नँ नि, झनै याद आउँछ, पहिला नि शेरबहादुर देउवा प्रधानमन्त्री थिए, अहिले पनि उनै छन्, खोजेर ल्याइदिन्छन् कि,’ उनले भनिन् ।
पोखरा ३० बुढीबजारका अणनाथ बराल (६०) को मन झस्किरहन्छ । कसैले ढोका हानेको जस्तो, कतैबाट बोलाइरहे जस्तो महसुस हुन्छ । उनी रातिमा झनै बढी झस्कनन्छन् । घरिघरि मूलढोका हेर्न पनि पुग्छन् । छोरा नेत्रप्रसाद बराल बेपत्ता पारिएदेखि उनी बेचैन छन् ।
नेत्रप्रसादलाई सुरक्षा फौजको टोलीले लैजाँदा पनि बुबा अणनाथले देख्न पाएनन् । नेत्रलाई साथीको घरबाट बिहान ५ बजे फौजले लगेको थियो । २०६० कात्तिक १९ गतेदेखि उनी बेपत्ता छन् । नेत्रप्रसादलाई २०६० पुस ११ गते हिरासत सरुवाका क्रममा गोरखा लगिएको थियो । २०६२ साल कात्तिकसम्म गोरखा राखिएका बरालले त्यस अवधिमा हिरासतबाट परिवारलाई पत्राचारसमेत गरेका थिए । त्यसपछि उनी अहिलेसम्म बेपत्ता छन् ।
न त मृत्युको खबर नै दिइएको छ न त जिउँदो शरीर नै । अणनाथलाई लाग्छ, चाडपर्व कहिल्यै नआओस् । ‘खाइखेलि हुर्किएको छोरो कहाँ छ पत्तो छैन, चाडबाडमा त सम्हालिनै सक्दिनँ । छोराले डाँको छाड्दै बोलाए जस्तो लाग्छ, झस्केको झस्क्यै भइरहन्छु,’ अणनाथ भन्छन् ।
छोरा बेपत्ता हुँदा मृत्यु भएको भन्दा बढी पिडा हुने गरेको उनको अनुभव छ । उनलाई अब थाहा छ, छोरा फर्कदैनन् । तर लास पनि नपाएपछि काजकिरिया गर्न मन मान्दैन । काजकिरिया नगरी बस्दा पनि मन मान्दैन । ‘मृत्यु भएको भए बिर्सिन्थ्यो होला, तर बेपत्ता भनेपछि मनमा आलै बस्ने रहेछ, मनले अब काजकिरिया गर भन्छ, काजकिरिया गर्न कम्तिमा म¥यो भनेर भनिदिए नि हुन्थ्यो,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया