समाज

काठमाडौँ उपत्यकाको फोहोरमैंला व्यवस्थापन

दुई सातासम्म विद्यासुन्दर तातेनन्, देउवाले फोहोरका डंगुर देखेनन्

अतिन आचार्य |
भदौ १४, २०७८ सोमबार २०:१० बजे

काठमाडौँ- हरेक वर्ष फोहोर नउठ्ने समस्या बारम्बार दोहोरिरहन्छ । वर्षा, बाटो निर्माण नहुँदा तथा उपत्यकाको स्थानीय तहमा फोहोरको डंगुर थुप्रिएपछि दिनप्रतिदिन दुर्गन्ध बढ्दै जान थालेको छ । फोहोर नउठनुमा मुख्यतया: उपत्यकाको सबै स्थानीय तह बढी जिम्मेवार छन् । समयमा बाटो निर्माण नहुनु र दीर्घकालिन विकल्प नखाेज्दा वर्षेनी वर्षामा उपत्यकाको सडकमा फोहोर थुप्रिन थाल्छन् ।

काठमाडौँका सडकमा पुनः यही समस्या देखिएको छ । सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोरमाथि बनेको सडकमा फोहोर बोकेका गाडी फसेपछि फोहोर डम्पिङ साइटमा पुर्‍याउन सकिएको छैन । फलस्वरुप काठमाडौं उपत्यकामा फोहोरको डंगुर लागेर दुर्गन्ध फैलिएको छ । महानगरको फोहोर उठ्न नसकेकोमा अब यो जिम्मेवारी कसको ? मेयर विद्यासुन्दर शाक्यको कि प्रधानमन्त्री शेरबहादुर देउवाको ? 


मेयर शाक्यले लगातारको वर्षातका कारण ल्याण्डफिल्ड साइटको बाटो धसिएर फोहोरका गाडी फसेकाले उक्त बाटो निर्माण गरिदिन प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । अर्बौं राजस्वको स्रोत भएको स्रोतसम्पन्न महानगर भएपनि कार्यविभाजनको हिसाबले ल्याण्डफिल्ड साइटको बाटोका लागि उनले प्रधानमन्त्रीको सहयोग खोज्नुलाई अस्वभाविक मान्न सकिन्नँ । 

समस्याको सुलह हुने टुंगो छैन । फोहोर नउठेको १५ दिनपछि बल्ल मेयरले प्रधानमन्त्रीलाई पत्र लेखेर ल्याण्डफिल्ड साइटको बाटो निर्माण गराइदिन आग्रह गरेका छन् । जब फोहोर नउठेर मेयरको आलोचना हुनथाल्यो, त्यसपछि भने उनले समस्याको सुई संघीय सरकारतिर फर्काए । मेयरले शुरुमै यो समस्या समाधानका लागि पहल गरेनन्, प्रधानमन्त्रीले पनि काठमाडौंका सडकमा थुप्रिएका फोहारका डंगुर देखेनन् । 

आजै मेयरले प्रधानमन्त्रीलाई पत्र लेखेर सडक बनाइदिन गुहार गरे । प्रधानमन्त्री देउवाले तुरुन्तै सडक विभागका महानिर्देशकलाई निर्देशन दिएछन्, ‘ल, भोलि नै ल्याण्डफिल्ड साइटको बाटो बनाइहाल्नू !’ 

फोहोर उठेको छैन, तर सडकमा फोहोर थुपार्न आउँछन् उपत्यकाबासी 

यसैगरी महानगरबासीलाई सडकबाट फोहोर नउठेको पनि थाहा छ। तर, उनीहरूलाई घरमा फोहोर राख्‍नुभन्दा सडकमा रहेको डंगुरमाथि फोहोर फाल्नमा आनन्द हुन्छ  र गर्व पनि त्यसैमा छ ।  किनभने घरभन्दा सडकमा फोहोर राख्दा घर सफा हुने उनीहरूलाई विश्‍वास छ । सहर फोहोर नदिन नागरिकको जति कर्तव्य हुन्छ, सहरलाई स्वच्छ तथा सफा राख्‍न पनि नागरिक उत्तिकै जिम्मेवार छन् ।

चोकमा अरुको घर अगाडि फोहोरको डंगुर थुपारिदिन थालेपछि अहिले टोल सुधार र फोहोर फाल्न आउनेहरूबीच झैझगडा समेत भैरहेको छ । न काठमाडौँ महानगरपालिकालाई यसकाे वास्ता छ । दैनिक १५० वटा फोहोरको ट्रक पुग्‍ने ठाउँमा हिजोआज एउटा पनि फोहोरको गाडी अफलोड हुन सकेको छैन । हिलाम्मे बाटोका कारण बिच सडकमा फोहोरका सवारीसाधन अडकेका छन् । जसका कारण सहजै उपत्यकाको फोहोर बाहिरिन सकेको छैन ।

आज मात्र विरोधस्वरुप केही युवाहरूले बागदरबारस्थित महानगरको गेटमा फोहोर लगेर फालिदिएका छन् । बाजा बजाएर कर उठाउन खोज्‍नेले बाटोको फोहोर उठाउन बिर्सेको भन्दै उनीहरूले गेटमा फोहोर फालेका थिए । सडकमा फालिएको फोहोर बिस्तारै उठाउन थालिएको छ । फोहोर उठेसँगै दुर्गन्ध फैलन थालेको छ । दुर्गन्ध फैलन नदिन डिसइन्फेक्सन नगरी मानव स्वास्थ्यमा हानिसमेत गर्ने भएको छ । पूर्व तयारी बिना फोहोर संकलन गर्दा महानगरबासी र पैदलयात्रीको स्वास्थ्यमा जोखिम हुने भएको छ ।

फोहोर व्यवस्थापन गर्न स्थानीय सरकारको सक्रियता हुनुपर्ने तर,यतिखेर बाटो अवरुद्ध भएको कारण देखाउँदै फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै महानगर विज्ञप्ति निकाली बसिरहेको छ । सोमबार काठमाडौँ महानगरपालिकाको प्रधानमन्त्री शेरबहादुर देउवालाई एक पत्र लेखी बन्चरे डाँडामा निर्माणाधिन स्यानटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण भएको छैन । सो क्षेत्रसम्म पुग्‍ने बाटो निर्माण हुन नसक्दा उपत्यकाको फोहोर उठन सकेको छैन र फोहोरमैला व्यवस्थापनमासमेत अवरोध भएको छ ।

 जहिल्यै समस्या परेपछिमात्र तात्‍ने महानगर 

सिसडाेलमा याे समस्या नयाँ हाेइन । हरेक वर्षजसो वर्षातमा यस्तो समस्या आउँछ । तर यसपालि मेयर विद्यासुन्दर शाक्य फोहोर नउठेको दुई सातासम्म कानमा तेल हालेर बसे । ल्याण्डफिल्ड साइटमा समस्या हुँदा उनी बाजागाजासहित कर उठाउने घरदैलो अभियान गर्न व्यस्त थिए ।  दुई वर्षका लागि महानगरपालिकाले २०६२ सालदेखि सिसडोलको जग्गा अधिग्रहण गरे पनि अहिलेसम्म दीर्घकालीन रुपमा समस्याको समाधान गर्न सकेको छैन । सिसडोलमा काठमाडौँ महानगर लगायत अन्य २० वटा स्थानीय तहको फोहोरमैला व्यवस्थापन भइरहेको छ ।

संघीय राजधानी काठमाडौँको चोक-चोकमा भएको फोहोर व्यवस्थापनमा महानगरले ध्यान दिन सकेको छैन । महानगरले वर्षैपिच्छे अर्बौ रुपैयाँ राजश्व संकलन गर्छ तर, फोहोर व्यवस्थापनका लागि १६ वर्षसम्म पनि वैकल्पिक स्थान खोज्‍न सकेको छैन ।

सिसडाेल क्षेत्रमा १७९० रोपनी जग्गा अधिग्रहण गरेकाे लामाे समय बितिसकेपनि त्यसलाइ उपयाेग गर्न सकेकाे छैन । बाटोमा फोहोर थुप्रिएको छ तर, महानगर अहिले करदाताको घरआँगनमा राजश्‍व संकलन गर्न बाजा बजाउनमा व्यस्त छ । संकलन भएको राजश्‍वले समयमा महानगरले समयमा सडक निर्माण गर्न सक्थ्यो । तर, अहिले शक्तिशाली काठमाडौँ महानगरपालिकाले सरकारसँग सडक निर्माण गरिदिन बाटो फैल्याउन थालेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अहिले फोहोर उठ्न नसक्नुमा मुख्य कुरा बाटो अवरुद्ध रहेको बताउँछन् । सिसडोल क्षेत्रमा अत्यधिक वर्षा भएका कारण बाटो बिग्रेका कारण सहजै फोहोर गाडी जान नसकेको उनको भनाइ छ । सिसडोल क्षेत्रमा महानगरले ठूलो धनराशी खर्च गरिसकेको उनले दाबी गरे ।

फोहोरमाथि बनेको सडकमा अहिले सयौँ गाडी ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेकोले वर्षा भइरहेकोले गाडी जान नसकेको शाक्यले बताए । महानगरले विगतमा पनि नेपाल सरकारको विभिन्न निकायसँग सहकार्य गर्ने गरेको शाक्यकाे भनाइ छ । 'दुई वर्षका लागि फोहोर राख्‍न ठाउँ खोजे पनि १६ वर्षसम्म राख्‍दा मैले गाली खाइ रहनु परिरहेको छ,' उनले भने,' सरकारका निकायले अर्को डम्पिङ साइट बनाइरहेका छन् । दुई वर्षससम्म राख्‍ने अनि त्यसपछि लानेगरी काम भएको थियो तर अहिलेसम्म त्यसले पूर्णता पाएन ।'

उपत्यका नगरपालिका फोरमका तर्फबाट समयमा निर्माण गरी पहल गर्न गएको शाक्यले जानकारी दिए । उपत्यकाको सबै स्थानीय तहमा फोहोर थुप्रिएको उनको भनाइ छ । दीर्घकालिन समाधान गर्न संघ र प्रदेश सरकार लाग्‍नुपर्ने उनको ठहर छ । फोहोर व्यवस्थापन गर्ने जिम्मा महानगरको मात्र नभएको उनकाे भनाइ छ । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x