समाज

काठमाडौंका सडकमा थुप्रिएको फोहोर मेयरलाई  ‘उपहार’

इकागज |
भदौ १४, २०७८ सोमबार २०:१९ बजे

तस्बिरहरू : अनुज बज्राचार्य / इकागज

काठमाडौँ – काठमाडौं महानगरक्षेत्रमा थुप्रिएको फोहोर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ‘उपहार’ स्वरूप पठाइएको छ । युथ कांग्रेस नेपाल नामक संस्थामा आवद्ध युवाले सोमबार सुन्धारास्थित महानरगको केन्द्रीय कार्यालयको मूल गेटमा फोहोर फाल्दै मेयरलाई, ‘उपहारस्वरू फोहोर दिइएको,’ बताएका छन् ।

‘करिब एक महिनादेखि काठमाडौंका चोकचोक र सडकमा फोहोरको डंगुर थुप्रिएपछि सर्वसाधारणलाई स्वास फेर्नसमेत गाह्रो भएको छ,’ संस्थाका एक सदस्यले भने, ‘त्यसैले तत्काल फोहोर उठाउन ध्यानाकर्षण गराउँदै हामीले मेयरसा’बालाई फोहोर उपहार पठाएर रचनात्मक विरोध जनाएका हौं ।’


नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट पुग्ने सडक वर्षाका कारण बिग्रिएको र स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन नसकिएको काठमाडौं महानगरपालिकाले बताउँदै आएको छ । काठमाडौंमा थुप्रिएको फोहोर तत्काल उठाएर महानगर सफा राख्न काठमाडौं महानगरलाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ ।

मेयर शाक्यले केही दिनमै फोहोर उठाइने आश्वासन दिँदै सडकमा जथाभावी फोहोर नफ्याँक्न महानगरबासीलाई आह्वानसमेत गरेका छन् । काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाका १८ वटा नगरपालिकाले सिसडोलमा करिब २ दशकदेखि अस्थायी रूपमा फोहोर फ्याँक्दै आएकोमा ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्था गर्न केन्द्रीय सरकारलेसमेत ध्यान दिएको छैन । 


Author

थप समाचार
x