राधाकृष्ण खटयात्रा आज, भिडभाड रोक्न समय गोप्य
विराटनगर- श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा कोभिड-१९ को महामारीका कारण यो वर्ष पनि खटयात्रामै सिमित गरिएको छ । रथयात्रा गर्दा मानिसहरूको भिडभाड हुने भएकोले त्यसलाई निरुत्साहित गर्न आयोजक समितिले आज खटयात्रा निकाल्दैछ । भक्तजनहरूको भिड लाग्ने भएकोले खटयात्राको समय समेत गोप्य राखिएको छ ।
अघिल्लो वर्षको भन्दा केहि फरक हुने गरी यस वर्ष रथयात्रा गर्न लागिएको राधाकृष्ण मन्दिरका कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । उनले कोभिडकै कारण विगत वर्षको जस्तो झाँकीसहितको रथयात्रा नहुने बताए । ‘यस वर्ष पनि रथलाई मान्छेले तान्ने छैनन्, एउटा गाडीलाई विशेष रुपमा सजाएर त्यसैमा राधाकृष्णको प्रतिमा राखेर विराटनगर बजार परिक्रमा गराइनेछ’ उनले भने ।
राधाकृष्ण मन्दिरबाट सुरु हुने खटयात्रा मेनरोड हुँदै रोडषेश चोक पुग्नेछ । त्यहाँबाट कोशी राजमार्ग अन्तरगत महेन्द्रचोक-बरगाछी-कन्चनबारी-आयल निगम हुँदै राजवंशी चोकसम्म पुग्ने जनाइएको छ । राजवंशी चोकबाट पुष्पलाल चोकतर्फ घुमाएर पुनः विराटनगर-१ तिनपैनीस्थित राधाकृष्ण मन्दिर पुगेर रथयात्रा समापन गरिने ओझाले बताए ।
राधाकृष्ण रथयात्रा वि.सं. १९८८ मा खटयात्राबाट सुरु भएको थियो । वि.सं. २०२४ सालदेखि मात्रै रथयात्रामा परिणत गरिएको थियो । विराटनगरमा यस पटकको खटयात्रा ५४औं संस्करण हो । विगत वर्षहरूमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा हिन्दु धर्मावलम्बीहरूका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र महत्वका साथ लिन थालिएको थियो ।
रथयात्रामा नेपाल र भारतबाट पाँच लाखसम्म भक्तजनहरू सहभागी हुने गरेका थिए । तर कोभिड महामारीका कारण दुई वर्षयताको रथयात्रा भने औपचारिकता मात्रै सिमित बनेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया