कर्णालीमा किचलो
बदनाम खेप्ने, तर आरोपित मन्त्रीलाई बर्खास्त नगर्ने ‘मुड’मा मुख्यमन्त्री
फाइल फोटो
काठमाडौँ : एक महिलालाई बलात्कार गरेको आरोप लागेका कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त नगर्ने संकेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएका छन् । गएको हप्ता एक महिलालाई बलात्कार गरेको आरोप मन्त्री शाहीमाथि लागेको थियो । सो आरोप लागेपनि मन्त्री शाहीमाथि कुनै छानबिन र कारबाही अघि बढाइएको छैन । मुख्यमन्त्री र आरोपित मन्त्री दुवैजना कालिकोटका हुन् ।
आरोपित मन्त्री शाही तिनै व्यक्ति हुन्, जसले गएको बैशाख ३ गते एमालेबाट चार जनासहित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये शाहीसहित तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । एमालेले कारबाही गरेपछि उनीसहित फ्लोर क्रस गर्ने तीनै जनाले सांसद पद गुमाइसकेका छन् । हाल उनीहरु माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा छन् ।
दुई वर्षअघि महिलामाथि विवादित बलात्कार गरेको भनिएको भिडियो भाइरल भएपछि मुख्यमन्त्रीकै गृहजिल्लाका मन्त्री शाहीको आलोचना र मन्त्रीपदबाट राजीनामा दिनुपर्ने माग बढ्दो छ । तर उनले राजीनामा दिएका छैनन । मुख्यमन्त्री शाहीले पनि आरोपित मन्त्रीलाई कारबाही वा बर्खास्त गर्न सकेका छैनन ।
यसले कर्णाली प्रदेश सरकारलाई नै बदनाम बनाएको गुनासो बढ्दो छ । प्रमुख प्रतिपक्षी दल एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आरोपित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शनसहित मुख्यमन्त्री शाहीसमक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।
तर पनि मुख्यमन्त्री शाहीले पीडित महिलाको संरक्षण, आरोपितमाथि छानबिन र बर्खास्त गर्ने काम नगरेको आरोप छ । उल्टै विवादित र आरोपित मन्त्रीको संरक्षण गरेको आरोप लागिरहेका बेला मुख्यमन्त्री शाहीले कुनै कदम नचाल्नुले यो विवाद रहस्यमय बनेको छ ।
हामीले सोध्यौँ आखिर किन मुख्यमन्त्री चुप छन् ?
मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जवाफ दिँदै भने, ‘यसबारे तत्काल कुनै कदम चाल्ने सम्भावना देखिदैन । छलफल चलिरहेको छ । परामर्श भइरहेकै छ ।’
हामीले फेरि सोध्यौँ, ‘प्रदेश सरकार बदनाम भइरहने मुख्यमन्त्री चुप लागेर बस्ने पनि हुन्छ ?’
जवाफमा उनले भने, ‘यसबारे मुख्यमन्त्रीज्युँको केही कुरा आएको छैन । उहाँले थप केही कदम चाल्नुभयो भने भनौँला ।’
मुख्यमन्त्री शाही यसरी चुप लाग्नुका पछाडि पीडित भनिएकी महिलाले नै आफूमाथि गलत आरोप लगाइएको सामाजिक सञ्जालमा लेखेकी थिइन् । जसकारण मन्त्री शाहीमाथि लागेको गम्भीर आरोप झन् विवादित बनेको छ ।
बलात्कार आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा गर्न दबाब बढेपनि उनले राजीनामा दिन अस्वीकार गरेपछि यो विषय झन् आलोचित बनेको हो । मंगलबारदेखि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मन्त्री शाहीले महिलालाई बलात्कार गरेको भनिएको भिडियो नै भाइरल भएपछि बुधबार उनले सुर्खेतमा पत्रकार सम्मेलन नै आयोजना गरे ।
पत्रकार सम्मेलनमा उनले महिलालाई बलात्कार गरेको भनिएको भिडियोमा देखिएको व्यक्ति आफू नै भएको स्वीकार गरेका छन् । तर आफूलाई योजनाबद्ध ढंगले फसाइएको र कुनै हालतमा राजीनामा नदिने बताएका छन् । यसले सामाजिक सञ्जालमा आरोपित मन्त्री शाही र कर्णाली प्रदेश सरकारको आलोचना बढ्दो छ ।
स्मरण रहोस, तत्कालिन सभामुख कृष्णबहादुर महराले सचिवालयकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि तत्काल पदबाट राजीनामा दिएका थिए । तर पीडित भनिएकी महिलाले बयान फेरेपनि बलात्कार मुद्दामा अदालतले महरालाई जेल सजाय सुनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया