समाज

‘...अनि सिलिन्डर लिएर जुम्ला पुगें’

जितेन्द्र थापा |
भदौ १७, २०७८ बिहीबार २०:५२ बजे

सुर्खेत – वीरेन्द्रनगरका सुजल सापकोटा (१८) को तन मन कर्णालीका कुना कन्धरामा छ ।  ०७४ सालमा काष्ठमण्डप विद्यालय मण्डिखाटार काठमाडौंबाट एसइइमा ४ जिपिए ल्याएर उत्तीर्ण हुने पहिलो मेधावी विद्यार्थीसमेत हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा घर भए पनि उनको कर्मथलो संघीय राजधानी काठमाडौंमा छ । उनी कर्णालीका बोल्न नसेकेका र स्वास फेर्न नसक्नेहरूका लागि कर्णाली आउ–जाउ गरिरहन्छन् । रोग भोग र अभावमा खड्कििएको कर्णालीमा उनीजस्ता मनकारी युवा सायदै भेटिन्छन् ।


उनी गरिब असहाय र वृद्धको दुःख देख्न सक्दैनन् । अशक्तहरूको दैनिकी देखेर भावविह्वल हुन्छन् । कोरोनाबाट थलिएको कर्णाली गरिबी रोग भोगबाट थलिएको छ । त्यसैमाथि कोरोनाले सास लिनसम्म मुस्किल भएका बेला सास दिन्छन् सुजल ।

कर्णाली विकट छ भनेको सुन्नुपर्दा उनलाई तीतो लाग्छ । ‘कर्णाली त्यो स्वर्ग हो जो कसैले सहजै अनुभुति गर्न सक्दैन । कर्णालीमा स्वर्गको अनुभूति गर्न यहाँका उकाली ओराली, भञ्ज्याङ, चौेतारी र लेक–वेँशी र खर्कमा डुल्नुपर्छ,’ उनी सुनाउँछन्, ‘कर्णालीे पवित्रभूमि हो जहाँ सङ्लो जलसँगै यहाँका मान्छेको मन पनि पवित्र छ । न त महल ठड्याउन चाहन्छन् नत कुनै लोभ लालच नै छ । आफ्नै झुपडीमा आटो ढिँडो खाएर शान्तिसँगै आफ्नो बाल्यकाल, युवाअवस्था र वृद्धवस्था कर्णालीमै बित्छ । विभिन्न तहका कर्मचारीले कर्णाली दुर्गम छ, त्यहाँ जाँदैनौं भनेको सुन्दा दिक्क लागेर आउँछ ।’

केही साताअघि मात्र सापकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन सिलिन्डर आफैं लिएर पुगे । उमेरले कलिलै भए पनि आफ्ना दिन यसरी नै समाजसेवामा अर्पण गर्ने उनको धोको छ । केही समयअघि मात्र उनी काठमाडौंबाट २० लिटरका २० थान अक्सिजन सिलिन्डरसहित उपचाररत विरामीलाई सास दिन जुम्ला पुगे ।

‘कोरोनाकालमा अक्सिजनको चरम अभाव देखिएको छ,’ उनले भने,’ यस्तो अवस्थामा अहिलेदेखि अक्सिजन सिलिन्डरको जोहो गर्नाले पछि धोका पाइँदैन । ढुक्क रूपमा सास लिएर अन्तिम विदाइका हात हल्लाउन पाउन् ।’ थोपा-थोपा मिलेर नदी सागर हुँदै समुन्द्र बन्नेमा उनको विश्वास छ । त्यसैले समाजसेवामा सबैले हातेमालो गर्न उनको आग्रह छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको सहयोगमा प्राप्त अक्सिजन सिलिन्डर ल्याएर जुम्ला पुगेका सुजलले कोभिड महामारीबाट कसैले पनि अक्सिजन अभावका कारण मुत्यु हुन नपरोस भन्ने मान्यता रहेको प्रतिक्रिया दिए ।

‘कोरोनाको तेस्रो भेरियन्ट आइसकेको छ । यसले बालबालिकालाई प्रभावित बनाउने विज्ञहरूले बताएका छन् । कर्णालीका बालबालिकालाई थोरै भए पनि राहत मिलोस भनेर अक्सिजन सिलिन्डर प्रदान गरिएको छ,’ सुजलले भने । 

अक्सिजन सिलिन्डर सहयोग गर्न सुजल र डा. सुहेल सापकोटाले युगान्डास्थित एनआरएनएसँग पहल गराएका थिए । ‘भौगोलिक रूपमा कर्णाली दुर्गम छ । दुर्गममा अवस्थित अस्पतालमा अक्सिजन दिँदा धेरैभन्दा धेरै बिरामीले उपयोग गर्ने विश्वास छ । कर्णालीमा अक्सिजन अभावले बिरामी छटपटिरहेको समाचार सुन्नुपर्ने बाध्यता छ । यो देखेर एनआरएनएसँग समन्वय गरेर अक्सिजन प्राप्त भएको हो,’ सुजलले सुनाए, ‘यो ठाउँमा अक्सिजन सिलिन्डर ल्याउन पाउँदा उत्साहित छु ।’

काठमाडौं माइतीघरस्थित सेन्टजेभिएर्स कलेजमा साइन्स विषय अध्ययनरत सुजल डक्टर बन्ने बाटोमा अग्रसर छन् । ‘भविष्यमा डक्टर बन्ने धोको छ । त्यही भएर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ध्यान कन्द्रित गरिरहेको छु । अहिलेदेखि नै बिरामीको सेवा गर्ने इच्छा जागेको छ,’ उनले भने ।

डा.सुहेल र सुजलका बुबा यामबहादुर सापकोटा सापकोटा जुम्लास्थित नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् । एनआरएनए युगान्डाकै सहयोगमा बाहिनीपति सापकोटाले यसअघि ४० लिटरका १० वटा सिलिन्डर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई हस्तान्तरण गरिसकेका छन् ।
‘छोराहरूले यसरी नै समाजसेवी भएको हेरिरने धोको छ,’ उनले भने । बाहिनीपति सापकोटाले कोरोना संक्रमित बिरामीहरूका लागि १० थान अक्सिजन सिलिन्डर  हस्तान्तरण गरेका थिए । अक्सिजन सिलिन्डरले बिरामीको जीवन बचाउन योगदान पुर्‍याएकोे छ । 


Author

थप समाचार
x