कस्तो हुन्छ स्वस्थकर तीजको दर ?
तीजको अघिल्लो दिन महिलाहरूले खाने दरिलो वा आडिलो भोजनलाई दर भन्ने चलन छ । भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ । स्थानअनुसार दरका परिकारहरू फरक-फरक हुन्छन् । कसैले माछामासु खान्छन्, कसैले दुग्ध पदार्थ । तर, दरका नाममा शरीरले थेग्नै नसक्ने गरी खानेकुरा खानुहुन्न । त्यसले झाडापखालादेखि पेटमा अनेक स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले, दर भन्दैमा एकैपटक धेरै खानेकुरा खानुहुँदैन । आफ्नो शरीरले जति पचाउन सक्छ त्यतिमात्र खानुपर्छ ।
दरमा के खाने ?
दर भन्ने बित्तिकै मिठो र मिठो भन्ने बित्तिकै बजारिया खानेकुरा भन्ने सोच धेरैमा छ । तर, दरमा बजारका खानेकुराभन्दा घरमा बनाइएका खानेकुरा खानु स्वस्थकर हुन्छ । धेरै महिलाहरू तीजमा निराहार ब्रत बस्छन् । यसरी ब्रत बस्नुभन्दा पहिला दुग्ध पदार्थहरू जस्तैः दूध, दही, मोही, घ्यू जस्ता खानेकुरा खानुपर्छ । यस्ता खानेकुराले शरीरलाई लामो समयसम्म शक्ति दिन्छ । त्यस्तै, आफ्नो रोजाइअनुसारको फलफूल र अन्नबाट बनेका विभिन्न परिकार पनि बनाएर खान सकिन्छ ।
के नखाने ?
दरमा धेरै चिल्लो र मरमसला हालेर बनाइएका खानेकुरा खानुहुँदैन । अघिल्लो दिन तेलमा तारेको खानेकुरा खाएर भोलिपल्ट ब्रत बस्दा त्यसले स्वास्थ्यमा असर गर्छ । त्यस्तै, धेरै नुन हालेका खानेकुरा खादा भोलिपल्ट तिर्खा लागेर निराहार ब्रत बस्न समस्या हुन्छ । विभिन्न स्वास्थ्य समस्या भएका र गर्भवती महिलाले भने पहिला आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । उनीहरूले निराहार ब्रत बस्ने गल्ती गर्नुहुँदैन ।
दरका नाममा आजभोलि मादक पदार्थ पिउने चलन छ । दरमा मादक पदार्थ र कोल्ड ड्रिंक्स पिउनु हुँदैन । तीजको नाममा अस्वस्थ खानेकुरा खानुहुँदैन । दरको रूपमा बजारिया मिठाइ र खानेकुराहरू पनि खाने चलन छ । मुखको स्वादको लागि खाने यस्ता मिठाइ र खानपानले शरीरलाई पटक्कै फाइदा गर्दैन । त्यस्ता बजारिया बासी र सडेगलेका खानेकुराबाट टाढै बस्नुपर्छ । दर भन्ने बित्तिकै धेरैको दिमागमा माछामासु आउँछ । तर, माछामासुजन्य परिकार धेरै खाँदा स्वास्थ्यमा समस्या देखिने भएकाले कति मात्रामा खाने विचार पुर्याउनुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया