संखुवासभा हत्या प्रकरणमा मारिएकाको अन्त्येष्टि इटहरीमा गरिने
काठमाडौँ – संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीमा गरिने भएको छ ।
तेजबहादुर कार्कीसहित ६ जना सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका थिए । उनीहरूको अन्त्येष्टि इटहरीस्थित बुढीखोला घाटमा गरिने परिवार स्रोतले जानकारी दिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार (आज) बुढी खोला घाटमा अन्त्येष्टि गरिने भएको हो ।
मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । तीन दिनसम्मको अनुसन्धान निष्कर्षमा पुगेको छैन । घटनाबारे अनुसन्धानका लागि प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआइजी) अरुणकुमार बीसी घटनास्थलतर्फ लागेका छन् । उनी बुधबार बेलुकासम्म घटनास्थलमा पुग्ने बताइएको छ ।
संघीय प्रहरी इकाई कार्यालयबाट अनुसन्धानको नेतृत्व गर्दै पुगेका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको टोलीले प्राविधिक र अन्य टोली स्थलगत अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया