समाज

कोभिडकाे पूर्ण मात्रा खोप लगाएका पर्यटकलाई क्‍वारेन्टीन बस्‍नुनपर्ने व्यवस्था कहिले हुन्छ ?

क्‍वारेन्टीन बस्‍नुपर्ने व्यवस्था हटाउन सीसीएमसीमा सिफारिस

अतिन आचार्य |
भदौ २७, २०७८ आइतबार १८:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय नेपालमा कोभिड-१९ का  सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । साथै मृत्युदर पनि घटेको छ । तर, अहिले  संक्रमण घटदै गएकाले जनजीवन सहज बनाउनका जिल्लामा लगाइएको निषेधाज्ञासमेत खुकुलो पारिएको छ । कोभिड महामारीले मानव जीवनलाई मात्र प्रभाव पारेको छैन । समग्र सम्पूर्ण क्षेत्रलाई यसले असर गरी व्यापार, व्यवसाय र रोजगारीमा अधिक मात्रा यसको प्रभाव देख्‍न सकिन्छ ।

करिब दुई वर्षदेखि नेपाललगायत विश्‍वका धेरै मुलुकको पर्यटन उद्योगमा असर परेको छ । नेपालमा सबैभन्दा बढी थलिएको व्यावसायिक क्षेत्र पनि यही हो । बाह्य पर्यटकको आगमन ठप्प रहँदा यहाँको पर्यटन क्षेत्र चलायमान हुन सकेको छैन । सन् २०१९ काे अन्त्यदेखि अहिलेसम्म कोभिडकै कारणले पर्यटक आगमनमा भारी गिरावट आएको छ । सन् २०२० यता पर्यटककाे संख्यामा ८१ प्रतिशतले कमी आएको छ ।


पर्यटन उद्योगमा काम गर्ने करिब १० लाख जनशक्तिको रोजीराेटी जोखिममा परेको छ । २५ प्रतिशत भन्दा बढी पर्यटन उद्योग तथा उद्यमीहरू पुनर्जिवित नहुने गरी बन्द भैसकेका छन् । सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटनको महत्त्वपूर्ण क्षेत्रका लागि सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालनमा आइसकेका छन् ।

भदौको दोस्रो सातादेखि अधिकांश जिल्लाहरूमा निषेधाज्ञा खुकुलो पारेपछि व्यापार व्यवसायसमेत चलायमान भइसकेका छन् । निजी उद्योग कारखाना सञ्‍चालनमा आए पनि अझैसम्म पर्यटन उद्योगका गतिविधि सञ्‍चालन आउन नसकेको नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायीले औंल्याउन थालेका छन् । पर्यटकीय गतिविधि बढाउनलाई कोभिडविरुद्धको खोप लगाएका बाह्य पर्यटकलाई सहजै आवागमनको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन् ।

पर्यटकका लागि अनअराइभल भिसा व्यवस्था गर

नेपालको पर्यटन उद्योग आन्तरिक भन्दा बाह्य पर्यटकले धानेको छ । पर्यटन उद्योगलाई चलायमान गराउन विदेशी पर्यटकको आगमनलाई सहज बनाउनु पर्ने नेपाल पर्यटन बोर्डका बजार व्यवस्थापक लक्ष्मण गौतम बताउँछन् । 

सरकार तथा नेपाल पर्यटन जस्ता आधिकारीक संस्थाहरूले नेपालमा पर्यटन गतिविधि बढन थालिसकेको जस्तो सूचना फैलाउनलाई सरकारले सहयोग गर्नूपर्ने गौतमले बताए । 'कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका बाह्य पर्यटकलाई क्‍वारेन्टीन बस्‍नुनपर्ने झन्झटबाट मुक्त गर्नुपर्छ, ' उनले भने ।

नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको र पीसीआ नेगेटीभ रिपोर्ट लिएर आउने यात्रुलाई सहजै प्रवेश दिएर यात्राको अनुमति दिनुपर्ने गौतमको भनाइ छ । पर्यटकका लागि भिसा अनअराईभल हुनुपर्ने उनले माग गरे ।

पर्यटन क्षेत्रमा काम गर्ने र पर्यटकको मुख्य गन्तव्य भएको स्थानीय समुदायले पूर्ण मात्रा खोप लगाइसकेकाले पर्यटन गतिविधि बढाउन सकरात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरी जारी गर्नु पर्ने गौतमले बताए । 

मन्त्रिपरिषदको निर्णयबाट मात्र क्‍वारेन्टीन नबस्‍नुपर्ने व्यवस्था जारी 

खोपको पूर्ण मात्रा लगाएका र कोभिड रिपोर्टको रिपोर्ट नेगेटीभ साथमा भएका पर्यटकहरूले नेपाल आउन चाहेमा क्‍वारेन्टीन बस्नुपर्ने बाध्यता हटाइदिनका लागि सीसीएमसी समक्ष सिफारिश गरिएको संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए । मन्त्रालयले सुरुमा विदेशबाट आएकालाई पाँच दिन क्वारेन्टीन बस्‍नुपर्ने व्यवस्था जारी गरेको थियो ।

'मन्त्रिपरिषदबाट निर्णय नभइकन मन्त्रालयले मात्र पर्यटकलाई क्वारेन्टीन बस्नुपर्ने अवस्था हटाउन सक्दैन,' प्रवक्ता अधिकारीले भने,' मन्त्रालयले पर्यटकीय गतिविधि बढाउनका लागि नै आन्तरिक उडान सुचारु गर्न अनुमति दिइसकेका छौ ।'

पर्यटकलाई सहज होस भन्नका लागि एक महिनासम्मको अनअराइभल भिसा निःशुल्क गर्ने व्यवस्था सुरु भइसकेको अधिकारीले जानकारीले दिए । पछिल्लो समय पर्यटकको आगमन सहज गरिदनका लागि सरकारलाई सिफारिश गरिसकिएको उनको भनाइ छ ।

पर्यटन व्यवसायीलाई प्राथमिकतामा राखी ऋण उपलब्ध गराउँ

खोप लगाएकालाई सहजै प्रवेश पाउनेछन भनेर सरकारले सार्वजनिक सूचना गर्नुपर्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा बताउँछन् । पर्यटन व्यवसायीहरूको व्यवसाय सञ्‍चालन हुन नसक्दा पलायन हुनुपर्ने अवस्था आइसकेको उनले बताए ।

सरकारले पर्यटकीय क्षेत्रमा भएका स्थानीयलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने लामाको भनाइ छ । पर्यटकलाई आवागमनमा सहज व्यवस्था गरि विभिन्‍न मुलुकमा पर्यटकीय गतिविधि नेपालले सूचना पुर्‍याउनुपर्ने उनले बताए ।  

'विगतका सरकारभन्दा यसपटकको सरकारले ल्याएको बजेट एकदम राम्रो छ,' उनी भन्छन,' पर्यटन क्षेत्रमा काम गर्नेलाई राहत मिलेको छ । पर्यटन क्षेत्रमा काम गर्नेलाई विशेष प्राथमिकतामा राखी ऋण उपलब्धग गराउनुपर्छ ।'

लामाले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकलाई विशेष रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरे । श्रमिकहरू पर्यटन क्षेत्रको श्रमिक खम्बा रहेको उनले संकेत गरे । श्रमिकलाई प्याकेज ल्याएर सम्बोधन गर्न उनले माग गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x