समाज

सञ्चार विधेयक फिर्ता लिन गण्डकी सरकारसमक्ष प्रेस काउन्सिलको आग्रह

इकागज |
भदौ ३१, २०७८ बिहीबार २०:२० बजे

काठमाडौँ – गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’  फिर्ता लिन प्रेस काउन्सिलले आग्रह गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले बाधा पुर्याएको भन्दै काउन्सिलले सो विधेयक फिर्ता लिन आग्रह गरेको हो ।

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयकका कतिपय प्रावधानले आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ । विधेयकमा जसका विरुद्ध समाचार लेख्यो उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्नेजस्ता विवादास्पद प्रावधान राखिएकोमा काउन्सिलले आपत्ति जनाएको हो ।


‘संविधान र कानूनविपरीत यसरी ल्याइएको अन्य विधेयकका विषयमा यसअघि नै काउन्सिलले आफ्ना सुझाव र धारणा सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेशसभामा पेश भएको विधेयकले सञ्चार क्षेत्र र आमनागरिकको हकमा आघात पुर्‍याएकोले विवादास्पद उक्त विधेयक तत्काल फिर्ता लिन प्रेस काउन्सिल नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले मिडियासम्बन्धी विधेयक प्रस्तुत भएका सबै प्रदेश सरकारलाई यसबारे लिखित सुझाव पेश गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x