समाज

चोरी भएका दुई दर्जन मोटरसाइकल र स्कुटी धनीलाई हस्तान्तरण

इकागज |
असोज १, २०७८ शुक्रबार २०:२१ बजे

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले खोजतलासको क्रममा फेला परेका मोटरसाइकल र स्कुटी सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेको छ । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान तथा चोरी भई भेटिएका ती सवारी साधन सम्बन्धित व्यक्तिहरूलाई  हस्तान्तरण गरेको हो । 

कार्यक्रममा महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले हराएका २४ वटा मोटरसाइकल र स्कुटी काठमाडौं उपत्यकाबाट फेला पारी सवारी धनीहरूलाई बुझाइएको साथै घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको जानकारी दिए ।


‘चोरी घटनामा संलग्नसहित समातिएका मोटरसाइकल र स्कुटीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने भएको कारण मुद्दा दर्ता गरेका छौं । भेटिएका मोटरसाइकलहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छौं,’  एसएसपी भट्टराईले भने, ‘सवारी साधन हराउने क्रम घटाउनलाई हामी लागिरहेका नै हुन्छौं, हराउन नदिनका लागि जनचेतनाका कार्यक्रम आयोजना गर्ने हाम्रो तयारी छ । आफ्नो सवारी हराउन नदिनलाई सवारी धनीको पनि रोल हुन्छ, त्यो रोलको बारेमा सवारी धनीलाई बुझाउनुपर्छ, अबको प्लान त्यतातिर छ ।’ 

प्रमुख भट्टराईले प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिँदै घुस खाएको पाइएमा त्यस्ता कर्मचारीलाई तुरुन्त कानुनी कारबाही गरिने बताए ।


Author

थप समाचार
x