समाज

ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्ने अभियानमा छौँ : मेयर शाक्य

इकागज |
असोज २, २०७८ शनिबार १५:५२ बजे

काठमाडौँ - काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । शनिबार वडा नम्बर-२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गरेपछि उनले महानगरको ३२ वडा वडामा सम्पदा निर्माण तथा पुर्ननिर्माणलाई प्राथमिकता राखेको बताए ।

शाक्यले सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको बताए ।’ उनले महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्त राख्‍न लागि परेको पनि बताए ।


‘मन्दिर नै मन्दिर भएको काठमाडौँ महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने बितिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौँ काठमाडौँबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’

 काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक-पर्यटकीय ठाउँ बनाउने उनले बताए । उनले मूर्त-अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौँ घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए ।

‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले भने,'यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’

आफ्नो टीम निर्वाचित भएर आएपछि नै यहाँको सम्पदा संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्ने नीति लिएको उनले बताए । ‘हामी अहिले त्यहि अनुसार काम गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिले मूत–अमूर्त सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने अभियानमा महागनरपालिका लागेको छ । महानगरपालिकाले गरेको कामलाई संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको छ ।’

उनले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क निर्माण गर्ने र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।


Author

थप समाचार
x