हनिमुन पिरियडमै हिंसा
दश लाख रुपैयाँ र गाडी नपाएको निहुँमा दिनहुँ यातना
काठमाडौँः विवाह भएको २४ दिनमा २४ वर्षीया सबनम खातुनलाई पति र उनको परिवारले बेहोस हुने गरी पिटे । घरको काम राम्रोसँग नगरेको भन्दै उनीहरूले सबनमलाई पिटेका थिए । तर, वास्तविक कारण भने अर्कै थियो– ‘दाइजोमा १० लाख रुपैयाँ र मोटर गाडी नदिनु ।’
सबनम आमाबुबासहित आइतबार महिला सेल, कालिमाटी पुगेकी थिइन् । ओढ्नेले आँखाबाहेक अनुहारको सबै भाग छोपिएको थियो । यसरी ओढिएको ओढ्ने न त जाडो छेक्न थियो न त मास्कको साटो कोभिड १९ छेक्न नै । छेक्नु थियो त उनलाई पति र उनको परिवारले पिटेर बनाएको घाउ ।
बिहेपछि नवदम्पती एकअर्कालाई चिन्न/चिनाउन मधुचन्द्रिका (हनिमुन) जान्छन् । एकअर्कासँग यादगार समय बिताउँछन् । तर, बिहे गरेको महिना दिन नबित्दै पति र उनको परिवारको पिटाई खाएर प्रहरीकहाँ पुग्नुपर्ला भनेर सबनमले सपनामा पनि सोचेकी थिइनन् । यो घटना सबनमलाई अहिले पनि सपना हो कि भनेझैं लागिरहन्छ ।
उनीहरू दुवैजना काठमाडौँका स्थानीय बासिन्दा हुन् । सबनमको घर काठमाडौँ गौरीघाटमा छ भने इमरान अली बल्खुका हुन् । इमरान बीबीएस र सबनम बीबीए पढ्दैछन् । बिहेअघि सबनम आत्मनिर्भर थिइन् । पढाइसँगै उनले एउटा कार्यालयमा लेखापालको जागिरसमेत गर्थिन् । तर, बिहेको कुरा छिनेपछि इमरानले जागिर नगर्न भनेका थिए । उनले भविष्यको पतिले भनेको कुरा खुरुक्क मानिन् ।
सबनमको कुरा छिन्दा उनकी बहिनी मुस्कानको पनि कुरा छिनियो, इमरानका भाइसँग । मुस्कान १५ वर्षकी भएकाले बिहे भने केही वर्षपछि गर्ने शर्त राखिएको थियो । ‘हामीले हुँदैन भनेका थियौँ,’ सबनमकी आमा सरोजले महिला सेलमै इकागजसँग भनिन्, ‘उताबाट जबर्रजस्ती तपाईंकी कान्छी छोरी पनि हामीलाई मन पर्यो भनेर जर्बजस्ती कुरा छिने ।’
इमरान र सबनमको भेट फेसबुकबाट भएको थियो । केही समयको कुराकानीपछि इमरानले बिहेको प्रस्ताव राखेका थिए । सबनमले भने खासै वास्ता गरेकी थिइनन् । सबनमले सुरुदेखि नै सबैकुरा आमालाई भन्दै आएकी थिइन् । इमरानको प्रस्ताव पनि आमासँग लुकाएकी थिइनन् । आमालाई पनि इमरान ठीकै लागेका थिए । यही बलमा कुराकानी बिहेसम्म पुगेको थियो । ‘मुस्लिम थियो, काठमाडौँमा घर पनि थियो,’ सरोजले भनिन्, ‘त्यही देखेर छोरी दिएँ । महिना नबित्दै यो दिन आउला कल्पना पनि गरेको थिइनँ ।’
सबनम परिवारकी जेठी छोरी हुन् । उनीमुनी दुई बहिनी र एक भाई छन् । माइली बहिनी खुश्बुको बिहे भइसक्यो । माइली छोरीलाई उनीहरूले दाइजोको नाममा केही दिएनन् । सिलिगुडीदेखि जन्ती आएर दाइजोबिना खुशीसाथ खुश्बुलाई लिएर गए । जेठीभन्दा पहिला माइली छोरीको बिहे भएकोमा सबनमका आमाबुबालाई चित्त बुझेको थिएन । त्यही आगोमा घ्यू थप्ने काम छिमेकी र आफन्तले गर्थे । भन्थे– ‘पहिल्यै माइलीको निकाह गरेपछि अरु छोरी कसले लैजान्छ ?’
पढाई र जागिर रामै्र चलिरहेको हुनाले सबनमको ध्यान बिहेमा थिएन । तर, हुर्केकी छोरी घरमा राख्दा लोकले कुरा काट्लान् भन्ने डरले सबनमको परिवारले उनको बिहे गर्न हतार गरेको थियो । अनि बिहे गर्नुभन्दा पहिला इमरान र उनको परिवारले व्यवहार पनि राम्रै गरेका थिए । तर, जब बिहेको कुरा छिनियो, आफन्तहरूलाई बिहेको कार्ड बाँडियो, इमरान र उनको परिवारले असली रुप देखाउन थाल्यो । केही चाहिन्न भनेर सुरु भएको विवाहको कुरा चारचक्के गाडी र १० लाख रुपैयाँ मागमा आएर अड्कियो । मुखमा आएर सबनमको परिवार पछि हट्ने अवस्था थिएन । किनकि घर छिमेकमा सबैतिर सबनमको बिहेको कुरा फैलिसकेको थियो ।
महिला सेलकी प्रहरी निरीक्षक कोपिला चुडाल भन्छिन् ‘सबनमको जाँच आउँदै रहेछ । उसको लत्ताकपडा र किताबहरू प्रहरीको टोली खटाएर ल्याउन लगाएका छौँ । दुवै पक्षको बयान लिने काम सकिइसकेको छ । अहिलेलाई झै-झगडा नगरी बस्नु भनेका छौँ । हप्तैपिच्छे तारेख लगाउँछौ । ३० दिनपछि पिडितले जे भन्नुहुन्छ त्यही गर्छौँ । कि मिलापत्र हुन्छ कि अदालत जानुहुन्छ ।’
बिहेमा लगभग ३५ लाख रुपैया खर्च गरेको सबजमको परिवारको जिकिर छ । ‘चार लाखको फर्निचर, एकलाख ३५ हजारको टिभी र छ-सात लाखको सुन दियौँ,’ सरोजले भनिन्, ‘ १० हजारको त कार्पेट हालिदिएका थियौँ । तीनओटा औंठी, दुइटा सिक्री दियौँ । पार्टी प्यालेसको खर्च मात्रै सात-आठ लाख आएको थियो । खानेकुराको आइटम कति थिए कति गनिसाध्य छैन ।’
चार लाख रुपैयाँ सबनमको परिवारसँग थियो । बाँकी सबै ऋण गरेर उनीहरूले छोरीको बिहे गरिदिएका थिए । पार्टी प्यालेसमा ९० हजार रुपैयाँ तिर्न अझै बाँकी नै छ । तर, दाइजो नपुगेको भन्दै बिहेमा जन्तीपट्टीबाट आउनेले खानेकुरा खान मानेनन् । हिन्दी सिनेमामा जस्तो भनेको जति दाइजो नदिए मण्डपबाटै उठेर जाने धम्की पनि दिए । केटीपक्षले जन्तीलाई हारगुहार गर्यो । बिन्ती बिसायो । माफी माग्यो । हातखुट्टा केही पनि जोड्न बाँकी नराखी केटा पक्षलाई मनाउने कोसिस गर्यो । ‘हामी छोरीवाला तपाईंको खुट्टा धुने, खुट्टा मोल्ने मान्छे हौँ’ भनेर खुट्टा समात्यौँ,’ सरोजले भनिन्, ‘उनीहरू रिसाए भने छोरीले दुःख पाउली भन्ने चिन्ता थियो । आएको बारात फर्किए भने इज्जत जाला भनेर रोईकराई गरेर छोरी अन्मायौँ ।’
तर, त्यतिबेला नै सरोजले अर्को एउटा अठोट भने गरिसकेकी थिइन् – ‘कान्छी छोरीलाई ज्यान जाला त्यो घरमा पठाउँदिन ।’ तर, दोस्रीको घरको के कुरा, जब पहिलीकै घर बस्ने टुंगो थिएन । बिहे सकिएलगत्तै उताबाट सोफाको माग आयो । सोफा उनीहरूले नै रोजे । मूल्य थियो— ५५ हजार रुपैयाँ । यता पतिले सबनमकी आमालाई दिएका थिए जम्मा ४० हजार । तर, छोरीको घर बचाउन सबनमकी आमाले १५ हजारको झूट बोलिन् । आपत विपतलाई काम लाग्ला भनेर लुकाइ राखेको १५ हजार थपेर उनीहरूले रोजेकै सोफा किनिदिइन् । तर, सोफाले उनीहरूको भार थाप्न सुरु पनि गरेको थिएन, उताबाट फेरि ‘खाना खाने टेबल भएन’ भन्दै डाइनिङ टेबलको डिमान्ड आयो । उनले त्यो पनि किनिदिइन् । पछि उनले थाहा पाइन्, ‘छोरीको घरमा त्यो सोफा र खाना खाने टेबुल दुवै राख्ने ठाउँ छैन् ।’
‘एउटा कोठामा एउटा सोफाको टुक्रा अर्कोमा अर्को टुक्रा राखेका छन्,’ सरोजले भनिन्, ‘चारकुना मिलाएर एउटा कोठामा राख्नुपर्ने सोफा चार कोठामा लगेर राखेका छन् । हामीलाई दुःख दिनलाई नै मागेका रैछन् ।’ तर, मागको क्रम यत्तिमै रोकिएन । केही समयपछि लत्ताकपडाको माग भयो । सबैको नाम लेखेको पर्चा पठाइयो । सरोजले न्यूरोडको राम्रो पसलमा गएर पाँच हजार बराबरको आठ-दसवटा सारी किनिन् । २०-२५ थरिका मिठाइ पनि पठाइन् । तर, ‘यस्तो पनि कोसेली हुन्छ’ भन्दै गालिगलौज गरेछन् । सारी पनि हेर्नै नहुने भनेर छोरीलाई घोचेछन्’ सबनमकी आमाले रुँदै सुनाइन् ।
उता सबनमलाई गर्ने व्यवहार छँदै थियो । शब्दैपिच्छे गाली गर्ने र वचन लाउने । सबनम रुँदै आमालाई भन्थिन् । छोरीको साटो सबनमकी आमा हरेकचोटि फोन गरेर सम्धिनीसँग माफी माग्थिन् । सरोजले छोरीको तर्फबाट बिहेमा माफी मागिन् । दाइजो कम भएकोमा माफी मागिन् । कोसेली नराम्रो भएकोमा पनि माफी मागिन् ।
तर, ढुंगाको मुटु भएको इमरानको परिवारको मनमा दया पलाएन । हुँदाहुँदा एक दिन त इमरानले सबनमलाई थला पर्नेगरी कुटे । सरोजलाई ताजै छ, शनिबार बिहानै ज्वाइँको घरबाट कसैको फोन आयो । ‘तेरो छोरीलाई हामीले कुटेर कोठामा थुनेका छौँ, क-कसको दम छ आओ’ उताबाट आवाज आयो । खबर सुन्नासाथ सबनमको परिवार हस्याङ्फस्याङ गर्दै छोरीको अवस्था बुझ्न गयो । छोरी कुनामा लडिरहेकी थिइन् । अनुहारभरि पिटाईका आला घाउ थिए । दुई परिवारबीच केहीबेर गलफत्ती भयो । अन्त्यमा सबनमको परिवारले सबनमलाई घर फिर्ता ल्याउने निर्णय गर्यो । इमरानको परिवारले रोक्ने कुरै थिएन । उल्टै निस्कँदै गर्दा धम्की दिए– ‘कानुन, प्रहरीसबै हाम्रो हातमा छ । तिमीहरूले केही गर्न सक्दैनौ । हामीलाई पाँच मिनेट पनि पुलिस चौकीमा राख्न सक्दैनौ ।’
सबनमको परिवारलाई यो बेला लाग्यो, ‘छोरीको घरका लागि भनेर धेरै सह्यौँ । बस अब सहने ठाउँ छैन ।’ यसरी सबनमको परिवार न्याय माग्दै कालिमाटीको महिला सेल आइपुग्यो । सरोजलाई सबनम असाध्यै बुझक्की र समझदार लाग्छ । ‘मेरी छोरी सोझी छ, झुट बोल्न जानेको छैन,’ उनले भनिन्, ‘हाम्रो संस्कारमा छोरीलाई धेरै पढाउने चलन छैन । तर, उसको व्यवहार देखेर हामीले उसलाई जति पढ्छौ त्यति पढ भनेर पढायौँ ।’
सबनम गर्भमा हुँदा उनका आमाबुबाले काठमाडौँमा जग्गा किनेका थिए । पछि त्यो जग्गाको भाउ बढेर आकासियो । ‘छोरी होइन भाग्य भित्रियो’ भनेर त्यो बेला उनका आमाबुबा निकै खुशी भएका थिए । सबनमका बुबाले २४ वर्षको उमेरसम्म छोरीलाई एक थप्पड नलगाइ राखेका थिए । तर, बिहे गरेको २४ दिन नबित्दै छोरीको त्यो दुर्गति देखेर उनी बोल्न सक्ने अवस्थामा छैनन् । ‘उसको बाउले अहिलेसम्म एक थप्पड पनि लगाएको छैन,’ सरोजले भनिन्, ‘छोरी कतै जाँदा खानासमेत नखाई बस्नुहुन्थ्यो । त्यही छोरीलाई पिटेर यस्तो हालत बनाउँदा हामीमाथि के बितिरहेको होला ?’
प्रहरीले केसको जिम्मा लिएपछि सबनमको परिवार थोरै ढुक्क छ । अनाहकमा अत्याचार गर्ने इमरानको परिवारले कानुन बमोजिम सजाय पाए, आफूहरूको घाउमा खाटा बस्ने उनीहरूको अपेक्षा छ । यता महिला सेलले पनि यो घटनालाई गम्भीरताका साथ निगरानी गरिरहेको छ ।
महिला सेलकी प्रहरी निरीक्षक कोपिला चुडाल ३० दिनसम्म इमरानको परिवारको निगरानी गर्ने र उनीहरूको व्यवहोरा हेरेर कानुनी प्रक्रिया अगाडि बढाउने सोचमा छिन् । ‘सबनमको जाँच आउँदै रहेछ,’ प्रहरी निरीक्षक चुडालले भनिन्, ‘उसको लत्ताकपडा र किताबहरू प्रहरीको टोली खटाएर ल्याउन लगाएका छौँ । दुवै पक्षको बयान लिने काम सकिइसकेको छ । अहिलेलाई झै-झगडा नगरी बस्नु भनेका छौँ । हप्तैपिच्छे तारेख लगाउँछौ । ३० दिनपछि पिडितले जे भन्नुहुन्छ त्यही गर्छौँ । कि मिलापत्र हुन्छ कि अदालत जानुहुन्छ ।’
प्रहरी निरीक्षक चुडालका अनुसार पीडक पक्षले आफ्नो गल्ती स्वीकार नगरे ६ महिनासम्म जेल सजाय हुन्छ । त्योबाहेक सबनम सम्बन्ध विच्छेदको प्रक्रियामा गए नेपालको कानुनअनुसार उनले माना चामल र अंश पाउनेछिन् । महिला सेलमा अधिकांश यस्तै खालका घटनाहरु आउने गरेको प्रहरी निरीक्षक चुडालले बताइन् । ‘दिनैपिच्छे यी र यस्ता घटनाहरु आइरहन्छन्,’ उनले भनिन्, ‘कसैको मिलापत्र हुन्छ । कसैको केस भने मिल्न नसकेर अदालतसम्म पुग्छ ।’
laxmirnp