समाज

बुढ्यौलीमा अक्षर चिन्दै ज्येष्ठ नागरिक

इकागज |
असोज ९, २०७८ शनिबार १७:४ बजे

दमौली - तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्दैन थिए । नाम लेख्नपरे अरूको सहारा लिने गर्थे । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उनी आफ्नो नाम आफैँ लेख्न सक्ने भएका छन् ।

रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएका हुन् । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेकी उनले भनिन्, “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।” 


सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छन् । क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताए । “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ,” श्रेष्ठले भने ।  

इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएका छन् । “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उनले भने ।

क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिए । 


Author

थप समाचार
x