समाज

३३ किलो सुन काण्डका दोषी 'गोरे'सहित ६ जनालाई जन्मकैद

इकागज |
असोज १९, २०७८ मंगलबार १५:२५ बजे

काठमाडौँ - त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन तस्करीमा संलग्न ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद सजाय सुनाएको छ । मंगलबार अदालतले उनीहरूलाई दोषि ठहर्दै यस्तो सजाय सुनाएको हो । न्यायाधीश भरत लम्सालको इजलासले उनीहरूलाई यस्तो सजाय सुनाएको हो ।  

मोरङको उर्लावारी नगरपालिका वडा न. - ७ निवासी चुँडामणी उप्रेति 'गोरे' सुन प्रकरणका मुख्य योजनाकार थिए । उनीसहित टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनालाई पनि जन्म कैद सजाय सुनाएको छ। जसमध्ये दुई जनालाई ३ वर्ष र ६ महिना कैद सजाय सुनाएको छ । 


उनीहरूविरुद्ध आपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीरसम्बन्धी मुद्दा चलाइएको थियो । असोज ७ गतेबाट निरन्तर चलिरहेको बहसपछि १० दिनमा अदालतले आफ्नो फैसला सुनाएको हो ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करी भएको थियो । पछि त्यो सुन गायब भयो । २०७५ वैशाख १९ गते सात जना प्रहरीसहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। 

दोषिलाई सजाय सुनाइसक्दासम्म पनि ३३ किलो सुनबारे पत्ता लाग्नसकेको छैन । सुन प्रकरणका मुख्य अभियुक्त चुँडामाणि उप्रेती 'गोरे'लाई २०७५ जेठमा पक्राउ गर्दै प्रहरीले सार्वजनिक गरेको थियो । हाल गोरे केन्द्रीय कारागार सुन्धारामा छन् ।


Author

थप समाचार
x