यस्तो छ पकेटमारको कोड भाषा !
बजारमा दुई प्रकारका पकेटमार, कसरी बच्ने ?
सांकेतिक तस्बिर
काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बजारमा पकेटमारको चहलपहल बढ्न थालेको छ । चाडपर्वमा धेरै आर्थिक कारोबार हुन्छ । बजारमा किनमेलको चहलपहल बढ्न थाल्छ । यही मौका छोपेर पकेटमारहरू सलबलाउने गर्छन् । सोमबार मात्रै प्रहरीले पकेटमारी तथा चोरी गने २ सय ७ जनालाई पक्राउ गरेको सार्वजजिक गरेको छ ।
प्रहरीका अनुसार सिजनल र सदाबहार दुई प्रकारका पकेटमार हुन्छन् । जात्रा तथा चाडपर्वको बेला मात्र पाकेट मार्नेहरू सिजनल पकेटमार हुन् । उनीहरू विशेषगरी काठमाडौँको किनमेल हुने क्षेत्र असन, इन्द्रचोक, मख्खन गल्ली जस्ता ठाँउमा बढी भेटिन्छन् । सडक बालबालिका र दुर्व्यसनी मा फसेका युवायुवती सदाबहार पकेटमार हुन् ।
प्रहरीका अनुसार असन, पुरानो बसपार्क, भृकुटीमण्डपलगायत क्षेत्र सबैभन्दा धेरै पकेटमारी हुने क्षेत्र हुन् । बनेपा, भक्तपुर र कीर्तिपुरबाट आएका गाडीमा धेरै पकेटमारी हुने गरेको देखिएको छ । किनमेल गर्ने बजारसँगै यस्तै दूरीका गाडीमा पनि धेरै नै पकेटमारी हुने भएकाले सजग रहन प्रहरीले आग्रह गरेको छ ।
सार्वजानिक बसमा पकेटमारहरू दुई–दुई जनाको दरले ६ जनासम्मको समूह बनाउँछन् । पैसा भएको यात्रु पत्ता लगाउँछन् । अगाडि र पछाडिबाट घेरावन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर मौका छोप्छन् । सांकेतिक भाषा प्रयोग गर्दै मोबाइल, नगद र सुनचाँदी पकेटमारी पालैपालो गरी बसबाट ओर्लिन्छन् । उनीहरूले ठाउँ–ठाउँमा आफ्नो नेटवर्क बनाएका हुन्छन् । कतिपय पकेटमारको चालक र सहचालकसँग समेत मिलेमतो हुने गरेका प्रहरी बताउँछ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले चाडपर्व नजिकिएसँगै सर्वसाधारणले यस्ता विषयमा ध्यान दिनुपर्ने बताउँछन् । ‘दसैँमा जागिर खानेलाई दोब्बर तलब मिल्छ,’ उनी भन्छन्, ‘त्यही पैसाले किनमेल गर्न मानिसहरू बजार जान्छन् । बजारको चहलपहल बढ्छ । यहि मौकामा पकेटमारको पनि चहलपहल बढ्छ ।’ चाडपर्वमा पकेटमारबाट सावधान रहन उनको आग्रह छ । ‘सार्वजनिक यातायातमा चढ्दा होस् वा बजारमा सामान किन्न जाँदा होस् विचार पुर्याउनुपर्छ,’ उनी भन्छन् ।
एसपी बस्नेतका अनुसार पकेटमारबाट यसरी बच्न सकिन्छ
– बहुमुल्य सामान पकेटमारले नभेटाउने गरि ब्यागको भित्रपट्टि राख्नुपर्छ
– सपिङ गर्दा सबै पैसा देखाउनु हुँदैन
– सकेसम्म कम पैसा बोक्नुपर्छ
– सपिङ गरिसकेपछि झोलाको चेन लागे नलागेको विचार गर्नुपर्छ
– सपिङ गर्दा एटीएम वा मोबाइल बैँकिङको प्रयोग गर्नुपर्छ
– सांकेतिक भाषा बोल्ने मान्छे छन् भने निगरानी राख्नुपर्छ
पकेटमारको कोड भाषा
पैसा– द
मोबाइल– कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नु– मास्टर–कासी
पैसा धेरै छ– टानको द
पैसा थोरै छ– जुटको द
गाडी– काँचा
केटा– छापा
केटी– भद्री
पुलिस आयो– ठूलदाइ आयो
चालक– मामा
सहचालक– मले
गाडीबाट झरेर भाग– टप्की
गाडीभित्र अगाडि सर– अकल जा
गाडीभित्र पछाडि सर– चिछल जा
पकेटमारी गर्ने (मास्टर) – काशी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया