समाज

काठमाडौँ महानगरले नागार्जुनमा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्ने

इकागज |
असोज २०, २०७८ बुधबार १६:२ बजे

काठमाडौँ- नागार्जुन नगरपालिकामा काठमाडौँ महानगरले ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण गरिदिने भएको छ । वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । महानगरले ६ करोड रुपैयाँ लगानी गरी उक्त भवन निर्माण गर्न लागेको हो ।

सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहन बहादुर बस्‍नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन् ।


 महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, नागार्जुन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर मानव सेवा आश्रमकी महासचिव, सुशिला के.सी. (रुपा) रहनु भएको छ ।

काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनी रहेकालाई उद्धार गरी व्यवस्थित बसोबास गराउन लागेको हो ।

कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरूलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका गर्न महानगरले सम्झौता गरेको हो ।

'सहयोगापेक्षीको उद्धार, उपचार, पालन पोषण एवं पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनको कार्यलाई दिगो, व्यवस्थित र थप प्रभावकारी बनाउन हामीले यो असल कार्यको थालनी गरेका हौँ,’ सम्झौतापछि सम्वोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ ।’

मानव सेवा आश्रम निर्माणसँगै काठमाडौँको खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश नागरिकहरुको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको उनले बताए । सम्झौतामै निर्माण भएको भवनको नाम सहिद धर्मभक्त समितिमा मानव सेवा आश्रमको अध्यक्ष र काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी एक–एक जना सदस्य रहने छन् । सम्झौता अनुसारको भवन निर्माण कार्य २०७८ मा प्रारम्भ गरी २०८० मा सम्पन्न गर्नुपर्ने छ ।


Author

थप समाचार
x