बजार अनुगमन नहुँदा मारमा उपभोक्ता
फाइल फोटो
धनगढी - कैलाली जिल्लामा सरोकारवालाहरुले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । बजारमा गैरकानूनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरु मारमा परेका हुन् ।
यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरी रेग्मीले बताए । उनले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी समेत गरे ।
संयोजक रेग्मीले भने, ‘१२ महिना अनुगमन नै नगर्ने तर अहिले चाडवाडको बेलामा मात्रै केन्द्रित गरेर अनुगमन गर्नाले व्यवसायीहरु पनि त्यसलाई पोजेटिम रुपमा लिँदैनन्, अनुगमन नियमित गरौँ, चाडबाडमा अझ बढी गरौँ, अहिले बजारमा मूल्य वृद्धि आकासिएको छ, मनोमानी ढंगले कपडा, दैनिक खाद्य सामग्रीहरुको मूल्य बढेको छ, बजारमा म्याद नाघेका धेरै परिमाणमा सामग्रीहरु पाइन्छन्, २/३ वर्षअघि राम्रोसँग दैनिकजसो अनुगमन हुन्थ्यो, अखाद्य वस्तुहरु कम आउँथे, अहिले अनुगमन भएको छैन, अखाद्य वस्तुहरु पनि छ्यापछ्याप्ती भेटिन्छन्, कोभिडको बहाना बनाएर पन्छिन खोजेका छन्, सरोकारवाला निकायहरु, तर कोरोनाको जोखिम भयो भन्दैमा आम उपभोक्ताहरुलाई अखाद्य सामग्री र गुणस्तरहीन सामग्री खुवाउनु त भएन नि ? क्रमिक रुपमा प्रभावकारी रुपले अनुगमन हुन सकेको छैन ।’
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दशैँ, तिहार र छठ जस्ता महान चाडहरुमा खपथ र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताए । । उनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताए ।
उनले कैलालीमा श्रावणमा १३, भाद्रमा २५ र असोज महिनामा आजसम्म १२ वटा पसलहरुमा अनुगमन गरेको बताए । उनले २ वटा पसलहरुमा भने एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार रुपैयाँ जरिबाना समेत गरेको बताए । सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलहरुमा १७ हजार भन्दा बढीको म्याद सकिएको खामग्रीहरु पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिए ।
उपभोक्ता हीत संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताए ।
उनले यसभन्दाअघि हप्तामा तीन/चार पटकमात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताए। उनले भारतबाट नेपाल भित्रिने नाका भएकोे र कोभिड १९ को जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गर्न सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया