समाज

न्यायका लागि छट्पटाइरेका पीडितसँग ‘बार्गेनिङ’ गर्दै गृह मन्त्रालय

'ननकुन्‍नी धोबीसँगै न्याय पनि मरिसकेको हो सरकार ?'

विष्णु विश्‍वकर्मा |
कात्तिक १, २०७८ सोमबार १९:५३ बजे

काठमाडौँ - बाँकेकी ननकुन्‍नी धोबी साउन ५ गते घरकै दलिनमा मृत फेला परिन् । जानकी गाउँपालिका–२ घर भएकी उनको पारिवारिक कलह चलिरहेकै बेला झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । विवाह भएकै दिनदेखि श्रीमान् र घर परिवारका कसैको पनि उनीमाथिको नजर र नियत सही थिएन ।

मृत्तक धोबीका भाईको कुरा सुन्‍ने हो भने विवाहका बेला ननकुन्‍नीका परिवारसँग मोटरसाइकल दाइजो मागिएको थियो । बिहान-बेलूकी के खाउँ ? के लगाउँ ? भन्‍ने चिन्ता भएका परिवारले मोटरसाइकल किनेर दाइजो दिने हैसियत राख्दैन्‍थ्यो । यही विषयलाई लिएर पारिवारिक झगडा भइरहेका बेला ननकुन्‍नी मृत भेटिइन् । ननकुन्‍नीका आफन्तले त्यो आत्महत्या नभइ हत्या भन्यो ।
 
प्रहरी र ननकुन्‍नीका श्रीमानको परिवारले त्यसलाई आत्महत्या भन्दै आएको छ । तर अचम्म र रहस्यपूर्ण तवरले प्रहरीले अनुसन्धान र तहकिकात गरेर मुद्दा अगाडि बढाउनै चाहेन । अझ भनौं, जाहेरी नै लिन मानेन । यो कुरा परिवारमै सीमित रहेन । महिला अधिकार मञ्च बाँकेका महिला अधिकारकर्मीले थाहा पाए । उनीहरूले पीडित परिवारलाई ढाडस दिँदै स्वरमा स्वर मिलाएर न्याय मागे । प्रहरी कार्यालयमा धर्ना दिए । जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिए । 


त्यो दबाबका बाबजुद पनि प्रहरी र प्रशासनले सरकारी ‘नुन खाएर’ पनि नागरिकप्रतिको न्यूनतम दायित्व पूरा गर्ने इमानदारी देखाएन । ननकुन्‍नीको मृत्यु शंकास्पद र रहस्यपूर्ण थियो । ठीक त्यसैबेला निर्मला कुर्मी बेपत्ता भइन् । उनको अवस्था पनि यस्तै थियो । उनको अहिलेसम्म सास र लासको ठेगान छैन । दुई महिला र उनीहरूको परिवारमाथि यतिविघ्‍न अन्याय हुँदा पनि प्रहरी प्रशासन गैरजिम्मेवार भइरह्यो ।

न छानबिन गर्‍यो । न पीडितलाई न्याय दिलाउने आश्वासनसहित अनुसन्धान नै अघि बढायो । पीडितलाई प्रहरीले उल्टै हप्की–दप्की गर्‍यो । महिला अधिकारकर्मीलाई पनि बाँके प्रहरीले सुनेको नसुन्यै गर्‍यो । न पीडितको गुहार सुन्यो । न त महिला अधिकारकर्मीसँग मैत्रीपूर्ण व्यवहार गर्‍यो । आक्रोशको आगो बलेका बेला उनीहरूले कठोर निर्णय लिए, न्यायका लागि नेपालगञ्‍जदेखि काठमाडौँसम्म पैदलयात्रा गर्ने ।

नेपालगञ्‍जदेखि काठमाडौँसम्मको कठाेर पैदलयात्रा 

महिला अधिकारकर्मी रुबी खानसहितको टोली काठमाडौँका लागि तयार भयो । बाँके प्रहरी प्रशासन हेरालु बन्यो । १४ जनाको टोलीले नेपालगञ्‍जदेखि असोज १ गतेदेखि यात्रा सुरु गरेको थियो । सुरुमा उनीहरूको काठमाडौँसम्मको पैदलयात्रालाई धेरैले सामान्य ठानेका थिए । 

जब रुबीसहितको टोलीले बाँके छिचोलर दाङ पुग्यो । स्थानीयदेखि राष्ट्रिय मिडियामा उनीहरूको कठोर पैदलयात्रा समाचारको हेडलाइन बन्यो । कहीँ नारा लगाउँदै त कहीँ धुलोले अनुहार ढाकिदैं । अनि असोज लागिसक्दा पनि आकाश नखुलेर कहीँ वर्षिरहेको झरीसँग भिज्दै उनीहरू अगाडि बढे ।

अगाडि बढ्दै जाँदा कतै महेन्द्र राजमार्गको तातोले उनीहरूका पैताला पोले, खुट्टामा फोका उठे । ती फोका पाकेर फुट्न र त्यसले अझै भतभती पोल्न थाल्यो । ती सबैलाई बेवास्ता गर्दै छिया-छिया भएको विक्षिप्त मन लिएर उनीहरू अनवरत न्यायका लागि अघि बढिरहे । 

नेपालगञ्‍जदेखि काठमाडौँसम्मको ५०० किलोमीटरको यात्रा गाडीका लागि १२ घण्टा हो भने हवाइजहाजमा ४५ मिनेट । तर उनीहरूले २० दिन लगाएर काठमाडौँको कलंकीमा पाइला टेके । नेपालगञ्‍जदेखि आन्दोलनको बिगुल फुकेका उनीहरू काठमाडौँलाई सुनाउन आइपुगेका थिए । जहाँ पीडा थियो । आक्रोश थियो । आन्दोलन थियो । अनि न्यायका लागि एकस्वरमा निस्केको आवाज थियो । 

काठमाडौँमा पाइला टेकेको दिन पैदलयात्राकी नेतृ तथा महिलाअधिकारकर्मी रुबी खानले फेसबुकमा लेखिन्, ‘हाम्रो आन्दोलन जारी छ । महिला हत्या गर्ने होसियार ! मौन बस्ने सरकार खबरदार ! नाराका साथ नेपालगन्जदेखि काठमाडौँसम्म पैदल यात्रा गर्दै आज काठमाडौं पुगियो ।’

माइतीघरमा धर्ना, प्रहरीको धरपकड 

काठमाडौँ पाइला टेकेकै दिन उनीहरूले आन्दोलनको केन्द्र माइतीघरलाई बनाए । यतिञ्‍जेल उनीहरूको सारा पीडा, पैदलयात्रा र आन्दोलनको चुरो मिडियामा छरपस्ट भैसकेको थियो । तर पनि गृह मन्त्रालय बेखबर बनिरह्यो ।

उनीहरू न्यायको गुहार माग्‍न काठमाडौँ आएका थिए । सरकारले माइतीघरमा प्रहरी पठायो । दिनभर थाकेर आएका उनीहरूलाई बेलुकीको खाना खानै नदिई प्रहरीले लाठ्ठी बर्साएर माइतीघरबाट उठायो । प्रहरी चौकीमा लगेर चिसो खोरमा थुन्यो । न्याय माग्दा लाठ्ठी बर्साउने प्रहरी प्रशासनको धरपकडविरुद्ध मिडियामा समाचार बनिरहे । तर अझै पनि गृह मन्त्रालयले सुनेन ।

प्रहरीले लिएर थुनेपनि बिना पक्राउ पुर्जी थुनिरहन सकेन र त्यसको भोलिपल्ट छाड्यो । नेपालगञ्‍जदेखि काठमाडौँसम्म पैदल हिडेर आन्दोलन उठाउने रुबी खानलाई भने प्रहरीले झुट्टो मुद्दा लगाएर थुन्यो । उनलाई बहुविवाह गरेको आरोप थियो । त्यो पनि झुटो मुद्दा र जाहेरीबिनाको मुद्दा । त्यसविरुद्ध उनले हिरासतमै अनसन थालिन् ।

यसबीचमा उनको रिहाईका लागि सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले रिटको सुनुवाई गर्दै फेरि पक्राउ नगर्नेगरी रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशले उनी रिहा भइन् । रिहालगत्तै उनले आन्दोलन जारी रहेको बताइन् । फेरि माइतीघर पुगिन् । जहाँ दुई हप्तादेखि पीडित परिवारको धर्ना जारी थियो ।

गृहमन्त्रीको प्रतिबद्धता, चासोमा सीमित

काठमाडौँ आएको चार दिनपछि गृहमन्त्री बालकृष्ण खाणले अधिकारकर्मीको आन्दोलन र घटनाबारे चासो राखे । महिला अधिकारकर्मीसहितको टोलीले ध्यानाकर्षण गराएपछि उनले भेट दिए । बाँकेबाट पैदल काठमाडौ आएर माइतीघरमा धर्ना बसेका महिलाको माग सम्बोधन गर्ने प्रतिबद्धता त उनले जनाए, तर त्यो प्रतिबद्धता व्यवहारमा लागू भएन । 

२४ असोजमा गृहमन्त्रालयमै भएको छलफलमा पीडितलाई न्याय दिलाउने गरी घटनाको बारेमा सत्यतथ्य छानबिन गराउने गृहमन्त्री खाणले वचन दिएका थिए । तर उनको त्यो वचन, आश्वासनमा सीमित भयो । गृहमन्त्रीको ध्यानाकर्षण गराइएपनि त्यो केवल चासोमा सीमित भयो ।

मन्त्रीसँग सकारात्मक छलफल भएको बताउने महिला अधिकारकर्मी त्यतिबेला झस्किए, जतिबेला आन्दोलनकी नायक मानिएकी रुबी खानलाई प्रहरीले अपहरण शैलीमा उठायो र झुट्टो मुद्दा चलायो । 

सर्वाेच्चमा प्रहरीले गलत बयान दियो । आफ्नो हिरासतमा राखेर प्रहरीले उनीबारे जानकारी नभएको बतायो । यो घटनाले महिला अधिकारकर्मी चिढिए । माइतीघरमा न्यायका लागि छट्पटाइरहेका पीडितसँग गृह मन्त्रालय ‘बार्गेनिङ शैलीमा’ प्रस्तुत भयो ।

‘हामी काठमाडौँ आएदेखि न्याय माग गरिरहेका छौँ । तर सरकारले अहिलेसम्म मागको सुनुवाइ गरेको छैन,’ पीडित परिवारसँगै नेपालगञ्‍जबाट पैदल हिँडेर काठमाडौँ आएकी सकिना तेलीले इकागजसँग भनिन्, ‘माग सुनुवाइका विषयमा पटक-पटक छलफल भएपनि बार्गेनिङजस्तो मात्रै भइरहेको छ । सरकारले न्याय दिने छाँटकाँट देखाएकै छैन ।’

शनिबारदेखि माइती नेपालले पीडित परिवारलाई आश्रय दिन थालेको छ । माइती नेपालकै समन्वयमा पनि पीडितलाई न्याय दिलाउने प्रयास सुरु भएको छ । 

पीडितलाई न्याय दिने विषयमा गृहको टालटुले जवाफ 

पीडित परिवार र महिला अधिकारकर्मी माइतीघरमा धर्ना बसिहरेका बेला गृह मन्त्रालय भने माग सम्बोधनका लागि छलफल भइरहेको बताउँछ ।

सोमबार माइती नेपालको संयोजनमा गृहसचिव, गृहप्रवक्ता र पीडित परिवारबीच छलफल भयो । गृहसचिव टेकनारायण पाण्डे र गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले औपचारिक छलफल भएको बताएपनि पीडित परिवारले भने माग सम्बोधन हुन नसकेको बताए ।

‘धेरैपछि गृहमन्त्रालयसँग आज छलफल त भयो, तर सरकारले दोषीलाई कारबाही गर्ने कुनै मनसाय देखाएको छैन,’ वार्तामा सहभागी महिला अधिकारकर्मी तेलीले इकागजसँग भनिन्, ‘माग सम्बोधन नहुने वार्ता देखाएर हाम्रो आन्दोलन रोकिँदैन ।’

यता गृहप्रवक्ता पोखरेलले भने पीडित परिवारसँग छलफल भइरहेको टालटुले जवाफ दिए । उनले पीडित परिवारसँग छलफल भइरहेको भनेपनि उनीहरूको माग सम्बोधन गर्ने गरी सरकारले अग्रसरता लिने कुरामा स्पष्ट जवाफ दिएनन्, उनी आफैंले यसमा द्विविधा व्यक्त गरे ।

‘माग सम्बोधन भन्या तपाईसँग सल्लाह गर्ने कुरा हो र ? हामीले दोषी पक्राउ गर्ने हो र ?’ उनले प्रतिप्रश्न गर्दै टालटुले जवाफमा भने, ‘छलफल गरिरहेका छौँ । कहिलेसम्म टुंगोमा पुगिन्छ भन्‍न मिल्दैन ।’

गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले भने पीडितको माग सम्बोधनको प्रक्रिया सुरु भइसकेको बताएको छ । मन्त्रीसँग मन्त्रालयमै छलफल भएर माग सम्बोधन भइसकेको र दोषीलाई कारबाहीका लागि मन्त्रालयबाट काम सुरु भइसकेको दाबी सचिवालयको छ ।

‘मन्त्रीलाई भेटेर प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएर दुई महिलाको घटनामा दोषीलाई कारवाही गर्ने विषयमा सहमति भइसकेको छ,’ मन्त्रीको निजी सचिवालय स्रोतले इकागजसँग भन्यो, ‘एकपटक सहमति भएर कारबाही अगाडि बढिसकेको विषयमा फेरि के को धर्ना र अनसन हो बुझ्‍न सकिएको छैन । बाँकी काम त मन्त्रालय र प्रहरीले गरिरहेकै छ ।’

पीडितको धर्ना र अधिकारकर्मीको अनसन

नेपालगञ्‍जदेखि हिँडेर काठमाडौँ आएदेखि आन्दोलनरत उनीहरूले एक महिना सकसपूर्ण समय बिताएका छन् । यसबीचमा गम्भीर बिरामी परेपछि महिला अधिकारर्मी रुबी खानले शिक्षण अस्पतालको शैयामै अनसन थालेकी छन् ।

अरु पीडित परिवारले माइतीघरमै धर्ना दिइरहेका छन् । धर्नामा दैनिकजसो काठमाडौँका अरु नागरिक समाज र अधिकारकर्मीले पनि साथ दिइरहेका छन् ।

तर ‘बार्गेनिङ शैलीमा’ छलफल गरिरहेको बताउँने गृह मन्त्रालयले पीडितलाई कहिले न्याय दिन्छ ? पीडित र महिला अधिकारकर्मीको धर्ना र अनसन कहिले सकिन्छ ? स्वयं पीडित परिवार नै अनिश्चयको भूमरीमा छन् ।


Author

थप समाचार
x