कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च
जनकपुरधाम - दुई दिनदेखिको लगातारको झरीसँगै वर्षाले सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार बुधबार १२ बजेपछि गरिएको मापनअनुसार सप्तकोशीमा २ लाख ६३ हजार २ सय ७० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको छ ।
बिहान २ लाख ६० हजार ४ सय ५० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । पानीको बहाव निरन्तर बढेसँगै खतरा पनि बढ्दै गएको कन्ट्रोल रुमले जनाएको छ ।
नदीको बहाव बढेसँगै आज बिहानै कोशी ब्यारेजका ४२ वटा ढोका खोलिएको छ । गत भदौ १३ गते २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । जसलाई वर्षकै उच्च बहाव भनिएको थियो र ३५ वटा ढोका खोलिएको थियो तर सो रेकर्डलाई तोड्दै पछिल्लो पटक आएका पानीको बहावले उछटेको छ ।
पानीको बहाव बढ्दै गएपछि नदी किनारमा रहेका गहिरो होचो ठाउँमा रहेका क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले सचेत गराएका छन । कोशीको उच्च पानी बहावले प्रत्येक वर्ष झैं यसवर्ष पनि हनुमानलगायतका आधा दर्जनभन्दा बढी गाउँ जोखिम अवस्थामा रहेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने कोशीमा पानीको बहाव निरन्तर बढे पनि अहिलेसम्म खासै क्षति भएको छैन । तर आसपासका होचो क्षेत्रका बासिन्दालाई सतर्क रहन निर्देशन दिई सकिएको छ । सम्भावित घटनाको दृष्टिगत गर्दै ब्यारेज र आसपासका क्षेत्रमा नेपाल र सशस्त्र प्रहरी उद्धारका लागि खटाइएको छ ।
वर्षाले पूर्व-पश्चिम राजमार्ग जिल्लाको महुली पुलमा पानी चढेको थियो । तर आज वर्षा रोकिएपछि जल सतह कम भएपछि खतरा टरेको छ । तर सो वर्षाले गर्दा महुली स्थित दलित मुसहर वस्तीका १५/२० घरमा पानी पसेको छ । बाढीमा फसेकाहरूको उद्धार गरी उच्च स्थानमा राखिएको प्रजिअ गौतमले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया