डीएसपी भन्दै ठगी गर्ने भट्टराई सुर्खेतबाट पक्राउ
फाइल फोटो
सुर्खेत - प्रहरी नायब उपरिक्षक डिएसपीको नक्कली परिचय देखाएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक जनालाई पक्राउ गरेको छ । जागिर लगाइदिने भन्दै ठगी गर्ने झापाका निलम भट्टराईलाई प्रहरीले सुर्खेतमा पक्राउ गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलाबाट १३ लाख लिएर ठगी गरेको उजूरीको आधारमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डिएसपी लेखेको नक्कली परिचय पत्र समेत फेला पारेको छ ।
दैलेख ससुराली आएको बेलामा भट्टराईलाई वीरेन्द्रनगर–४ रातोपुलबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम विष्टले जानकारी दिए । ‘हामीलाई पक्राउ गर्नको लागि एक महिना अघिदेखि नै पक्राउ पुर्जी आएको थियो’ एसपी विष्टले भने, ‘हामीले हिजो दिउँसो पक्राउ गर्न सफल भयौ ।’ पक्राउ परेका भट्टराईलाई आज बिहान महानगरीय अपराध महाशाखामा पठाइएको विष्टले जानकारी दिए ।
पक्राउ परेका भट्टराईले कुनै जिल्लामा डिएसपी र कुनै जिल्लामा पत्रकार हुँ भन्दै रकम असुल्ने गरेको पाइएको एसपी विष्टले बताए । जागिर लगाई दिने प्रलोभन दिएर ठगी गरेको धेरै उजूरी रहेको जानकारी मात्रै थाहा पाएकाले थप आवश्यक कानूनी कारबाहीका लागि काठमाडौं नै पठाइएको एसपी विष्टले बताए । सुर्खेत आसपासका क्षेत्रमा लुकेर बसेको सूचना यसअघि नै प्राप्त भएपनि यसपाली पक्राउ गर्न सफल भएको उनले बताए ।
भट्टाराईले दैलेख, सुर्खेत, बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाका नागरिकलाई ठगी गरेको पनि पाइएको छ । उनका अनुसार भट्टराई यसअघि कोहलपुर बसपार्कमा रहेका पसलमा आफु पत्रकार र प्रहरी रहेको भन्दै रकम मागेको आरोपमा पक्राउ परिसकेका व्यक्ति रहेको पनि खुलेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया