समाज

धनुषा र सिरहा जोड्ने कमला पुलको तेस्रो नम्बरको पिलर पनि भाँसियो

सुभाष कर्ण |
कात्तिक ३, २०७८ बुधबार २१:४७ बजे

जनकपुरधाम – सञ्चालनमा नआउंदै धनुषा र सिराहा जिल्ला जोड्ने निर्माणाधीन कमला पुलको अर्को पिलर बाढीले भासिएको छ । वर्षाले गर्दा पानी बहाव बढेपछि बुधबार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर भासिएको हो । अविरल वर्षाका कारण नदीमा आएको बाढीले पीलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् । 

उनले भने, ‘यसअघि असार १७ गतेको बाढीमा पुर्वतर्फ सिराहा जिल्लामा पर्ने पिलर भांसिएको थियो भने पछिल्लो दुई दिन निरन्तर भएको वर्षाका कारण धनुषातर्फको पिलर दुई फिट तल भांसिएको हो । दुई-दुई वटा पिलर भांसिएपछि पुल अब आवागमनका लागि असहज भएको छ ।' 


पीलर भासिएको खबर पाएलगत्तै हुलाकी राजमार्ग निर्देशनालयका प्राविधिक टोली निरीक्षणका लागि कमला पुलमा पुगेको थियो । कमला नदिको सो निर्माणाधिन पुलको ९९ प्रतिशत काम सम्पन्न भई सकेको थियो । गत साउन महिनामै हस्तान्तरण गरेर सञ्चालनमा ल्याउने तयारी रहेको समयमा गत असार १७ गते पीलर भासिएपछि पुल निर्माणको गुणस्तरियतामाथी प्रश्न उठेको छ ।

पुल निर्माणका लागि २०६८ सालमा सुरुमा पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर ७ वर्षसम्म पनि निर्माण सम्पन्न गर्न नसक्दा निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

निर्माण सम्पन्न नहुँदै पुल भाँसिएपछि सोको पुनः निर्माण गर्ने काम निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नै गर्ने जिम्मा दिइएको छ । पहिलो पटक पिलर भांसिएपछि निर्माणको गुणस्तरीयतामा प्रश्न उठ्दा निर्देशनालयको केन्द्रीय कार्यालयद्वारा गुणस्तर मापनका लागि समिति समेत गठन भएको थियो ।

तर सो समितिले अहिलेसम्म के छानबिन गरेको हो भन्ने कुरा सार्वजनिक नगर्दै दोश्रो पिलर पनि भाँसिन गएको हो ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x