समाज

मेची र कोसी राजमार्ग आंशिक रुपमा सुरु

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १७:१५ बजे

विराटनगर - बाढी र पहिरोका कारण अवरुद्ध भएका प्रदेश १ का दुई मुख्य राजमार्ग मेची र कोसी राजमार्ग आंशिक रुपमा सुचारु भएका छन् । मेची राजमार्ग अन्तर्गत पाँचथर–ताप्लेजुङ खण्ड बिहीबारदेखि आंशिक रुपमा सुचारु भएका हुन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित चारवटा स्काइभेटरको सहायताले अवरुद्ध भएको पाँचथर सदरमुकाम फिदिमदेखि राँकेसम्मको सडकखण्ड खुलाइएको जानकारी दिए । मेची राजमार्ग अन्तरगतकै पाँचथरदेखि इलामको रक्सेसम्मको सडक भने खुल्न बाँकी रहेको जनाइएको छ । 


मेची राजमार्ग झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म पर्दछ । बैकल्पिक सडक नहुँदा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा जाने र फर्किने सयौं तिर्थालुहरु ताप्लेजुङ सदरमुकाम फुङ्लिङ लगायतका स्थानमा अलपत्र परेका छन् । पाँचथर–रक्से खण्डको पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिलेपनि प्रहरीसहितको टोली परिचालन गरी सडक अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।

यसैगरी धनकुटाको मुलघाट नजिकैको लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा अवरुद्ध भएको कोसी राजमार्ग अन्तरगतको धरान–धनकुटा सडक ३० घण्टापछि एकतर्फी खुलेको छ । लेउती खोलाको बाढी घटेका कारण खोलाको बगरबाट डाइभर्सन तयार गरी एकतर्फी सडक खुलाइएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ । 

अविरल बर्षापछि लेउती खोलामा आएको बाढीले करीव दुई सय मिटर सडक बगाएको थियो । बाढीले सडक बगाउँदा धनकुटा हुँदै भोजपुर, तेह्रथुम र संखुवासभा जोड्ने एकमात्र कोसी राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो । खोलामा पानी घटेका कारण बिहीबार पनि स्काईभेटरको सहायताले सडक मर्मतको काम भइरहेको र एकतर्फी रुपमा पालो गरेर सवारी साधनहरुलाई आवत जावतको व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख दिपक खड्काले बताए ।

गत सोमबार साँझदेखि भएको अविरल वर्षाका कारण कोसी राजमार्ग अन्तरगत धनकुटा सडक खण्डको गर्जुवा, रुद्रबारी, त्रिसुले लगायत स्थानमा पहिरो खसेको थियो । ती स्थानको पहिरो पन्साइसकेको जनाइएको छ । 

बाढी पहिरोका कारण प्रदेश १ को तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा दसैं मानेर घर फर्किनेहरु समेत बाटोमै अलपत्र परेका छन् ।

सुनसरी खोलाको बाढी पसेर करिब तीन किलोमिटर जलमग्न बनेको पुर्वपश्चिम राजमार्गको इनरुवा–भाण्टाबारी सडक समेत पूर्णरुपमा सुचारु भएको छ । बाढीले रागमार्गमा गुडिरहेको बस समेत बगाएको थियो । दर्जनौं सवारी साधन पानी पसेर बिग्रिएका छन् । बस्तीतर्फ बसेको सुनसरी खोला राजमार्गले थुनिंदा आसपासका सयौं घर डुबानमा परेका थिए ।
 


Author

थप समाचार
x