तनहुँका मगरको दसैं
केराको खाप कोसेली दिएर दसैंकाे टीका
बजारको जंकफूडभन्दा घरकै उत्पादन उत्तम !
तनहुँ - कोजाग्रत पुर्णिमाको समाप्तीसंगै यसपालीको दशैँ पनि सकियो । सबैले आ–आफ्नो धर्म, संस्कार, चलनचल्ती र गच्छे अनुसार दशैँ मनाए । सोहि अनुसारको उपहार र कोसेली आफन्त कहाँ लगे । शुभकामनासंगै खुसी साटे ।
तर तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मगर समुदायले यसपाली पनि दशैँलाई फरक र मौलिक साँस्कृतिक रुपमा मनाए । दशैँको मुख्य विशेषता मान्यजनबाट टीका थाप्ने र आर्शिवाद ग्रहण गर्नु नै हो । यससंगै मगर समुदायकोे भने उपहार तथा कोसेली विशेष हुने गर्छ । यस भेगका मगरहरुमा मान्यजनको हातबाट टीका तथा आर्शिवाद थाप्न जाँदा एक खाप (एक काइयो) केरा कोसेली लैजानु पर्ने चलन छ । यो चलन विशेषतः पुरुषहरुमा लागु हुदै आएको छ ।
परापुर्वक कालदेखि नै यो चलन चलेको जानकारहरु बताउँछन् । महिलाहरुले पिरुङ्गा (बाँसको चोयाले बनाइएको सामान राख्न मिल्ने बस्तु) मा एक बोतल रक्सी, भिलिङ्गा, चिउरा, अचार तथा तरकारी कोसेलीको रुपमा लैजाने गर्छन् । तर, पुरुषहरुले भने केरा नै कोसेलीको रुपमा लिएर जानुपर्ने चलन छ । सोही चलन अनुरुप यहाँका मगरहरुले यसपटक दशैँ मनाएका छन् ।
जबकी पछिल्लो समय उपहार वा कोसेलीको रुपमा फलफुल तथा सेलरोटी भन्दा जंकफूड (चाउचाउ, विस्कुट, कुरकुरे, कोकाकोला र स्प्राइट) बढी प्रयोगमा आउने गरेको छ । तर, तनहुँका स्थानीयवासीले भने पुरानै मौलिक संस्कृति अनुसार उपहार लगेका छन्, केरा ।
परम्पराभित्रको वास्तविक कोसेली संस्कार
ऋषिङ गाउँपालिका–५ का वडाध्यक्ष जंगबिर आलेले यस वर्ष पनि मान्यजनसंग टीका र आर्शिवाद थाप्न जाँदा एक खाप केरा लिएर गए । बाउबाजेको पालादेखि नै यहि चलन चलिआएकाले आफुहरुले पनि त्यसै गरी दसैँ मनाउने गरेको वडाध्यक्ष आले बताउँछन् ।
‘घरमा केरा नभए किनेरै भएपनि एक खाप केरा लैजानु पर्ने चलन छ,’ उनले भने । खापबाट एउटा कोसा चुडिएको छ भने पनि धागो वा परालले गाँसेरै भएपनि सिङ्गो खाप लैजाने गर्छन् । आलेका अनुसार बुढापाकादेखि युवापुस्ता सबैले यहि संस्कार र रीतिरिवाजलाई अबलम्बन गर्दै आएका छन् ।
आले भन्छन्, ‘पुर्खाहरुले पनि यहि चलन र शैली अपनाए । हामीले पनि चलेको चलनलाई छोड्न सकेनौँ । म अहिले ६५ बर्षको भए, मैले जानेबुझेदेखि दसैँमा संधै यहि चलन चल्दै आएको छ । तर ठ्याक्कै यहि कारण केरा कोसेली लगिएको हो भन्ने प्रष्ट अर्थ भेटिएको छैन ।’ उनले पुरानो संस्कृतिलाई निरन्तरता दिएको पनि सुनाए ।
यस्तै, चलन भिमाद नगरपालिका–५, मिछुर्लुङमा पनि छ । स्थानीय मनिलाल थापा मगरको अनुसार यो चलन ध्यानुङ्, ऋषिङ, घिरिङ लगायत क्षेत्रमा चल्दै आएको छ । मनिनाल यो चलन जिम्माल मुखियाको पालादेखि शुरु भएको तर्क गर्छन् ।
‘पहिला मुखिया जिम्मालकै हालीमुहाली थियो । टीका थप्न जाँदा केरा तथा घरमा फलेका तरकारीहरु लगेर उनीहरुको हातमा हालिन्थ्यो । उनीहरुकै नेतृत्वमा कोटमा भैरव देवताको पुजा हुन्थ्यो । अनि गाउँलेले लगेको केरा प्रसाद बनाइन्थ्यो’, उनले भने ।
उनका अनुसार सोही चलन अहिले संस्कृति बनेको हो । ‘मान्यजनकोमा टीका थाप्न जाँदा केरा लिएर जानुपर्छ भन्ने धारणा विकसित हुदैँ अहिले पनि यो चलन चलिरहेको छ,’ उनले भने । पहिले भैरव मन्दिरको पुजारीको काम पनि अविवाहित पुरुषले गर्नुपर्छ भन्ने मान्यता थियो । अहिले युवाहरु पढ्न जाँगिर गर्न भन्दै घरबाहिरै हुने भएपछि फुर्सद भएका र धर्मकर्ममा रुचि राख्नेलाई पुजारी बनाउने गरिएको उनले बताए ।
मिछुर्लुङकी दानु थापाको हातबाट टीका थाप्न भान्जाहरु बर्षेनी केराको एक एक खाप लिएर आउँछन् । यसपाली पनि संधैको दशैँमाझैँ भान्जाहरु केरा कोसेली बोकेर आए । अन्य क्षेत्रका मानिसहरुलाई यो चलन नौलो लागेपनि आफुहरुको लागि सामान्य र अनिवार्य विषय भएको दानु बताउँछिन् । ‘हाम्रा छोरा नातिहरु मावली टीका थाप्न जाँदा पनि केरा नै लिएर जान्छन्, भान्जाहरु आउँदा पनि केरा लिएर आउँछन्’, उनले भनिन् ‘हाम्रो यो चलन त पहिल्यै देखि चलिआएको हो ।’
मगर संस्कृतिका विज्ञ यामबहादुर आले मगरले कोसेली बोकेर हिड्ने मगरहरुको संस्कृति नै भएको बताउँछन् । ‘आफुसंग जे छ, त्यो चिज लिएरै जाने मगरहरुको संस्कृति छ’, उनले भने । संस्कृतिविज्ञ आलेले इतिहासबारे प्रष्ट पार्दै भने, ‘शाहवंशीय शासनकालमा गाउँघरमा जिम्माल मुखिया तोकिए । उनीहरुले मौलामा पुजा गर्ने । बलिदिने गर्दथे । दशैँमा उनीहरुको हातबाट टीका थाप्न जानै पथ्र्यो । उनीहरुलाई खुसी पार्न केहि न केहि लिएर जानुपर्ने हुन्थ्यो । कृषिमा निर्भर मगरहरुले पहिल्यैदेखि घरबारीको छेउछाउमा केरा लगाउने भएकाले घरमै फलेको केरा लिएर जान सजिलो हुने हुदाँ प्रायः सवैले केरा लैजाने संस्कृति बसेको र अहिले पनि यो संस्कृतिले निरन्तरता पाएको हो ।’
उनका अनुसार ऋषिङ घिरिङमा पहिले पहिले सुंगुरको सिङ्गो साप्रो र जाँड रक्सीको घैँटो नै लैजाने चलन रहेको थियो । यो चलन बढि खर्चिलो भएकाले सहज बनाउन पछि केरा कोसेलीको रुपमा लिएर जाने संस्कृति बसेको उनको भनाइ छ ।
उनले यो संस्कृति निकै उत्तम रहेको पनि बताए । भन्छन्ः ‘घरमा जे उत्पादन भएको छ । त्यो अर्गानिक चिज कोसेली लिएर जानु कत्ति राम्रो संस्कार छ । खर्च पनि कम र स्वास्थ्यलाई पनि फाइदा छ । आभोलि अनेकथरी मिश्रण गरेका महंगा जुस, पेयपदार्थ, चाउचाउ, विस्कुटहरु कोसेली लिएर जाने चलन बढेको छ । हाम्रो स्वास्थ्यमा कति असर गरेको छ । हामी त्यो हेदैनौँ, बुझदैनौ । बजारको जंकफूड शत्रुलाई त दिने कुरा होइन भने आफ्नो आफन्तलाई कसरी दिनु ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया