सिके राउतका कार्यकर्तालाई कारबाहीको माग गर्दै प्रदेश २ का इन्जिनियर आन्दोलित
जनकपुरधाम - खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुश्वाहालाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गरेको दुव्र्यवहारको विरोधमा प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रेका छन् ।
नेपाल इन्जिनियर एशोसिएसन प्रदेश २ का इन्जिनियरहरु शुक्रबार विरोध जुलुस निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सिके राउत बिरुद्ध चर्को नाराबाजी गरेका छन् । जुलुसमा सहभागी ईन्जिनियरहरुले ‘पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायतका नारा लगएका छन् ।
जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर परिक्रमा गराउनु कानूनी राज्यको उपहास भएको ठहर गर्दै घटनामा संलग्न र पार्टी नेतृत्वकर्तालाई अविलम्ब कारबाहीसहितका माग इन्जिनीयरहरुले ज्ञापन पत्रमा गरेका छन् ।
पेशागत रूपमा एक इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल इन्जिनिरिङ परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ परिषदसँग माग गरेका छन् ।
जनकपुरधाम वडा नम्बर ८ बलुवाटोलस्थित आफ्नो निवास जानेबाटो निर्माण नगरेको भन्दै जनमतका कार्यकर्ताहरुले जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी अर्धनग्न बनाएर बिहीवार नगर परिक्रमा गराएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया