समाज

बेमौसमी वर्षाले बागमती प्रदेशको २ हजार हेक्टरमा लगाएको धानबाली क्षति

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १९:२६ बजे

हेटौंडा - बागमती प्रदेशको ७ जिल्लामा बेमौसमी वर्षाको कारण २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायले असोज मसान्तमा आएको असामान्य वर्षाले धानबालीमा धेरै क्षति पुर्‍याएसँगै क्षतिको विवरण संकलन गर्न सुरु गरेको थियो । 

बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट र धादिङ जिल्लामा बेमौसमी वर्षाको कारण २ हजार २४ हेक्टरमा लगाएको धान बालीमा क्षतिको भएको प्रारम्भिक विवरण आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । 


सबैभन्दा धेरै चितवन, मकवानपुर र नुवाकोटको धानबाली क्षति भएको छ । चितवनमा १६३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । यस्तै मकवानपुरमा १०० हेक्टरमा, सिन्धुलीमा ९० हेक्टर, रामेछापमा ३० हेक्टर, नुवाकोटमा ३६ हेक्टरमा लगाइएको धानबाली र धादिङमा ९८ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर  र रसुवामा भने धानबाली क्षति भएको विवरण सार्वजनिक भएको छैन । यद्यपि प्रदेशको १३ जिल्लामा वर्षाले धानबाली क्षति गरेको तथ्यांक संकलन भइरहेको मन्त्रालयको सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । 

बागमती प्रदेशमा पनि प्रारम्भिक तथ्यांक आइसकेको छ । केही दिनमै पूर्ण विवरण आइपुग्ने मन्त्रालयका सुचना अधिकारी अधिकारीले बताए ।  बागमती प्रदेशले स्थानीय तहको कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशनालय लगायतबाट प्राविधिक परिचालन गरेको छ । स्थानीय तहबाट तथ्यांकहरु आइरहेकोे छ । प्रदेशको १३ जिल्लाबाट क्षतिको विवरण संकलन भइसके पश्चात प्रदेशले राहतको घोषणा गर्ने भएको हो । 

बागमती प्रदेशको ७ जिल्लामा मात्र ३ करोड ८२ लाख २० हजार रकमको क्षतिको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आएपछि कृषकको लागत रकम हिसाब गर्ने र सोही अनुसार लागतको २० प्रतिशतसम्म राहत दिने तयारी मन्त्रालयले गरेको छ । 


Author

थप समाचार
x